कोहली र भुवनेश्वर चम्किदा, दोश्रो एकदिवसीयमा भारतको सहज जित

तेश्रो एकदिवसीयमा घरेलु टिम वेस्टइन्डिजलाई ५९ रनले ( डी/एल मेथड ) पराजित गर्दै भारतले ३ एकदिवसीयको सिरिजमा १-० को अग्रता लिएको छ।

पहिलो एकदिवसीय वर्षाको कारण नतिजाविहिन रहेको थियो। तेश्रो तथा निर्णायक एकदिवसीय अगस्ट २४ मा खेलिनेछ।

ट्रिनिडाडमा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै भारतले ५० ओभरमा ७ विकेट गुमाएर २७९ रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा दोश्रो इनिंगमा वर्षाले खेल अबरुद्ध हुँदा विन्डीजले ४६ ओभरमा २७० रनको लक्ष्य पाएको थियो। ४२ ओभरमा २१० रनमै घरेलु टिम अल-आउट हुन पुग्यो।

भुवनेश्वर र कुलदिपको उत्कृस्ट बलिंग 

लक्ष्य पछ्याउने क्रममा वेस्टइन्डिजको लागि ओपनर इभिन लुइसले सर्वाधिक ६५ तथा निकोलस पुरनले ४२ रन बनाउनु बाहेक अन्यले खास योगदान दिन सकेनन्।

पहिलो विकेटको लागि क्रिस गेलसंग लुइसले ४५ रनको साझेदारी गरे। वेस्टइन्डिजको लागि रेकर्ड ३०० औं खेल खेल्ने क्रममा गेलले २४ बलमा १ चौका मदतले ११ रन बनाए। भुवनेश्वर कुमारबाट एलबिडब्लु हुनु अघि गेलले ब्रायन लाराको रेकर्ड तोड्दै वेस्टइन्डिजको लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान बने। लाराले १०,४०८ रन बनाएका थिए। गेलको ३०० खेलमा १०,४०८ रन पुगेको छ। यस क्रममा गेलले २५ शतक र ५३ अर्धशतक बनाएका छन्। लाराले १९ शतक र ६३ अर्धशतक बनाएका थिए।

पहिलो विकेट गुमेपछि शाइ होप ५ रन बनाएर खलिल एहमदबाट बोल्ड भए। शिमरन हेटमायर ( १८ ) र होपले तेश्रो विकेटको लागि ४० रन जोडे। हेटमायरलाई कुलदिप यादबले क्याच आउट गराएपछि निकोलस पुरनसंग लुइसले ५६ रनको साझेदारी गरे। लुइसलाई २८ औं ओभरमा कुलदिपले क्याच आउट गराए। त्यसपछि ४२ रन बनाएका पुरनलाई भुवनेश्वरले क्याच आउट गराए।

पुरनको विकेट जाँदा १७९/५ रहेको विन्डिजले त्यसपछि थप ३१ रन जोड्दा सबै विकेट गुमाउन पुग्यो। कप्तान जेसन होल्डरले अविजित १३ रन बनाए।

भुवनेश्वर कुमारले ४ विकेट लिन ८ ओभरमा ३१ रन मात्र खर्चिए। मोहम्मद शामी ( ८-०-३९-२ ) र कुलदिप यादब ( १०-०-५९-२ ) ले २/२ विकेट तथा खलिल एहमद र रभिन्द्र जडेजाले १/१ विकेट लिए।

कोहलीको शतक

यस अघि टस जितेर ब्याटिंग गर्ने क्रममा भारतको लागि खेलको प्लेयर अफ द म्याच चुनिएका कप्तान बिराट कोहलीले ४२ औं शतक बनाउने क्रममा १२० रन बनाएका थिए। उनले १२५ बलमा १४ चौका र १ छक्का प्रहार गरे। श्रेयस ऐयरले ७१ रन ( ६८ बलमा ५ चौका र १ छक्का ) बनाए। कोहली र ऐयरले चौथो विकेटको लागि १२५ रनको साझेदारी गरेका थिए।

विन्डिज बलर कार्लोस ब्राथवेटले सर्वाधिक ३ विकेट ( १०-०-५३-३ ) लिए।

कोहलीको किर्तिमान 

खेलमा कोहलीले करियरको ४२ औं शतक पुरा गर्ने क्रममा भारतीय पुर्व कप्तान सौरभ गांगुलीको किर्तिमान तोडेका हुन्। कोहली अब भारतको लागि एकदिवसीय अन्तर्राष्ट्रियमा धेरै रन बनाउने सुचीमा गांगुलीलाई पछि छाड्दै दोश्रो स्थानमा उक्लेका छन्।

