अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत शनिबार नेपाली लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित होबार्ट हरिकेन्सले ग्लेन म्याक्स्वेल कप्तानीको आफ्नै पूर्व टिम मेलबर्न स्टार्सको सामना गर्दैछ। खेल नेपाली समय अनुसार बिहानको ११:५० बजे होबार्ट स्थित बेलेरिभ ओभल क्रिकेट मैदानमा सुरु हुनेछ ।
खेलमा मेलबर्नले ब्याट फ्लिप जितेर पहिले बलिंग गर्ने निर्णय लिएको छ। होबार्टले आफ्नो अन्तिम-११ मा नेपाली स्पिनर सन्दिप लामिछानेलाई समाबेश गरेको छ। होबार्टको लागि सन्दिपको यो डेब्यु खेल हो।
होबार्टको अन्तिम ११ : ड्यार्सी सर्ट, बेन म्याकडर्म्याट ( विकेटकिपर ) , पिटर ह्यान्ड्सकम्ब ( कप्तान ) , कोलिन इन्ग्राम , टिम डेभिड, जोहन बोथा, नाथन इलियास, स्कट बोल्यान्ड, रैली मेरेडीथ, सन्दिप लामिछाने
मेलबर्न स्टार्सको अन्तिम ११ : मार्कस स्टोइनिस, आन्द्रे फ्लेचर, हिल्टन कार्टराइट, ग्लेन म्याक्सवेल ( कप्तान ) , निकोलस पुरन ( विकेटकिपर ) , निक म्याडीसन, बेन डंक, लियाम ह्याचर, स्याम रेनबर्ड, बिलि स्टानलेक, जाहिर खान
सन्दिप बिग ब्यास खेल्न मंसिर ३० गते अष्ट्रेलिया प्रस्थान गरेका थिए। तर बिग ब्यास भने डिसेम्बर १० (मंसिर २५) बाट सुरु भएको थियो। त्यसपछि १४ दिने क्वारेन्टाइनमा बसेका कारण उनले सुरुवाती ६ खेल गुमाएका थिए। जनवरी १ मा आफ्नो क्वारेन्टाइन सकाएर सन्दिप होबार्ट टिमसँग जोडिएका थिए। लगत्तै उनि पहिलो खेलको लागि टिमको स्क्वाडमा परेका छन्।
यसअघि सन्दिपले पछिल्लो २ सिजनमा मेलबर्न स्टार्सको प्रतिनिधित्व गरेका थिए। बिग ब्यास अन्तर्गत उनले २० खेलमा १६.३ को स्ट्राइक रेटमा २६ विकेट लिएका छन्। पछिल्लो २ संस्करणमा उनले किफायती बलिंग गर्दै आफुलाई विकेट टेकर स्पिनरको रुपमा उभ्याएका छन्।
युनाइटेड अरब इमिरेट्स (युएई) मा सम्पन्न १३ औं संस्करणको आईपिएलामा दिल्ली क्यापिटल्सको प्रतिनिधित्व गरेका सन्दिपले प्रतियोगिता भर बेन्चमै चित्त बुझाउनु परेको थियो। उनि केरेबियन प्रिमियर लिग ( सिपिएल ) टि-२० मा गजबको प्रदर्शन गर्दै आईपिएल खेल्न त्यतैबाट युएई प्रस्थान गरेका थिए। तर उनले आईपिएलामा भने एक खेलमा पनि मौका पाएनन्। सन्दिपले अन्तिम पटक जमैका तलावाजको प्रतिनिधित्व गर्दै सिपिएल टि-२० खेलेका थिए। उनले त्यस सिजन कुल ११ खेलमा १० खेलमा बलिंग गर्दै १२ विकेट लिएका थिए। त्यसपश्चात् सन्दिपले कुनै क्रिकेट खेलहरु खेलेका छैनन्।