दुर्भाग्यशाली ११ खेलाडी जो विश्वकप टिममा अटाउन सकेनन्



  • विकेटनेपाल, बैशाख १८ – बुधबार 

यहि वर्ष मे ३० तारिख देखि जुलाई १० तारिखसम्म इंग्ल्याण्ड र वेल्समा बाह्रौं संस्करणको एकदिवसीय विश्वकप क्रिकेट आयोजना हुँदैछ।

क्रिकेटको महाकुम्भ सुरु हुन एक महिना भन्दा पनि कम समय बाँकी रहँदा सहभागी सम्पूर्ण १० देशले नै १५ जना खेलाडीहरुको सुची सार्वजनिक गरिसकेको छन्। प्रतियोगिताको लागि सार्वजनिक गरिएको टिममा केहि अनपेक्षित खेलाडीले स्थान पाएका छन् भने पछिल्लो समय उत्कृस्ट प्रदर्शनका बाबजुत पनि टिममा अटाउन असफल खेलाडीको सुची पनि लामै छ। टिमहरुले १५ सदस्यीय टोलि सार्वजनिक गरेपनि प्रतियोगिता सुरु हुनु एकहप्ता अगाडीसम्म आइसीसीलाई जानकारी नगराई नै टिममा फेरबदल गर्न सकिनेछ। त्यसपछि भने आइसीसीको अनुमतिमा बिशेष परिस्थितिमा मात्र फेरबदल गर्न पाइनेछ।

विभिन्न टिमहरुले सार्वजनिक गरेको सुचीमा केहि त्यस्ता खेलाडीहरु पनि छन् जो बिश्वकप टिममा स्थान बनाउने अनुमान गरिएता पनि आशा विपरित सुचीमा नाम दर्ता गराउन सकेनन्। यहाँ त्यस्तै ११ जना खेलाडीहरुको चर्चा गरेका छौँ –

विश्वकप टिममा नअटाएका दुर्भाग्यशाली एघार खेलाडी

१. मोहम्मद रिजवान (पाकिस्तान)

पाकिस्तानले घोषणा गरेको विश्वकपको टिममा विकेटकिपरको रुपमा कप्तान सरफराज अहमद रहेका छन्। तर उनको विकल्पको रुपमा अन्य विकेटकिपर कोहि नभएकोले रिजवान टिममा पर्ने आशा गरिएको थियो। रिजवानले सरफराज अहमदको अनुपस्थितिमा यसअघि किपरको भूमिका निर्वाह गरिसकेका छन्। २६ बर्षीय रिजवानले ३२ एकदिवसीय खेलमा ३३.५७ को औसतमा ७०० भन्दा धेरै रन बनाएका छन्। २ बर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढा रहेपछि सन् २०१७ को सुरुवातमा पुनः टिममा फर्केका उनले त्यसपछि लगातार राम्रो प्रदर्शन गर्दै आएका छन्। अष्ट्रेलियासँगको सिरिजमा ५-० को हारका बाबजुत रिजवानले २ शतक प्रहार गरेका थिए।

२. निरोशन डीकेविल्ला (श्रीलंका)

आक्रामक ब्याटिंग शैली भएका डीकेविल्लाले श्रीलंकाको टिममा विकेट किपरको भूमिका समेत निर्वाह गर्ने गर्छन्। श्रीलंकाको टिममा ठुलो फेरबदल भएको छ। यसअघि सन् २०१५ को विश्वकपमा आफ्नो अन्तिम एकदिवसीय खेल खेलेका दिमुथ करुणारत्नेले टिमको कप्तानी गर्नेछन्। टिममा भएका यस्तै आश्चर्यजनक परिवर्तनको सिकार बनेका खेलाडी हुन् डीकेविल्ला। उनले पछिल्लो १५ पारीमा ४९७ रन बनाएका थिए तर दक्षिण अफ्रिकासँगको लज्जास्पद हार पछी टिममा महत्त्वपूर्ण परिवर्तन आवश्यक भएको भन्दै ब्यबस्थापन पक्षले फेरबदल गर्यो।

३. रिशभ पन्त (भारत)

अन्तर्राष्ट्रिय क्रिकेटको धेरै अनुभव नभएपनि विश्वकपमा स्थान बनाउन सक्ने खेलाडीको रुपमा पन्तलाई लिइएको थियो। ठुला ठुला सट र आक्रामक ब्याटिंग गर्ने शैलीको कारणले भारतको लागि विश्वकपमा एक्स-फ्याक्टरको रुपमा स्थान पाउनुपर्ने धेरैको माग थियो। तर उनको स्थानमा सन् २००४ मा डेब्यु गरेका दिनेश कार्तिक अनुभवको आधारमा टिममा परे। छनोटकर्ताले मात्र २१ बर्षीय पन्तले भबिष्यमा यस्ता किसिमका अवसरहरु पाइराख्ने समेत बताए। उनले अहिलेसम्म ५ एकदिवसीय खेल खेलेका छन् भने इंग्ल्याण्डमा टेस्ट क्रिकेटमा शतक समेत प्रहार गरेका छन्।