गांगुलीले कुल ३११ खेल खेल्दा ११ हजार ३ सय ६३ रन बनाएका थिए। १९९२ देखि २००७ सम्म गांगुलीले भारतको लागि खेल्ने क्रममा २२ शतक र ७२ अर्धशतक बनाएका थिए।

कोहलीले २३८ औं खेल खेल्ने क्रममा यो रेकर्ड बनाएका हुन्। २२९ इनिंगमा ब्याटिंग गर्दै कोहलीले ४२ शतक र ५४ अर्धशतक प्रहार गरिसकेका छन्।

यस्तै कोहली वेस्टइन्डिज बिरुद्ध एकदिवसीयमा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान समेत बनेका छन्। जाभेद मियायादले वेस्टइन्डिज बिरुद्ध १ हजार ९ सय ३० बनाएका थिए जसलाई आज कोहलीले उछिनेका हुन्।

एकदिवसीय अन्तर्राष्ट्रियमा भारतको लागि र विश्वकै धेरै रन बनाउने ब्याट्सम्यान सचिन तेन्दुलकर हुन्। सचिनले १९८९ देखि २०१२ सम्म भारतको लागि एकदिवसीय खेल्ने क्रममा ४६३ खेलमा १८ हजार ४ सय २६ रन बनाएका थिए जुन क्रममा ४९ शतक र ९६ अर्धशतक प्रहार गरेका थिए।

एकदिवसीय अन्तर्राष्ट्रियमा धेरै रन बनाउने सुचीमा कोहली आठौँ स्थानमा रहेका छन्। सचिन पछि दोश्रो स्थानमा १४ हजार २ सय ३४ रन बनाएका श्रीलंकन ब्याट्सम्यान कुमार साँगाकारा रहेका छन्। रिकी पोंटिंग ( १३,७०४ ) तेश्रो, सनथ जयसूर्या ( १३,४३० ) चौथो, महेला जयवर्दने ( १२,६५० ) पाँचौ स्थानमा रहेका छन्। इन्जमाम उल हक ( ११,७३९ ) छैठौं, ज्याक कालिस ( ११,५७९) सातौँ स्थानमा छन्।

एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान – सचिन तेन्दुलकर – १८,४२६ , कुमार साँगाकारा – १४,२३४ , रिकी पोंटिंग – १३,७०४ , सनथ जयसूर्या – १३,४३० , महेला जयवर्दने – १२,६५० , इन्जमाम उल हक – ११,७३९ , ज्याक कालिस – ११,५७९ , बिराट कोहली – ११,४०६, सौरभ गांगुली – ११,३६३

कोहली एकदिवसीयमा धेरै शतक बनाउने ब्याट्सम्यानको सुचीमा पनि दोश्रो स्थानमा रहेका छन्। कोहलीले ४१ शतक र ५५ अर्धशतक बनाएका छन्। टपमा रहेका तेन्दुलकरको ४९ शतक रहेको छ। तेश्रो नम्बरमा रहेका पोंटिंगको ३० शतक रहेको छ। रोहित शर्माले २७ शतक बनाएका छन्।

एकदिवसीय अन्तर्राष्ट्रियमा धेरै शतक बनाउने ब्याट्सम्यान :- सचिन तेन्दुलकर – ४९ शतक , बिराट कोहली – ४२ शतक , रिकी पोंटिंग – ३० शतक , सनथ जयसूर्या – २८ शतक , हसिम अमला र रोहित शर्मा – २७ शतक , एबी डी भिल्लियर्स, क्रिस गेल, कुमार साँगाकारा – २५ शतक

टेस्ट क्रिकेटमा कोहलीले ७७ खेलमा ६ हजार ६ सय १३ रन बनाएका छन् जुन क्रममा २५ शतक र ५० अर्धशतक बनाएका छन्। टि-२० मा शतक प्रहार गर्न नसकेका कोहलीले ७० खेलमा २ हजार ३ सय ६९ रन बनाएका छन्। टेस्टमा ५३.७६ , एकदिवसीयमा ५९.७१ र टि-२० मा ४९.३५ को औशतले कोहली रन बनाईरहेका छन्।