अर्का इंग्ल्याण्ड खेलाडी चितवनमा आबद्ध, यस्ता छन् टिमका ३ बिदेशी खेलाडीहरु

  • विकेटनेपाल, मङ्सिर-१४ 

डिसेम्बर ८ ( मङ्सिर २२ ) देखि काठमाडौँमा सुरु हुने एभरेस्ट प्रिमियर लिग इपिएल टि-२० प्रतियोगिताको टिम चितवन टाइगर्सले आफ्नो तेश्रो बिदेशी खेलाडीको घोषणा गरेको छ।

इपिएलमा सहभागी टिमले प्लेयिंग ११ मा ३ जना बिदेशी खेलाडी समाबेस गर्नुपर्ने नियम रहेको छ जस अनुसार टाइगर्सले ३ जना बिदेशी खेलाडीको घोषणा गरेको छ।

यस अघि बिभिन्न टिमहरुले बिदेशी खेलाडीहरुको घोषणा गरिसकेका छन् जसमा केभिन ओ ब्रायन, सिकन्दर राजा र रोहन मुस्तफा (काठमाडौं किंग्स एघार), रायन टेन डोस्काटे, मोहम्मद नाबिद र रबि इन्दर सिंह (भैरहवा ग्लाडीएटर्स), कायल कोट्जर र रिचर्ड लेभी, पल् कोग्लिन (पोखरा राइनोज) , सन्नी पटेल, जय किशन कोल्सावाला र गौरभ तोमर ( ललितपुर प्याट्रीएट्स ) रहेका छन्। हालसम्म पारस खड्का कप्तानीको बिराटनगर वारियर्सले भने बिदेशी खेलाडीहरु घोषणा गरेको छैन।

इङ्ग्लिश क्रिकेटर जर्ज स्कट चितवनमा 

यस अघिनै आयरल्याण्ड क्रिकेटर पल स्टर्लिंग र इंग्ल्याण्ड काउन्टी क्रिकेटर जोन सिम्प्सनलाई बिदेशी खेलाडीको रुपमा घोषणा गरेको चितवनले तेश्रो बिदेशी खेलाडीको रुपमा जर्ज स्कटलाई घोषणा गरेको छ।

२३ बर्षिय जर्ज स्कट मिडलसेक्सका खेलाडी हुन् जसले इंग्ल्याण्ड घरेलु क्रिकेटमा ५ प्रथम श्रेणी, २ लिस्ट ए र १५ टि-२० खेल खेलीसकेका छन्।

George Scott
George Scott

भर्खरै इंग्ल्याण्डमा सम्पन्न ठुलो टि-२० प्रतियोगिता भाइटालिटि ब्लास्टमा स्कटले मिडिलसेक्सको लागि खेलेका थिए। भाईटालिटि टि-२० मा उनको टिममा इंग्ल्याण्ड कप्तान ओएन मोर्गन, आयरल्याण्ड क्रिकेटर पल स्टरलिङ्ग, न्युजिल्याण्ड राष्ट्रिय क्रिकेटर जेम्स फ्र्यांकलिन जस्ता खेलाडीहरु थिए।

ओपनिङ्ग ब्याट्सम्यान स्कटले प्रतियोगितामा खास प्रदर्शन भने गर्न सकेका थिएनन्। सन् २०१५ को नाटवेस्ट ब्लास्टमा मिडिलसेक्सको लागि डेब्यु गरेका स्कटलाई २०१५ मा मिडलसेक्स सेकेन्ड-११ मा राम्रो प्रदर्शन पछि ३ बर्षको कन्ट्र्याक दिएको थियो।

पल स्टरलिङ्ग  

चितवनको लागि इपिएलमा देखिने अर्का खेलाडी हुन् पल स्टरलिङ्ग जो हाल युएईमा जारि टि-१० लिगमा सन्दिपको टिम केरला नाइट्सबाट खेलीरहेका छन् र राम्रो प्रदर्शन पनि गरिरहेका छन्। आयरल्याण्डको लागि ओपनिंग ब्याटिंग गर्ने स्टर्लिंगले कुल १०० एक दिवसीय अन्तर्राष्ट्रिय र ५२ टि-२० अन्तर्राष्ट्रियको अनुभव बटुलेका छन्। बिष्फोटक ब्याटिंगका लागि चिनिने स्टर्लिंगको नाममा ३३४६ एक दिवसीय तथा ११८१ टि-२० अन्तर्राष्ट्रिय रन रहेको छ।

