इपिएल खेल्ने अर्को ठूलो नाम ; भैरहवाले भित्र्यायो नेदरल्याण्ड्सका स्टार



मङ्सिर २२ गतेबाट सुरु हुने एभरेष्ट प्रिमियर लिग टि-२० (इपिएल) क्रिकेटका लागि हरेक टोलीले बिदेशी खेलाडी भित्र्याउने क्रम जारी छ।

एभरेस्ट प्रिमियर लिगमा एउटा टिमले १५ जना खेलाडीको टिम मा ३ जना बिदेशी खेलाडी राख्नैपर्ने र ३ जना खेलाडीलाई अन्तिम ११ मा पनि समाबेस गर्नुपर्ने नियम रहेको छ।

यस बर्षको संस्करणमा केभिन ओ ब्रायन (काठमाडौं किंग्स एघार), रोहन मुस्तफा (काठमाडौं किंग्स एघार), पौल स्टर्लिंग (चितवन टाइगर्स), मोहम्मद नाबिद (भैरहवा ग्लाडीएटर्स), कायल कोट्जर (पोखरा राइनोज) सिकन्दर राजा (काठमाडौं किंग्स एघार), सन्नी पटेल ( ललितपुर प्याट्रीएट्स ) , गौरभ तोमर ( ललितपुर प्याट्रीएट्स ), पल् कोग्लिन (चितवन टाइगर्स), रिचर्ड लेभी (पोखरा राइनोज)  जस्ता नाम चलेका बिदेशी खेलाडीहरुले सहभागिता जनाउने पक्का भइसकेको छ।

रायन टेन डोस्काटे एभरेष्ट प्रिमियर लिग खेल्ने :

सन् २०११ को एक दिवसीय विश्वकप क्रिकेटमा बलियो टोलि इंग्ल्याण्ड बिरुद्ध शतक बनाएका नेदरल्याण्डका रायन टेन डोस्काटे एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउने भएका छन्। इपिएल क्रिकेटको गत संस्करणको फाइनल पुगेको टोलि भैरहवा ग्लाडीएटर्सले टेन डोस्काटेलाई आफ्नो दोस्रो खेलाडीका रुपमा घोषणा गरेको छ।

३८ बर्षीय डच् अलराउण्डर डोस्काटे एसोसिएट राष्ट्रका सर्वाधिक सफल खेलाडी मध्ये एक मानिन्छन्। सन् २०११ को एक दिवसीय विश्वकप क्रिकेटमा २ शतक बनाएपछि उनको नाम एकाएक विश्वक्रिकेटमा चुलिएको थियो।

त्यसक्रममा डोस्काटेले सो विश्वकप क्रिकेटमा इंग्ल्याण्ड बिरुद्ध ११९ रन तथा आयरल्याण्ड बिरुद्ध १०६ रन बनाएका थिए। आयरल्याण्ड बिरुद्धको शतकपछि उनि २०११ एक दिवसीय विश्वकप क्रिकेटमा दुई शतक बनाउने तेस्रो खेलाडीबन्न पुगे। सो उचाई त्यसअघि सचिन तेन्दुलकर र एबी डी भिल्लियर्सको नाममा रहेको थियो।

सन् २०११ मानै रायनलाई इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा कोलकाता नाइट राईडर्सले आफ्नो टोलीमा सम्मिलित समेत गर्यो। त्यसयता उनले २९ आइपिएल खेलमा ३२६ रन बनाएका छन् भने २ विकेट समेत चट्काएक छन्।

यस्तै नेदरल्याण्ड्सका लागि ३३ एक दिवसीय र १० टि-२० अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलेका उनले ५ शतक सहित १५४१ एक दिवसीय रन र २५२ टि-२० अन्तर्राष्ट्रिय रन जोडेका छन्। एक दिवसीय क्रिकेटमा र्यानको नाममा ५५ विकेट समेत रहेको छ। अन्तिम पटक उनले टि-२० अन्तर्राष्ट्रिय खेल नेपाल बिरुद्ध लर्ड्स मैदानमा खेलेका थिए।

नेदरल्याण्ड्सका लागि लामो समयसम्म खेल नखेलेपनि डोस्काटे इंग्ल्याण्डको घरेलु काउन्टी क्रिकेटमा संलग्न रहँदै आएका छन्। एस्सेक्सका लागि काउन्टी क्रिकेट खेल्ने उनको नाममा १७४ प्रथम श्रेणी खेलमा २७ शतक सहित १०२८३ रन रहेको छ।

