जिम्बाबेसंग हारका बाबजुद बने ठुला किर्तिमान, कुशल टि-२० अन्तर्राष्ट्रियमा डेब्यु गर्ने विश्वकै तेश्रो कान्छा

सिंगापुरमा शुक्रबार देखि सुरु भएको त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले टेस्ट राष्ट्र जिम्बाब्वेसंग ५ विकेटको हार बेहोर्यो। टेस्ट राष्ट्र जिम्बाब्वे बिरुद्ध नेपालले पहिलो टि-२० अन्तर्राष्ट्रिय खेल्दा हारका बाबजुद बिभिन्न नयाँ रेकर्डहरु बनेका छन्। खेलको क्रममा बनेका सोहि रेकर्डहरुलाई यो लेखमा प्रस्तुत गरेका छौँ।

सोमपाल नेपालको लागि सर्वाधिक टि-२० खेल्ने खेलाडी 

तिब्र गति बलर तथा अल-राउण्डर सोमपाल कामि नेपालको लागि सबै भन्दा बढी टि-२० अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी बनेका छन्। जिम्बाब्वे बिरुद्ध खेल्नु अघि सोमपाल र ज्ञानेन्द्र मल्लको नाममा संयुक्त रुपमा यो रेकर्ड रहेको थियो। मल्लले सिंगापुर सिरिजमा नाम फिर्ता लिए पछि सोमपालले यो किर्तिमान बनाएका हुन्।

Sompal Kami

सोमपालको लगातार २२ खेल 

सन् २०१४ को टि-२० विश्वकपमा हंगकंग बिरुद्ध डेब्यु गरेपछि सोमपालले हालसम्म नेपालले खेलेको कुनै पनि टि-२० अन्तर्राष्ट्रिय खेल गुमाएका छैनन्। यो रेकर्ड बनाउने सोमपाल एक्ला खेलाडी हुन्। पारस खड्काले गत महिना सिंगापुरमा सम्पन्न टि-२० विश्वकप छनौटमा एउटा खेल घाइते भएपछि गुमाएका थिए। ज्ञानेन्द्र मल्लले पनि आज जिम्बाब्वेसंगको खेल अघि नेपालले खेलेको सबै खेल खेलेका थिए।

टि-२० मा डेब्यु गर्ने कुशल मल्ल नेपालको सबैभन्दा कान्छो, विश्वकै तेश्रो कान्छो खेलाडी

नेपालको लागि तथा टि-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका कुशल मल्लको उमेर मात्र १५ वर्ष २०६ दिन रहेको छ। यस आधारमा कुशल टि-२० अन्तर्राष्ट्रियमा नेपालको लागि डेब्यु गर्ने सबैभन्दा कान्छो उमेरका खेलाडी बनेका छन्। यस अघि रोहित पौडेलले युएई बिरुद्ध यसै वर्ष १६ वर्ष १५१ दिनको उमेरमा डेब्यु गरेका थिए जुन रेकर्ड मल्लले तोडेका छन्।

यस्तै कुशल टि-२० अन्तर्राष्ट्रियमा डेब्यु गर्ने विश्वकै तेश्रो कान्छा खेलाडी पनि बनेका छन्। कुवेतका मित भावसरले यसरी वार्ष कुवेत बिरुद्ध १४ वर्ष २११ दिनको उमेरमा डेब्यु गर्दै विश्वकै सबैभन्दा कान्छो उमेरमा टि-२० डेब्यु गर्ने खेलाडी बनेका थिए। यस्तै दोश्रो कान्छो डेनमार्कका मुसा शाहिन हुन् जसले १५ वर्ष १३८ दिनको उमेरमा फिनल्याण्ड बिरुद्ध यसै वर्ष डेब्यु गरेका थिए। नेपाल बिरुद्ध हंगकंगक वकास खानले १५ वर्ष २५९ दिनको उमेरमा २०१४ मा डेब्यु गरेका थिए जो यो सुचीमा चौथो स्थानमा छन्।