४. अम्बाती रायडु (भारत)

ऋषब पन्तपछी भारतको १५ सदस्यीय टिममा आशा गरिएका अर्का खेलाडी अम्बाती रायडु हुन्। सात महिना अगाडी वेस्ट इन्डिज बिरुद्दको सिरिजको क्रममा कप्तान कोहलीले विश्वकपको लागि चार नम्बरमा रायडुले ब्याटिंग गर्ने बताएका थिए। तर हार्दिक पान्ड्य ‘कफी विथ करण’ काण्डमा मुछिएपछी टिममा स्थान बनाएका विजय शंकरले आफुले पाएका केहि अवसरलाई सदुपयोग गरेको भन्दै छनोटकर्ताले शंकरले एउटा कार्य मात्र नभएर ब्याटिंग बलिंग र फिल्डिंग सबैमा योगदान दिन सक्ने भन्दै रायडुको स्थानमा बोलाएका छन्। रायडुले २ वर्षको अन्तरालपछी सन् २०१८ मा कमब्याक गरेपछि उत्कृस्ट प्रदर्शन गर्दै आएका थिए। कमब्याक पछी उनले ४ अर्धशतक, १ शतक र २ वटा ४० भन्दा माथिको स्कोर बनाएका छन्। यसका बाबजुत पनि भारतको ४ नम्बरमा ब्याटिंग गर्ने खेलाडी निश्चित भएको छैन।

५. दिनेश चन्डीमल (श्रीलंका)

सन् २०१० मा डेब्यु गरेका चन्डीमल श्रीलंकाको लागि मुख्य ब्याट्सम्यान हुन्। पछिल्लो समय राम्रो प्रदर्शनको बाबजुत पनि टिममा धेरै फेरबदलको कारण उनि टिममा अटाएनन्। चन्डीमलले सन् २०१८ मा ४२.५७ को औसतमा रन बनाएका छन् भने केहि समयको लागि टिमको नेतृत्व समेत गरेका थिए। १४६ एक दिवसीय खेलको अनुभव भएका चन्डीमललाई श्रीलंकाले विकेट किपर र ब्याट्सम्यान दुवैको रुपमा गुमाएको छ। उनको अनुभव पनि केहि हदसम्म टिमको लागि महत्त्वपूर्ण रहने आशा गरिएको थियो।

६. जोफ्रा आर्चर (इंग्ल्याण्ड)

वेस्ट इन्डिजबाट यु१९ विश्वकप खेलेका जोफ्रा आर्चर इंग्ल्याण्डको राष्ट्रिय टिममा रहन मेहनत गरिरहेका छन्। अहिलेसम्म इंग्ल्याण्डको लागि नखेलेका उनले इंग्ल्याण्डको राष्ट्रिय टिमबाट खेल्नका लागि लाग्ने सम्पूर्ण सर्तहरु पुरा गरिसकेका छन्। विश्वभर भैरहेका टि२० लिगमा उत्कृस्ट प्रदर्शन गर्दै सबैको मन जित्न सफल आर्चरले डेथ ओभरमा ब्याट्सम्यानहरु लाई समस्यामा पार्ने गरेका छन्। उनिसँग इंग्ल्याण्डबाट विश्वकप खेल्ने एउटा अवसर भने बाँकी नै छ। त्यसको लागि आयरल्याण्ड र पाकिस्तान बिरुद्द हुने एकदिवसीय सिरिजमा आशा गरीए अनुरुप प्रदर्शन गर्नुपर्ने हुन्छ।

७. आसिफ अलि (पाकिस्तान)

AFP_19D04W

पाकिस्तानको टिममा डेथ ओभरमा ठुला सट प्रहार गर्ने ब्याट्सम्यानको अभाव रहेको अवस्थामा आसिफ अलि टिममा नपर्नु आशा बाहिरको कुरा हो। ११ एकदिवसीय खेल मात्र खेलेका उनको प्रदर्शन उनको रेकर्डले देखाउंदैन तर पछाडीका ओभरहरुमा उनले ठुला ठुला सट प्रहार गर्छन्। तर २७ बर्षीय उनिसँग इंग्ल्याण्डसँग हुने एकदिवसीयमा उत्कृस्ट प्रदर्शन गर्दै छनोटकर्ताको मन जितेर टिममा स्थान बनाउने अवसर भने रहेको छ। उनले सन् २०१७ मा पोखरा राइनोजको तर्फबाट नेपालको एभरेष्ट प्रिमियर लिग समेत खेलेका थिए।

