- विकेटनेपाल – २४ साउन
मलेसियामा आयोजना हुने एसिया कप छनौट प्रतियोगिताका लागि १९ सदस्यीय प्रारम्भिक नेपाली टोलीको घोषणा भएको छ। एसिया कप छनौट प्रतियोगिता यहि २९ देखि सेप्टेम्बर ६ तारिकसम्म मलेसियामा आयोजना हुँदैछ।
यसअघि नेदरल्याण्डस बिरुद्धको एक दिवसीय शृंखलाका लागि टोलीमा रहेका शक्ति गौचन र शरद भेसावकर एसिया कप छनौटको स्क्वाडबाट बाहिरिएका छन्। शक्तिले नेपाली राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका थिए भने डच् टोलि बिरुद्धको पहिलो खेलमा चोटिल भएका शरद भेष्वाकरलाई पूर्ण रुपमा ठिक हुन अझ ४ हप्ता लाग्ने नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीले जनाएका छन्।

पारस खड्काको कप्तानीमा रहेको टोलीमा अनिल कुमार साह, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करन केसी, किशोर महतो, ललित भण्डारी, ललित नारायण राजबंशी, आरिफ शेख, प्रदिप ऐरी, रोहित कुमार पौडेल, सागर पुन, सन्दिप लामिछाने, सोम्पाल कामी, सुबाश खकुरेल, सुनिल धमला र सुशन भारी रहेका छन्। खेलाडी छनौटको काम मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले गरेका हुन्।
नेपाली टोलीले अगष्ट १४ तारिकबाट काठमाण्डौमा बन्द प्रशिक्षण सुरु गर्ने छ। बन्द प्रशिक्षणपछिनै अन्तिम १५ खेलाडीको नामवली प्रकाशित हुनेछ। अगष्ट २० तारिकमा नेपाली टोलीले अभ्यासका लागि श्रीलंका प्रस्थान गर्ने कार्यतालिका समेत रहेको छ।
यसैबीच एसियन क्रिकेट काउन्सिल (एसीसी) ले भारतका अपूर्व देसाईलाई एसिया कप छनौटका लागि नेपालको ब्याटिंग प्रशिक्षकका रुपमा नियुक्त गरेको छ। उनले अगष्ट १४ बाट नेपाली टोलीसंग काम गर्नेछन्।
अगस्ट २९ देखि सेप्टेम्बर ६ तारिकसम्म आयोजना हुने एसिया कप छनौट प्रतियोगिताको बिजेता टिम एसियाली टेस्ट राष्ट्रहरुले खेल्ने एसिया कप खेल्न छनौट हुनेछ भने डिसेम्बरमा आयोजना हुने इमर्जिङ्ग टिम्स एसिया कपमा समेत स्वतः छनौट हुनेछ। युएईमा १५ देखि २८ सेप्टेम्बरसम्म आयोजना हुने एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान खेल्नेछन् र बाँकी १ राष्ट्रको निर्क्योल एसिया कप छनौट पछि हुनेछ।
एसिया कप छनौटमा नेपालले आफ्नो पहिलो खेल २९ अगस्टमा ओमानसंग बायुमास ओभल मैदानमा खेल्नेछ। यस्तै दोश्रो खेल ३० अगस्टमा युएईसंग किनरारा ओभल मैदानमा, तेश्रो खेल १ सेप्टेम्बरमा मलेसियासंग बायुमास ओभलमा, चौथो खेल २ सेप्टेम्बरमा सिंगापुरसंग युकेएम ओभल मैदानमा तथा अन्तिम खेल हंगकंगसंग ४ सेप्टेम्बरमा खेल्ने कार्यक्रम रहेको छ।
सहभागी ६ देशले एक-अर्कासंग १/१ खेल खेलीसकेपछि लिगको बिजेता र उपविजेताले ६ सेप्टेम्बरमा किनरारा ओभल मैदानमा फाईनल खेल खेल्नेछन् जसको बिजेता एसिया कप खेल्न छनौट हुनेछ।
नेपालको खेल तालिका :-
२९ अगस्ट – नेपाल Vs ओमान ( बायुमास ओभल मैदान )
३० अगस्ट – नेपाल Vs युएई ( किनरारा ओभल मैदान )
१ सेप्टेम्बर – नेपाल Vs मलेसिया ( बायुमास ओभल मैदान )
२ सेप्टेम्बर – नेपाल Vs सिंगापुर ( युकेएम ओभल मैदान )
४ सेप्टेम्बर – नेपाल Vs हंगकंग ( युकेएम ओभल मैदान )
६ सेप्टेम्बर – फाईनल ( किनरारा ओभल मैदान )
( नोट – १. खेल ५० ओभरको हुनेछ २. सम्पूर्ण खेल मलेसियन समय १० बजे बिहान अर्थात् नेपाली समय ७:४५ बजे बिहान सुरु हुनेछ )