IPL Match 2 : दिल्ली र पन्जाबको बलियो र कमजोर पक्ष



आईपीएल टि-२० अन्तर्गत दोश्रो खेलमा नेपाली स्पिनर सन्दिप लामिछाने सम्मिलित टिम श्रेयस ऐयर कप्तानीको दिल्ली क्यापिटल्सले केएल राहुल कप्तानीको किंग्स-११ पन्जाब बिरुद्ध पहिलो खेल खेल्दैछ। युएईको दुबई स्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय राति ७:४५ बजे सुरु हुनेछ।

लिगको उपाधि हालसम्म जित्न नसकेको दिल्ली र पन्जाब यो सिजन पहिलो उपाधि जित्ने लक्ष्य सहित सुरुवाती खेल जित्दै लय प्राप्त गर्न चाहन्छ। गत सिजन दिल्ली दोश्रो क्वालीफायरमा चेन्नाईसंग पराजित भएको थियो। पन्जाब भने लिग चरणमा छैठौं स्थानमा रहेपछि प्लेअफ पुग्न असफल रहेको थियो। गत सिजन दिल्लीले पन्जाबलाई १ खेलमा पराजित गरेको थियो भने १ खेलमा पराजित भएको थियो।

हेड टु हेड नतिजा : लिग इतिहासमा दिल्ली र पन्जाबले एकअर्का बिरुद्ध हालसम्म कुल २४ खेल खेलेका छन्। त्यस मध्ये पन्जाबले १४ खेलमा जित हात पारेको छ भने दिल्लीले १० खेल जित हात पारेको छ। अन्तिम ५ खेल मध्ये पन्जाबले ४ खेल जितेको छ।

दिल्ली क्यापिटल्स ( Delhi Capitals ) 

टिम : श्रेयस अयर ( कप्तान ), पृथ्वी शा, रिषभ पंत, शिखर धवन, अक्षर पटेल, कीमो पल(✈️), अमित मिश्रा, आवेश खान, हर्शल पटेल, इशांत शर्मा, कागिसो रबाडा(✈️), सन्दिप लामिछाने(✈️), आर. अश्विन, अजिंक्य रहाने, एलेक्स केरी(✈️), शिमरन हेटमायर(✈️), एनरिक नोर्किया(✈️), ड्यानीयल स्याम्स(✈️) , मार्कस स्टोइनिस(✈️), मोहित शर्मा, ललित यादव र तुषार देशपांडे।

बलियो पक्ष : महान अस्ट्रेलियन ब्याट्सम्यान रिकी पोन्टिङ प्रशिक्षक रहेको दिल्ली टिमलाई यो सिजन विश्लेषकहरुले बलियो टिम मानेका छन् र लिग जित्ने दाबेदारको रुपमा प्रस्तुत गरेका छन्। श्रेयस ऐयर कप्तानीको टिममा ब्याटिंगमा ऐयर स्वयम् सहित उदयमान युवा ब्याट्सम्यानहरु पृथ्वी शा र रिशभ पंत तथा अनुभवी शिखर धवनको उपस्थिति छ। शिमरन हेटमायर, मार्कस स्टोइनिश, एलेक्स केरी जस्ता विदेशी ब्याट्सम्यानहरुले ब्याटिंग लाइन अपमा बिकल्पहरु प्रशस्त देखिन्छ। ओपनिंगमा पृथ्वी र धवन त्यसपछि मध्यक्रममा ऐयर, पन्त, हेटमायर, मार्कस स्टोइनिसको उपस्थितिले ब्याटिंग मजबुत देखाउछ।

दिल्लीको स्पिन पक्ष झनै बलियो छ। भारतीय अफ स्पिनर रभीचन्द्रन आश्विन सहित, लेग स्पिनर अमित मिश्रा र सन्दिप लामिछाने तथा देब्रे हाते स्पिनर अक्षर पटेल सबै स्तरीय स्पिनर हुन्। फास्ट बलिंगमा पनि बिकल्प प्रशस्त छ। इशान्त शर्मा, कागीसो रबाडा, किमो पौल, एनरिक् नोर्किया, ड्यानीयल स्याम्स, मोहित शर्मा, हर्षल पटेल जस्ता बलरहरुले टिम भरिपूर्ण छ। प्रशिक्षक र कप्तानलाई अन्तिम-११ छनौट गर्न मुस्किल हुने अवस्था रहेको छ।