८. कायरन पोलार्ड (वेस्ट इन्डिज)

पोलार्डले सन् २०१६ मा आफ्नो अन्तिम एकदिवसीय खेल खेलेको भएपनि उनको ब्याटिंग गर्ने अद्भुत क्षमताको आधारमा टिममा पर्ने आशा गरिएको थियो। जारि इन्डियन प्रिमियर लिगको १० खेलमा लगभग २०० रन बनाएका उनले केहि म्याच जिताउ पारि समेत खेल्दै चर्चा बटुलेका थिए। उनको चमत्कारित फिल्डिंग र गतिमा नियमित परिवर्तन गर्ने बलिंग कला देख्न सकिन्छ। उनको स्थानमा टिममा त्यस्तै किसिमको प्रदर्शन गर्ने आन्द्रे रसेल रहेका छन्। रसेलले जारि आइपिएलमा आफ्नो करियरको सबैभन्दा राम्रो फर्ममा रहेको अनुभूति गराएका छन्।

९. पिटर ह्यान्ड्सकम्ब (अष्ट्रेलिया)

पिटर ह्यान्ड्सकम्ब पुर्व कप्तान स्टिव स्मिथको आगमनको सिकार बनेका छन्। स्मिथ करिब १ वर्षको अन्तरालमा क्रिकेटमा फर्किएका छन् भने एकदिवसीय क्रिकेट खेल्न बाँकी नै छ तर विश्वकपको लागि छनोटकर्ताले रिस्क मोलेर नै पछिल्लो समय उत्कृस्ट लयमा रहेका ह्यान्ड्सकम्बको सट्टा स्मिथलाई खेलाउने निर्णय गरे। ह्यान्ड्सकम्बले सन् २०१९ मा खेलेका १३ एकदिवसीय खेलमा ४३.५४ को औसतमा ४७९ रन बनिसकेका छन्। ह्यान्ड्सकम्बको अनुपस्थितिमा टिममा ब्याकअप विकेट किपरको समेत अभाव रहेको छ। यसैलाई लिएर पुर्व खेलाडी इयान हेलीले यदि नियमित विकेट किपर एलेक्स केरी अभ्यास खेल तथा खेलको बिचमा नै समस्यामा परे के हुन्छ भन्ने प्रश्न समेत छनोटकर्तालाई गरेका छन्।

१०. अकिला धनन्जय (श्रीलंका)

श्रीलंकाको टिममा भएको फेरबदलको कारण टिममा सबैभन्दा आशा गरिएका तर नपरेका खेलाडी हुन अकिला धनन्जय। सन् २०१८ मा टिमको लागि सर्वाधिक सफल बलर धनन्जयले २८ विकेट लिनेक्रममा १५ खेल खेलेका थिए जसमा स्ट्राइक रेट मात्र २३ को रहेको थियो। बलिंग एक्सनको कारण केहि समय अन्तर्राष्ट्रिय क्रिकेट गुमाएर पुनरागमन पछी पहिएजस्तो विकेट लिने क्षमतामा कमि आएको भन्दै छनोटकर्ताले टिमबाट हटाएका हुन्।

११. मोहम्मद आमिर (पाकिस्तान)

पाकिस्तानले सन् २०१७ मा इंग्ल्याण्डमा भएको च्याम्पियन्स ट्रफि उचाल्नेक्रममा टिममा रहेका मुख्य हतियार आमिर यसपल्ट टिममा अटाएनन्। उनले उक्त फाइनल खेलमा भारतका महत्त्वपूर्ण खेलाडी विराट कोहली र रोहित शर्मालाई आउट गरेपछि भारत सुरुवाती दबाबमा परेको थियो। तर त्यसपछि उनको प्रदर्शन भने खस्केको छ। कप्तान सरफराज अहमदले इंग्ल्याण्ड बिरुद्द युएईमा भएको सिरिजमा आमिरको प्रदर्शनलाई लिएर चिन्ता ब्यक्त गरेका थिए। २७ बर्षीय उनले आफुले खेलेका अन्तिम १४ एकदिवसीय खेल मध्ये ९ वटामा विकेट बिहिन रहेका छन्। त्यस्तै उनको फिटनेस पनि चिन्ताको बिषय रहेको छ। आशिफ अलिलाई जस्तै उनलाई पनि इंग्ल्याण्ड र आयरल्याण्ड बिरुद्दको सिरिजमा प्रदर्शन गर्दै टिममा स्थान बनाउने अवसर र चुनौती रहेको छ।

-आईसीसी वेवसाइटबाट अनुवादित

एकदिवसीय विश्वकप सम्बन्धित कस्तो लेख पढ्न चाहनुहुन्छ, कमेन्ट गर्नु होला।