जिम्बाब्वे बिरुद्ध कुशल मल्ल र इशान पाण्डेले डेब्यु गरे

धेरै विकेट लिने सुचीमा सन्दिप तेश्रो स्थानमा उक्लिए

जिम्बाब्वे बिरुद्ध मात्र १५ रन खर्चेर ३ विकेट लिएका सन्दिप नेपालको लागि टि-२० अन्तर्राष्ट्रियमा धेरै विकेट लिने बलरको सुचीमा तेश्रो स्थानमा उक्लेका छन्। सन्दिपको विकेट संख्या १९ पुगेको छ जो करन केसीसंगै तेश्रो स्थानमा संयुक्त रुपमा रहेका छन्। सन्दिपले मात्र ११ खेलमा तथा करनले १६ खेलमा उक्त विकेट लिएका हुन्।

टि-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने नेपाली बलर बसन्त रेग्मी हुन् जसले १८ खेलमा २५ विकेट लिएका छन्। दोश्रो स्थानमा रहेका सोमपाल कामिले २२ खेलमा २३ विकेट लिएका छन्। अविनाश बोहराले ९ खेलमा १२ विकेट लिएका छन् र चौथो स्थानमा छन्।

Sandeep Lamichhane

सन्दिपको स्पेल पाँचौ उत्कृस्ट 

४ ओभरमा मात्र १५ रन खर्चेर ३ विकेट लिएका सन्दिपको स्पेल नेपालको टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कम रन दिएर धेरै विकेट लिएको आधारमा पाँचौ सर्वोत्कृष्ट स्पेल हो भने जिम्बाब्वे बिरुद्ध नेपाली बलरको सबैभन्दा उत्कृस्ट स्पेल। सन्दिपले हालसम्म करियरमा ३ पटक एकै खेलमा ३ विकेट लिएका छन् भने ४ विकेट एकै खेलमा लिन सकेका छैनन्। ३ पटक एकै खेलमा ३ विकेट नेपालको लागि सन्दिप र बसन्त रेग्मीले मात्र लिएका छन्। अविनाश बोहराले २ पटक ३ विकेट लिएका छन्।

टि-२० मा नेपाली बलरको ५ उत्कृस्ट स्पेल :- 

१. बसन्त रेग्मी : ४-०-१६-४ ( बिरुद्ध , हंगकंग २०१५ )  , २. अविनाश बोहरा : ४-०-३५-४ ( बिरुद्ध सिंगापुर २०१९ )  , ३. शक्ति गौचन : ४-०-९-३ ( बिरुद्ध हंगकंग २०१४ )  , ४. बसन्त रेग्मी : ४-०-१४-३ ( बिरुद्ध हंगकंग २०१४ )  , ५. सन्दिप लामिछाने : ४-०-१५-३ ( बिरुद्ध जिम्बाब्वे २०१९ )

नेपाल बिरुद्ध छैठौं विकेटको सबैभन्दा ठुलो साझेदारी 

जिम्बाब्वेको जितमा छैठौं विकेटको लागि रायन बर्ल र रिचमण्ड मुटुमबामीले गरेको अविजित ६९ रनको साझेदारी नेपाल बिरुद्ध टि-२० अन्तर्राष्ट्रियमा छैठौं विकेटको लागि सबैभन्दा ठुलो साझेदारी हो। यस अघि यो रेकर्ड नेदरल्याण्डका स्टेफेन माइबर्ग र माइकल रिप्पनको नाममा रहेको थियो जसले २०१५ मा नेपाल बिरुद्ध अविजित ६३ रनको साझेदारी गरेका थिए।

यस्तै कुनै पनि विकेटको लागि बिपक्षी ब्याट्सम्यान जोडीले गरेको यो चौथो ठुलो साझेदारी हो। नेपाल बिरुद्ध सबैभन्दा ठुलो साझेदारी गर्ने रेकर्ड नेदरल्याण्डका मिचेल स्वार्ट र बेन कुपरको नाममा रहेको छ जसले २०१५ मा दोश्रो विकेटको लागि १३१ रनको साझेदारी गरेका थिए। यो साझेदारी नै नेपाल बिरुद्ध एक मात्र शतकीय साझेदारी हो।