कमजोर पक्ष : पहिलो २ सिजन सेमीफाइनल पुगेको दिल्लीको आईपीएलमा बिगतको प्रदर्शन सम्झनलायक छैन। गत सिजन दोश्रो क्वालीफायरमा पुगेर तेश्रो स्थान प्राप्त गरेको दिल्लीमा विजेता आत्मविश्वासको कमि छ। टिम सन्तुलित देखिएता पनि युएईको सुस्त पिचमा आक्रामक सट खेल्न दिल्ली ब्याट्सम्यानहरुलाई मुस्किल हुनेछ। इशान्त शर्मा नेतृत्वको तीव्र गति बलिंग लाइन अपमा अनुभवी अनुहारहरु छैनन्। टिम हेर्दा दिल्लीमा धेरै कमजोरीहरु देखिदैन।

किंग्स-११ पन्जाब(Kings XI Punjab)

टिम : केएल राहुल ( कप्तान ), करुण नायर, मंदीप सिंह, मयंक अग्रवाल, निकोलस पूरन(✈️), सरफराज खान, क्रिस गेल(✈️), दर्शन नालकंडे, हरप्रीत बरार, कृष्णप्पा गौतम, अर्शदीप सिंह, हरदूस विलज्योन(✈️), जे सुचिथ, मोहम्मद शमी, मुजीब उर रहमान, मुरगन अश्विन, ग्लेन म्याक्सवेल(✈️), शेल्डन कटरेल(✈️), क्रिस जोर्डन(✈️), रवि बिश्नोई, प्रभसिमरन सिंह, दीपक हुडा, जेम्स नीशम(✈️), तजिंदर ढिल्लोन र ईशान पोरेल।

बलियो पक्ष 

यस अघि जस्तै पन्जाबमा स्टार खेलाडीहरुको कमि छैन। ओपनर तथा कप्तान केएल राहुल एक्लो दममा खेल जिताउने क्षमता राख्ने गर्छन्। विस्फोटक ब्याट्सम्यान क्रिस गेल र ग्लेन म्याक्सवेल, निकोलस पुरन,सरफराज खान तथा मायाँक अग्रवाल, करुण नायर जस्ता अनुहारहरु टिममा छन्। कप्तान राहुल र अग्रवाल स्पिन राम्रो खेल्न सक्ने ब्याट्सम्यान हुन्। अलराउण्डर जिम्मी निशम उपस्थितिले टिम झनै बलियो बनेको छ।

बलिंगको कुरा गर्दा उत्कृस्ट लयमा रहेका स्पिनर मुजिब उर् रहमान, फास्ट बलर मोहम्मद शामी, मुरुगन आश्विन, शेल्डन कटरेल तथा क्रिस जोर्डन जस्ता बलरहरु टिममा छन्। यस्तै यु-१९ विश्वकपमा उत्कृस्ट बलिंग गरेका युवा लेग स्पिनर कुलदिप विस्नोइको उपस्थितिले स्पिन पक्षमा बिकल्प छ। मुजिब र आश्विन जस्ता बलरहरु युएईको पिचमा मुस्किल सावित हुनसक्छन्। सिपिएल टि-२० मा मुजिबले दोश्रो सर्वाधिक विकेट लिएका थिए जसको लय कायम रहे एक्लो दममा खेल जिताउन सक्छन्। जोर्डन डेथ ओभरमा राम्रो बलिंग गर्न सक्छन्।  २०१४ मा आईपीएलको केहि खेल युएईमा आयोजना हुँदा पन्जाबले सबै ५ खेल जितेको थियो। टिमको प्रशिक्षकमा लेजेन्ड बलर तथा भारतीय पूर्व प्रशिक्षक अनिल कुम्बलेको उपस्थितिले पनि टिममा छुट्टै आत्मविश्वास भरिएको छ।

पन्जाबको कमजोर पक्ष 

पन्जाबसंग उत्कृस्ट टिम भएता पनि ब्याक अपमा भने भरपर्दो खेलाडीहरु छैनन्। युवा खेलाडीहरुको बाहुल्यता रहेको टिममा अनुभव छैन। पन्जाबको माथिल्लो क्रम असफल भएको खण्डमा तल्लो मध्यक्रम बलियो नहुँदा पुरा टिम धरासायी हुनसक्छ जुन यस अघिको सिजनहरुमा पनि देख्दै आएका छौँ। क्रिस गेलसंग पहिले जस्तो तागत रहेको छैन जो लामो समय देखि मैदान बाहिर छन्। उनि भर्खरै सम्पन्न सिपिएल टि-२० मा पनि सहभागी थिएनन्। करुण नायरले पनि घरेलु क्रिकेटमा खास प्रदर्शन गर्न सकेका थिएनन्।

यो पनि पढ्नुस :-

IPL : दिल्लीको पहिलो खेल आज, सन्दिप खेल्ने सम्भावना कति ?

IPL : १०० औं जितपछि धोनीले भने – ‘अनुभव काम आयो’

IPL 2020 : भेट्रान स्पिनर मिश्राले बनाउन सक्छन् ३ रेकर्ड

IPL : सबै ८ टिमले बनाएको सर्वाधिक र न्यून योगफल