दिपेन्द्र ऐरीको विस्फोटक शतक, गोल्डेनगेट र हिमालय सेमीफाइनलमा



काठमाडौं – गोल्डेन गेट इन्टरनेशनल कलेज र हिमालय कलेजले गोल्डेन गेट कलेज प्रिमियर लिगको अन्तिम चारमा स्थान पक्का गरेका छन् ।

शुक्रबार लिग चरणको अन्तिम दिन गोल्डेन गेटले त्रिभुवन विश्वविद्यालय (टीयू) माथि १ सय ३८ रनको फराकिलो जित दर्ता गर्दै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गर्यो ।

टस जितेर ब्याटिङको निम्तो पाएको गोल्डेन गेटले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २६ रनको विशाल योगफल खडा गर्यो । ओपनर दिपेन्द्रसिंह ऐरीले शतक तथा शरद भेषावकरले अर्धशतक जोडेपछि गोल्डेन गेटले उत्कृष्ट सुरुवात पाएको थियो । यी दुईले पहिलो विकेटका लागि १२.४ ओभरमा १ सय ५५ रनको साझेदारी गरे ।

Dipendra Singh Airee
Dipendra Singh Airee

दिपेन्द्र ५२ बलमा १ सय १ रन जोड्दै मिड विकेट बाउन्ड्रीमा क्याच आउट भए । उनले आक्रामक ब्याटिङ गर्दै १३ चौका र ६ छक्का प्रहार गरेका थिए । अर्का ओपनर शरदले ३१ बलमा ५८ रनको योगदान दिए । उनले ६ चौका र ३ छक्का प्रहार गरे ।

कप्तान पृथु बाँस्कोटाले ११ बलमा समान १-१ चौका र छक्कासहित १५ रन जोडे । अमरसिंह राउटेला ४ र सुमित महर्जन ६ रनमा रोशेष पौडेलको शिकार बने । सोनु तामाङ ७ बलमा २ छक्कासहित १७ तथा जितेन्द्र सिंह ठकुरी ५ बलमा १ चौका र १ छक्कासहित १५ रनमा नटआउट रहे ।

टीयूका रोशेषले ३ तथा जनक विष्ट र कमल खत्रीले १-१ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रेको टीयूले २० ओभरमा ५ विकेट गुमाउँदै मात्र ८८ रन जोड्न सक्यो । ओपनर कृष्णदेव भट्ट र रोशेष पौडेलले २०-२० रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । कृष्णले ३८ बलमा सामना गर्दै २ चौका प्रहार गरे । रोशेषले ३३ बलको सामना गरे । राजेश रिमाल १०, जनक विष्ट ६ र विरेन्द्र कार्की ४ रनमा आउट हुँदा निखिल गोयल ११ र सुजन पोखरेल ९ रनमा नटआउट रहे ।

गोल्डेन गेटका शरद भेषावकरले २ तथा नन्दन यादव र दिपेन्द्र रावतले १-१ विकेट लिए ।

हिमालय जितमा विकास उत्कृस्ट 

दिनको दोस्रो खेलमा हिमालय कलेजले शंकरदेव कलेजलाई ५ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्यो ।

टस जितेर ब्याटिङ रोजेको शंकरदेवले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४२ रन जोडेको थियो ।

Bikash Yadav of Himalayan College
Bikash Yadav of Himalayan College

एक समय नवौं ओभरमा ७५-० को बलियो स्थितिमा रहेको शंकरदेवको मध्यक्रम र तल्लोक्रम नचल्दा अपेक्षित योगफल प्रस्तुत गर्न सकेन । ओपनरद्वय गजेन्द्र बोहोराले ७२ र दीपक बोहोराले २९ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । दीपक २२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै विकाश यादवको बलमा बोल्ड भए । लगत्तै रविन्द्र चन्द पनि पहिलो बलमा नै बोल्ड भए ।
त्यसपछि नियमित विकेट खस्दै जाँदा शंकरदेवले ठूलो योगफल तयार पार्न सकेन । गजेन्द्रले १९ औं ओभरमा क्याच आउट हुनुअघि ५६ बल खेल्दै ९ चौका प्रहार गरे । ललित प्याकुरेल ८, श्रीधर बन्जाडे २, कमल ओली ७, अमित ऐर १, सन्दीप खड्का १ र कमल कुँवर शून्यमा पेभेलियन फर्किए । पशुपति चौधरी ४ रनमा नटआउट रहे ।

हिमालयका लागि म्यान अफ द म्याच घोषित विकास यादवले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । अविराज यादव, रुपेश सिंह र मयंक झाले १-१ विकेट लिए ।