Paul Stirling
Paul Stirling

जोन सिम्प्सन 

इंग्ल्याण्डको उच्च घरेलु प्रतियोगिता काउन्टी क्रिकेटमा लंकाशयर र मिडलसेक्सबाट खेलीसकेका ३० बर्षिय जोन सिम्प्सनलाई पनि चितवनले टिममा आबद्ध गरेको छ।

इंग्ल्याण्ड यु-१९ क्रिकेट टिमको प्रतिनिधित्व गरिसकेका सिम्प्सनले ९४ वटा मान्यता प्राप्त टी-२० तथा १४० वटा प्रथम श्रेणीमा प्रतिनिधित्व गरेका छन्। देब्रे हाते सिम्प्सन विकेटकिपर ब्याट्सम्यानको भूमिकामा खेल्ने गर्छन् र भर्खरै सम्पन्न भाईटालिटि टि-२० ब्लास्टमा मिडलसेक्सको लागि खेलेका थिए।

John Simpson

भाईटालिटि टि-२० अन्तर्गत ससेक्स बिरुद्धको अन्तिम खेलमा सिम्प्सनले तेश्रो नम्बरमा ब्याटिंग गर्दै आक्रामक इनिंग खेल्ने क्रममा २९ बलमा ६ छक्का र ४ चौका प्रहार गरेका थिए। सिम्प्सनको इनिंग बाबजुत टिम भने पराजित भएको थियो। उक्त खेलमा ससेक्सको लागि इंग्ल्याण्ड राष्ट्रिय क्रिकेटरहरु टाइमल मिल्स , ड्यानी ब्रिग्स, क्रिस जोर्डन तथा दक्षिण अफ्रिकी राष्ट्रिय खेलाडी डेभिड वेइसले बलिङ्ग गरेका थिए।

पछिल्लो बर्ष टाइगर्सको लागि खेलेका विकेटकिपर ब्याट्सम्यान सुबास खकुरेललाई टिमले रिलिज गरेको छ। गत बर्ष टोलिबाट खेलेका सुनम गौतम र योगेन्द्र सिंह कार्कीलाई चितवनले रिलिज गरेको छ। सुबास, सुनम र योगेन्द्रको स्थानमा टिमले यु-१९ रास्ट्रिय टिमको प्रतिनिधित्व गरेका ३ खेलाडी आदील खान, इशान पाण्डे र सागर ढकाललाई लिएको छ।

चितन टाइगर्स टिममा दिपेन्द्र ऐरि, पृथु बास्कोटा, दिलिप नाथ, सन्दिप सुनार, भिम सार्की, ललित सिंह भण्डारी, कमल सिंह ऐरि, शाहब आलम जस्ता खेलाडीहरु रहेका छन्।

Subash Khakurel
सुबास खकुरेललाई चितवन टाइगर्सले यो बर्ष रिलिज गरेको छ

टाइगर्सको अघिल्लो बर्ष दिपेन्द्र ऐरिले कप्तानी सम्हालेका थिए। कप्तान घोषणा गरिएका पृथु बास्कोटा प्रतियोगिताको ठिक अघि डेजाभु काण्डमा प्रहरी हिरासतमा परेपछि उनले प्रतियोगिता गुमाउदा दिपेन्द्र ऐरि कप्तानमा नियुक्त गरिएका थिए। यो बर्ष कसले कप्तानी गर्ने टाइगर्सले घोषणा गरेको छैन।

अन्तिम सिजनको एभरेष्ट प्रिमियर लिगमा भारतीय खेलाडीहरु साभेज खान, प्रविन गुप्ता र प्रमेश कुमारलाई बिदेशी खेलाडीको रुपमा लिएको चितवनले खराब प्रदर्शन गर्दै ५ खेलमा १ मात्र जित निकाल्न सकेको थियो।

इपिएल मङ्सिर २२ गते देखि सुरु भइ पौष ७ गते ( डिसेम्बर ८ – डिसेम्बर २२ ) सम्म आयोजना हुनेछ।

प्रतियोगितामा अघिल्लो संस्करण जस्तै शिर्ष दुईमा पर्ने टोलीले पहिलो क्वालिफायर खेल खेल्नेछन् र बिजेता टोलि सिधै फाइनल प्रवेश गर्नेछ। यस्तै पराजित टोलीले भने दोस्रो क्वालिफायरमा लिग चरणको तेस्रो र चौथो टोलि बिचको एलिमिनेटर खेलको बिजेतासंग फाइनल प्रवेशका लागि खेल्नेछ।

लिगमा काठमाडौं किंग्स ११, भैरहवा ग्लाडीएटर्स, बिराटनगर वारियर्स, पोखरा राइनोज, ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्स गरि ६ टोलीको सहभागिता रहनेछ।