राष्ट्रिय क्रिकेट टिमका ३ जना सदस्यहरुको कोरोना रिपोर्ट पोजेटिभ आएपछि नेपाल क्रिकेट संघले थप ५ जना क्रिकेटरहरुलिई बन्द प्रशिक्षणमा बोलाएको छ।
कप्तान ज्ञानेन्द्र मल्ल सहित उपकप्तान दिपेन्द्र ऐरी र रोहित पौडेलको बन्द प्रशिक्षण अघि गरिएको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको हो। यस्तै स्टाफ प्रदिप लामाको पनि रिपोर्ट पोजेटिभ आएको छ।
क्यानले फास्ट बलर बिक्रम सोब, विकेटकिपर ब्याट्सम्यान अनिल साह र लोकेश बम तथा ब्याट्सम्यान कुशल भुर्तेल र रित गौतमलाई बन्द प्रशिक्षणमा डाकेको हो। सोब, साह र भुर्तेलले नेपालको प्रतिनिधित्व गरिसकेका छन् भने गौतम र बमले नेपाली यु-१९ राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका छन्। सबै खेलाडीहरुको कोरोना परिक्षण गरिसकेपछि मात्र बन्द प्रशिक्षणमा प्रवेश पाउनेछन्।

मंगलबार गरिएको कोरोना परिक्षणमा बन्द प्रशिक्षणको लागि घोषित २२ सदस्यीय टिम मध्ये ६ जना खेलाडीहरु अनुपस्थित रहेका थिए। कुशल मल्ल १२ कक्षाको परिक्षाको कारण अनुपस्थित रहेका हुन् भने शरद भेसावकर, सन्दिप लामिछाने, बसन्त रेग्मी, सुबास खकुरेल र करन केसीले अत्यावश्यक व्यक्तिगत कारण देखाएका छन्। सबै खेलाडीहरु १ साता भित्र बन्द प्रशिक्षणमा सहभागी हुने बताईएको छ।
कोरोना पोजेटिभ देखिएका कप्तान मल्ल , ऐरी र पौडेलको अवस्था सामान्य रहेको छ। तिन जना खेलाडीहरु अब क्वारेन्टाइनमा बस्नेछन् जसपछि आगामी रिपोर्ट नेगेटिभ नआउन्जेलसम्म बन्द प्रशिक्षणमा सहभागी हुन पाउनेछैनन्।
क्यानले आईसीसीले दिएको प्रोटोकलको आधारमा बन्द प्रशिक्षण सुरु गर्न लागेको हो। गत वर्ष चैत पछि पहिलो पटक एक साथ नेपाली टिम प्रशिक्षण गर्न लागेको हो।