अफगानिस्तान र आयरल्याण्डबीच जारि ३ खेलको एकदिवसीय शृंखला अन्तर्गत मंगलबार सम्पन्न अन्तिम तथा तेस्रो खेलमा ३६ रनको सहज जित दर्ता गर्दै अफगानिस्तानले सिरिज ‘क्लिन स्विप’ गरेको छ। यसअघि अफगानिस्तानले पहिलो एकदिवसीयमा १६ तथा दोस्रोमा ७ विकेटको जित निकाल्दै सिरिज आफ्नो नाम गरिसकेको थियो।
आबु धावी स्थित शेख जायद स्टेडियममा सम्पन्न खेलमा २६७ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याएको आयरल्याण्डले ४७.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर मात्र २३० रन बनाउँन सक्यो। आयरल्याण्डले अन्तिममा ४१ रनको अन्तरालमा ६ विकेट गुमाएपछि २३० रनमै समेटिन पुगेको थियो।
ओपनर पौल स्टर्लिङले ११९ बलमा ९ चौका र ६ छक्काको मद्धतमा ११८ रनको शतकीय पारि खेलेता पनि टिमलाई जित दिलाउन सकेनन्। पछिल्लो खेलमा पनि १२८ रनको शतकीय पारि खेलेका उनले एकदिवसीयमा १२ औं शतक बनाएका हुन्। पछिल्लो ६ खेलमा ४ शतक हिर्काएका स्टर्लिङ आयरल्याण्डको लागि एकदिवसीय फर्म्याटमा सर्वाधिक शतक बनाउने खेलाडी समेत बनेका छन्। उनले ११ शतक प्रहार गरेका विलियम पोरटर्फिल्डलाई उछिन्दै उक्त रेकर्ड आफ्नो नाम गरेका हुन्।
Back-to-back hundreds for Paul Stirling 👏
He now has the most ODI centuries by an Ireland batsman – 1⃣2⃣#AFGvIRE | https://t.co/7Krl6Qhize pic.twitter.com/SJehQuvr3f
— ICC (@ICC) January 26, 2021
जेम्स मॅककॉलम ३ तथा कप्तान एंड्रयू बलबिरनी ५ रनमा आउट भएपछि पौल स्टर्लिङले ह्यारी टेक्टरसँग तेस्रो विकेटको लागि ६१ रनको अर्धशतकीय साझेदारी गर्दै आयरल्याण्डको इनिंग्स सम्हाले। टेक्टरलाई २४ रनको व्यक्तिगत स्कोरमा खानले बोल्ड गर्दै साझेदारी तोडे।
त्यसपछि एक किनारबाट विकेट गुमाएता पनि अर्को किनार सम्हालेका स्टर्लिङलाई मुजिब उर रहमानले आउट गरेपछि अफगानिस्तानका बलरहरु खेलमा हावी भए। त्यसपश्चात् सिमि सिंह र एंडी मैकब्राइनले आठौँ विकेटको लागि ३० रनको साझेदारी गर्दै आयरल्याण्डलाई खेलमा जीवित राखे। सिंह (२०) रन आउटको रापमा आउट भएपछि आयरल्याण्डको ब्याटिंग धराशायी बन्यो।
अफगानिस्तानको बलिंगतर्फ राशिद खानले (९-०-२९-४) सर्वाधिक ४ तथा मुजिब उर रहमानले (१०-०-४३-२) २ विकेट लिए। यस्तै, मोहम्मद नावी र नविन-उल-हकले समान १ विकेट लिए।

यसअघि टस हारेर ब्याटिंगको निम्तो पाएको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २६६ रन बनाएको थियो। उसको लागि राशिद खानले ४० बलमा समान ३ चौका र ३ छक्काको मद्धतमा सर्वाधिक ४८ रन बनाए। यस्तै, कप्तान असगर अफगानले ४१, गुल्बदिन नइबले ३६ तथा मोहम्मद नावीले ३२ रनको योगदान दिए।
विस्फोटक सुरुवात बाबजुद क्रेग यंगले रहमानुल्ला गुरबाझ (२२), जावेद अहमदी (१९) र रहमत शाहको विकेट लिंदै अफगानिस्तानलाई दबाबमा ल्याए। त्यसपछि अफगान र नावीले पाचौं विकेटको लागि ५१ रनको अर्धशतकीय साझेदारी गर्दै अफगानिस्तानको इनिंग्स सम्हाले। नावी आउट भएपछि अफगानले नजीबुल्लाह जर्दानसँग छैटौं विकेटको लागि ४५ रनको साझेदारी गरे। नजीबुल्लाह र अफगान लगातार आउट भएपछि अफगानिस्तान १६३/७ को संघर्षरत अवस्थामा पुग्यो।
त्यसपछि जोशुआ लिटलबाट ४९ औं ओभरमा आउट हुनु अघि राशिद खानले नइबसँग आठौँ विकेटको लागि ४७ तथा मुजिब उर रहमानसँग नवौं विकेटको लागि ३४ रनको साझेदारी गर्दै अफगानिस्तानलाई प्रतिस्पर्धात्मक योगफलतर्फ डोर्याए। अफगानिस्तानले अन्तिम ४ ओभरमा ५० रन जोडेको थियो।
आयरल्याण्डको बलिंगतर्फ क्रेग योंग (८-०-६१-३) र सिमि सिंहले (१०-१-३७-३) समान ३ विकेट लिए। ह्यारी टेक्टर, जोशुआ लिटल र एंडी मैकब्राइनले समान १ विकेट हात पारे।