Ravi Inder Singh

यस्तै शरद भेसावाकरको कप्तानीमा रहेको टोलि भारतका रबि इन्दर सिंहलाई समेत बिदेशी खेलाडीको रुपमा टोलीमा लिएको छ। पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा समेत शरदकै टोलि पोखरा पल्टनमा रहेका रबिले सर्वाधिक रन बनाउने खेलाडी बन्ने क्रममा ६ इनिंगमा २६० रन बनाएका थिए।

सोहिक्रममा फाइनल खेल अन्तर्गत चितवन राइनोज बिरुद्ध म्यान अफ द म्याच समेत बनेका रबिले ५८ बलमा ९० रन प्रहार गरेका थिए।

Mohammad Naveed
Mohammad Naveed ( Photo – Pokhara Paltans )

भैरहवाले केहि दिन संयुक्त अरब एमिरेट्स (युएई) का मोहम्मद नबिदलाई समेत आफ्नो बिदेशी खेलाडीको रुपमा घोषणा गरेको थियो।पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत पोखरा पल्टनमा आबद्द भएका उनले पोखरालाई उपाधी दिलाउन महत्त्वपूर्ण योगदान दिएका थिए। उक्त प्रतियोगितामा नाविदले ५ खेलको ४ इनिंगमा ब्याटिंग गर्दै आक्रामक १९७.६१ को स्ट्राइक रेटमा ८३ रन बनाएका थिए। बलिंगतर्फ टिमका लागि दोश्रो सर्बाधिक ७ विकेट लिएका उनले किफायती बलिंग गर्दै ४.४५ को इकोनोमी कायम गरेका थिए।

भैरहवा ग्लाडीएटर्समा कप्तान तथा मार्की खेलाडी शरद भेसावकर रहेका छन् भने आरिफ शेख , प्रदिप ऐरि, भुवन कार्की, रोहित पौडेल, कृष्ण कार्की, हरिशंकर शाह जस्ता खेलाडीहरु रहेका छन्। गत सिजन भैरहवाको बिदेशी खेलाडीको रुपमा पुनित मिश्रा र प्रथम सालुङ्के खेलेका थिए।

गत सिजन इपिएल फाइनलमा भैरहवालाई पारस खड्का कप्तानीको टिम बिराटनगर वारियर्सले १ रनले पराजित गर्दै उपाधि जितेको थियो। बिराटनगरले दिएको १५० रनको लक्ष्य पछ्याउने क्रममा अन्तिम ओभरमा जितको लागि ९ रन आवस्यक हुँदा अनिल साहले गरेको ओभरमा ३ विकेट झर्न पुग्दा उपाधि जित्न बन्चित भैरहवा भएको थियो। त्यसैको बदला लिंदै पिपिएलको फाइनलमा शरदको टिम पोखरा पल्टनले पारसको चितवन राइनोजलाई अन्तिम ओभरसम्म पुगेको खेलमा ३ विकेटले पराजित गर्दै उपाधि जितेको थियो।

एभरेष्ट प्रिमियर लिग (इपिएल) मङ्सिर २२ गते देखि सुरु भइ फाइनल खेल पौष ७ गते ( डिसेम्बर ८ – डिसेम्बर २२ ) खेलिनेछ। कुल १५ दिन संचालन हुने प्रतियोगितामा २ दिन ( मङ्सिर २७ गते र पौष ६ गते ) बाहेक सम्पूर्ण दिन खेलहरु संचलान हुनेछन्।

प्रतियोगितामा अघिल्लो संस्करण जस्तै शिर्ष दुईमा पर्ने टोलीले पहिलो क्वालिफायर खेल खेल्नेछन् र बिजेता टोलि सिधै फाइनल प्रवेश गर्नेछ। यस्तै पराजित टोलीले भने दोस्रो क्वालिफायरमा लिग चरणको तेस्रो र चौथो टोलि बिचको एलिमिनेटर खेलको बिजेतासंग फाइनल प्रवेशका लागि खेल्नेछ।

एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्स ११, भैरहवा ग्लाडीएटर्स, बिराटनगर वारियर्स, पोखरा राइनोज, ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्स गरि ६ टोलीको सहभागिता रहनेछ।