दाङको लमहीमा जारि प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिता अन्तर्गत तेश्रो दिनको पहिलो खेलमा समुह ‘ए’ अन्तर्गत पाँचौ खेलमा प्रदेश-२ र कर्णाली प्रदेश प्रतिस्पर्धा गरिरहेका छन्।
खेलमा टस जितेर ब्याटिंग रोजेको प्रदेश-२ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६५ रन बनाउदै कर्णाली प्रदेशलाई १६६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
प्रदेश-२ को लागि ओपनर अनुराधा चौधरीले अर्धशतकीय इनिंग खेल्ने क्रममा अविजित ६९ रन बनाईन्। उनले ६० बलमा ६ चौका प्रहार गरिन्। सोभा आलेले २३, बिमला मगरले २१, सन्तोषी चौधरीले ७ तथा कविता गौतमले अविजित २ रनको योगदान दिईन्।
अनुराधाले सोभा आलेसंग ६६ रनको ओपनिंग साझेदारी गरेकी थिईन् भने तेश्रो विकेटको लागि बिमला मगरसंग ७४ रनको साझेदारी गरिन्।
कर्णाली प्रदेशको बलिंगमा निशा पराजुलीले २ विकेट लिने क्रममा ४ ओभरमा मात्र १६ रन खर्चिन्। सुजाता बोगटीले ४ ओभरमा ५० रन खर्चेर १ विकेट हात पारिन्। अतिरिक्तको रुपमा कर्णालीले ४३ रन खर्चियो।
दुवै टिम प्रतियोगिताको सेमीफाइनल प्रवेश गर्न असफल भैसकेका छन्। दुवै टिमले यस अघिको दुई खेलमा एपीएफ र लुम्बिनी प्रदेशसंग हार बेहोरेका थिए। समुह ‘ए’ बाट एपीएफ र लुम्बिनी सेमीफाइनल प्रवेश गरिसकेका छन्। आज हुने दोश्रो खेलमा एपीएफ र लुम्बिनी बीच विजेता टिम समुह विजेताको रुपमा सेमीफाइनल प्रवेश गर्नेछ।
राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा विभागीय टोलि एपीएफ र ७ वटा प्रदेश गरि कुल ८ टिम सहभागी रहेका छन्। समुह ‘ए’ मा लुम्बिनी, कर्णाली, एपीएफ र प्रदेश-२ रहेका छन् भने समुह ‘बि’ मा प्रदेश-१ , बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेश रहेका छन्। समुह चरणमा सबै टिमले एक अर्का बिरुद्ध १/१ खेल खेलिसकेपछि अंकतालिकामा शिर्ष हुने २/२ टिम सेमीफाइनल प्रवेश गर्नेछन्।
प्रतियोगिताको विजेता टिमले ५ लाख रुपैयाँ तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै सेमीफाइनलमा पराजित हुने दुई टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको उत्कृस्ट खेलाडीले २१ हजार तथा उत्कृस्ट ब्याटिंग र बलिंग गर्ने खेलाडीले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।