जवाफमा हिमालयले १६.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो । १ रन जोडेका अश्चल चौधरीलाई दोस्रो ओभरमा गुमाएको हिमालयका लागि अर्का ओपनर दिनेश अधिकारीले २५ रनको योगदान दिए । पाँचौ ओभरमा बोल्ड हुनुअघि उनले १८ बलमा ३ चौका र १ छक्का प्रहार गरे । त्यसको २ बलपछि विकास यादव ५ रनको स्थितिमा आउट भए । आशिक साह र सुमन गहतराजले ४८ रनको आक्रामक साझेदारी गर्दै हिमालयलाई लक्ष्यतर्फ उन्मुख गराए । आशिक २१ बलमा ४ चौका र २ छक्कासहित ३४ रन जोड्दै बोल्ड भए । लगत्तै बलमा शंकर पौडेल एलबीडब्लू धरापमा परे ।

छैटौं विकेटका लागि सुमन र अमितले नटआउट ५९ रनको साझेदारी गर्दै जितसम्म पुर्याए । सुमनले ३० बलमा ४ चौकासहित नटआउट ३६ रन जोडे । अमित १९ बलमा २ चौकाको मदतले १७ रनमा नटआउट रहे । शंकरदेवका सन्दीप खड्का र ललित प्याकुरेलले २-२ तथा गजेन्द्र बोहोराले १ विकेट लिए ।

Bikash Yadav of Himalayan College

प्रतियोगिता अन्तर्गत आज शनिबार सेमिफाइनल खेलहरु हुनेछन् । पहिलो सेमिफाइनलमा विहान ९ बजे ट्रीटन कलेजले हिमालय कलेजको सामना गर्नेछ । दिउँसो १ बजे हुने दोस्रो सेमिफाइनलमा गोल्डेन गेट र काठमाडौं विश्वविद्यालयले फाइनल प्रवेशका लागि खेल्नेछन् ।

युनिभर्सिटी क्रिकेट क्लबको योजनामा जारी प्रतियोगितामा १२ कलेजको सहभागीता रहेको थियो । विजेताले २ लाख २२ हजार २ सय २२ तथा उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै म्यान अफ द सिसिजले रु २५ हजार र प्रतियोगिताको उत्कृष्ट ब्याट्स्म्यान र बलरले जनही रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले एक्सटेपको प्रोयाजनमा रु ५ हजार बराबरको जुत्ता प्राप्त गर्नेछन् ।८ दिने प्रतियोगिताका सबै खेलहरु किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिताको अनुमानित बजेट ३० लाख रुपैयाँ रहेको छ । फाइनल चैत्र १७ गतेका लागि तय गरिएको छ ।





थप समाचार

पाकिस्तानको सिरिज जितमा बाबरको किर्तिमान

लगातार दोश्रो टेस्ट इनिंग्स अन्तरले जित्दै भ्रमण टोलि पाकिस्तानले जिम्बाब्वे बिरुद्धको दुई वटा टेस्टको सिरिज क्लिन स्विप गरेको छ। यस […]

कुशल भएनन् आईसीसी प्लेयर अफ द मन्थ

पाकिस्तानकै फखर जमान र नेपाली क्रिकेट टिमका ओपनिंग ब्याट्सम्यान कुशल भुर्तेललाई पछि पार्दै बाबर आजम अन्तर्राष्ट्रिय क्रिकेट परिषदको ( आईसीसी […]

हार्दिक र पृथ्वीलाई बाहिर राख्दै वर्ल्ड टेस्ट च्याम्पियनसिपको लागि भारतीय टिमको घोषणा

आगामी महिना आयोजना हुने पहिलो विश्व टेस्ट च्याम्पियनसिपको फाइनल तथा त्यसलगत्तै इंग्ल्यान्ड बिरुद्ध पांच टेस्टको सिरिजको लागि भारतले टिमको घोषणा […]

कुशल भुर्तेल आईसीसीको प्लेयर अफ द मन्थ मनोनयनमा, कसरि गर्ने भोट

नेदरल्याण्ड र मलेसिया बिरुद्ध त्रिकोणात्मक सिरिजमा शानदार ब्याटिंग गर्दै विश्वकीर्तिमान बनाएका नेपाली क्रिकेट टिमका ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद […]

आईपीएल अनिश्चितकालको लागि स्थगित

बढ्दो कोभीड-१९ केसहरुका कारण भारतमा जारि इन्डीएन प्रिमीयर लिग ( आईपीएल ) को १४ औं संस्करण अनिश्चित समयको लागि स्थगित […]

आईपीएलमा कोरोना प्रभाव, कोलकाता र बैंगलोरको खेल आज नहुने

भारतमा जारी १४ औं सिजनको इन्डीयन प्रिमियर लिगको सोमबार हुने रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइट राइडर्स बीचको खेल सर्ने […]