१० फोटोमा हेर्नुस कति सुन्दर बन्दैछ गौतम बुद्ध स्टेडियम

Gautam Buddha International Stadium
  • विकेटनेपाल, माघ-१६ , बुधबार 

धुर्मुस सुन्तली फाउन्डेशन र भरतपुर महानगरपालिका बीच गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम निर्माणको लागि बुधबार सहमति पत्रमा हस्ताक्षर भएको छ।

काठमाडौँको राष्ट्रिय सभा गृहमा आज सम्पन्न भव्य कार्यक्रममा फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल ( धुर्मुस ) र भरतपुर महनगरपालिकाको तर्फबाट मेयर रेणु दाहालले हस्ताक्षर गरेका थिए।

भरतपुर महानगरपालिका-१५ मा बन्ने स्टेडियम हाल त्रिभुवन विश्वविद्यालयको नाममा रहेर कृषि तथा विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको जग्गामा बन्न लागेको हो। जग्गा स्टेडियमको लागि प्रयोग गर्न विश्वविद्यालय र भरतपुर नगरपालिका बीच सम्झौता भइसकेको छ।

हस्ताक्षर तथा स्टेडियम निर्माण घोषणा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी अध्यक्ष प्रचण्ड, बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ लगायत कलाकारिता, राजनीति तथा अन्य बिभिन्न क्षेत्रका विशिस्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।

२० बिगाहा ८ कट्ठा क्षेत्रफलमा बन्ने स्टेडियम निर्माण गर्न करिब ३ अर्ब लागत लाग्ने छ जसको लागि आर्थिक संकलन अभियान सुरु भइसकेको छ। घोषणा कार्यक्रममै करिब ४ करोड रकम संकलन पनि भइसकेको छ। एस ट्राभल्स एक्लैले स्टेडियमको लागि ४ करोड दिने घोषणा गरेको छ भने चितवन उद्योग वाणिज्य संघले ५१ लाख , अल्का अस्पतालले २५ लाख, अक्सफोर्ड कलेज बुटवलले ७ लाख, आरएम ग्रुपले ५ लाख, मह संचार, भद्रगोल, छक्का-पन्जा टिमले १-१ लाख रुपैयाँ सहयोग घोषणा गरेका छन्।

घोषणा कार्यक्रम सिताराम कट्टेल धुर्मुसले २ वर्ष भित्र स्टेडियम तयार गरेर  महानगर पालिकालाई हस्तान्तरण गर्ने उद्घोष गरेका छन्। पहिलो चरणमा गुरुयोजना तयार गर्ने जसको लागि ६ महिना समय लाग्ने उनले बताएका छन्। उनले स्टेडियम विश्वकै नमुना बन्ने र अन्य देशको स्टेडियमसंग मेल नखाने समेत दाबि गरे।

भरतपुर महानगर पालिकाका मेयर रेणु दाहालले स्टेडियममा पहिलो खेल भारत र पाकिस्तानको गर्ने तयारी गरिरहेको बताइन्। दुई देशको सम्बन्ध नराम्रो हुनाले अन्य देशमा भारत-पाकिस्तान खेल्ने अवस्था रहेकोले नेपालले दुरी घटाउने बिश्वास उनले व्यक्त गरिन्। यस्तै प्रधानमन्त्री ओलीले आफ्नो तर्फबाट सबै खालने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।

यस्तो बन्नेछ स्टेडियम 

२५ हजार दर्शक क्षमताको हुने स्टेडियमको समग्र रुप स्तुपा आकारको हुने जसअन्तर्गत खेल मैदान भने कमलको फुल आकारको हुनेछ। ४ वटा गेट हुने स्टेडियममा नेपाल चिनाउने विभिन्न कलाकृति प्रदर्शन गरिनेछ। स्पोर्ट्स हबको रुपमा विकास गरिने स्टेडियममा फुटबल, भलिबल, डन्डीबियो जस्ता खेलहरु खेल्न पनि ठाउँ हुनेछ।

फोटोहरुमा हेर्नुस कस्तो हुनेछ स्टेडियम