आईपीएल २०२१ : अन्तिम बलमा पुगेको खेलमा मुम्बईलाई २ विकेटले हराउँदै बैंगलोरको विजयी सुरुवात



१४ औं संस्करणको इण्डियन प्रिमियर लिग ( आईपीएल ) शुक्रबारबाट भारतमा सुरु भएको छ। शुक्रबार सम्पन्न उद्धघाटन खेलमा बिराट कोहली कप्तानीको रोयल च्यालेंजर्स बैंगलोरले रोहित शर्मा कप्तानीको मुम्बई इण्डियन्समाथि खेलको अन्तिम बलमा २ विकेटको रोमान्चक जित हात पार्दै विजयी सुरुवात गरेको छ।

चेन्नाईको एमए चिदम्बरम स्टेडियममा सम्पन्न खेलमा १६० रनको मध्यम लक्ष्य पछ्याएको बैंगलोरले खेलको अन्तिम बलमा ८ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। बैंगलोरको ब्याटिंगमा एबी डी भिल्लियर्सले सर्वाधिक ४८, ग्लेन म्याक्स्वेलले ३९ तथा कप्तान बिराट कोहलीले ३३ रन बनाए।

कोरोनामुक्त भएता पनि बैंगलोरले नियमित ओपनर देभदत्त पडीक्कललाई अन्तिम-११ मा नराख्दा कप्तान बिराट कोहलीसँग वासिंगटन सुन्दर ओपनिंग गर्न आएका थिए। कोहलीसँग पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरेपछि सुन्दरलाई १० रनमा क्रुनल पांड्याले क्रिस लिनबाट क्याच आउट गराए। त्यसपछि ३ नम्बरमा ब्याटिंग गर्न आएका रजत पटिदारलाई ८ रनमा ट्रेन्ट बोल्टले बोल्ड गरे।

४६/२ को स्थितिबाट कोहलीले ग्लेन म्याक्स्वेलससँग ५२ रनको अर्धशतकीय साझेदारी गर्दै बैंगलोरको इनिंग्स उकासे। २९ बलमा ४ चौकाको मद्धतमा ३३ रन बनाएका कोहलीलाई जस्प्रित बुम्राहले १३ औं ओभरमा एलबीडब्ल्यु धरापमा पारे। १४ औं ओभरमा मार्को जान्सेनले २८ बलमा ३ चौका र २ छक्काको मद्धतमा ३९ रन बनाएर आक्रामक ब्याटिंग गरिरहेका म्याक्स्वेल र शाहबाज एहमदलाई १ रनमा आउट पार्दै मुम्बईलाई खेलमा फर्काए।

त्यसपछि ड्यानियल क्रिस्टियन १ रनमा आउट भएपछि एबि डी भिल्लीयर्सले कायल जेमिसनसँग ३० रनको साझेदारी गर्दै बैंगलोरलाई जिततर्फ उन्मुख पारे। ४ रन बनाएका जेमिसन १९ औं ओभरमा रन आउट हुन पुगे। एबि डी भिल्लीयर्सले २७ बलमा ४ चौका र २ छक्काको मद्धतमा ४८ रन बनाए।

बैंगलोरलाई जितका लागि अन्तिम २ ओभरमा १९ रनको आवश्यकता रहेको थियो। जस्प्रित बुम्राहले १९ औं ओभरमा २ चौकासहित १२ रन खर्चिएपछि बैगलोरलाई जितका लागि अन्तिम ओभरमा ७ रनको खाँचो रहेको थियो। मार्को जान्सेनले गरेको अन्तिम ओभरको पहिलो बलमा एबि डी भिल्लीयर्सले १ रन लिए। त्यसपछि क्रिजमा नयाँ आएका हर्षल पटेलले २ रन लिए। तेस्रो बलमा पटेलले १ रन लिंदै एबि डी भिल्लीयर्सलाई स्ट्राइक दिए। त्यसपछि चौथौं बलमा २ रन लिन खोज्दा एबि डी भिल्लीयर्स रन आउट हुन पुगे। बैंगलोरलाई जितका लागि अन्तिम २ बलमा २ रनको आवश्यकता रहँदा मोहम्मद सिराजले पाँचौ बलमा १ रन तथा अन्तिम बलमा हर्षल पटेलले १ रन लिंदै बैंगलोरलाई रोमान्चक जित दिलाए।

मुम्बईको बलिंगमा जस्प्रित बुम्राह (४-०-२६-२) र मार्को जान्सेनले (४-०-२८-२) समान २ तथा क्रुनाल पान्ड्या (४-०-२५-१) र  ट्रेन्ट बोल्टले (४-०-३६-१)  समान १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५९ रन बनाउँदै बैंगलोरलाई १६० रनको लक्ष्य प्रस्तुत गरेको छ। मुम्बईको ब्याटिंगमा ओपनर क्रिस लिनले सर्वाधिक ४९, सूर्यकुमार यादवले ३१, इशान किशनले ३१, कप्तान रोहित शर्माले १९ तथा हार्दिक पांड्याले १३ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। इनिंग्सको अन्तिम ५ ओभरमा मुम्बईले ३७ रन बनाउदा ६ विकेट गुमाउन पुगेको थियो।

मुम्बईका कप्तान तथा ओपनर रोहित शर्मा १९ रन बनाएर चौथो ओभरमा रन आउट भएपछि दोश्रो विकेटका लागि अर्का ओपनर क्रिस लिन र सुर्यकुमार यादवले ७० रनको साझेदारी गरे। २३ बलमा ४ चौका र १ छक्का मद्दतले ३१ रन बनाएका यादवलाई ११ औं ओभरमा कायल जेमीसनले विकेटकिपर डीभिल्लीयर्सबाट क्याच आउट गराए।

हर्षल पटेलले पाँच विकेट लिए

अर्धशतक बनाउन मात्र १ रनले चुक्दै क्रिस लिन १३ औं ओभरमा वासिंगटन सुन्दरबाट क्याच आउट भए। लिनले ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। १३ रन बनाएर हार्दिक पान्ड्या पनि १६ औं ओभरमा हर्षल पटेलबाट एलबिडब्लु आउट भए। १९ बलमा २ चौका र १ छक्का मद्दतले २८ रन बनाएर इशान किशन पनि पटेलबाट एलबिडब्लु आउट भए। पटेलले १८ औं ओभरमा मात्र ४ रन खर्चेर मुम्बईलाई दबाबमा राखे।

इनिंग्सको अन्तिम ओभरको पहिलो र दोश्रो बलमा पटेलले ७ रन बाएका क्रुनाल पान्ड्या र ७ रन बनाएका काईरन पोलार्डलाई क्याच आउट गराए। पटेल त्यतिमै सिमित भएनन् र चौथो बलमा खाता नखोली मार्को जान्सेनलाई क्याच आउट गराए।

बैंगलोरको बलिंगमा दायाँ हाते पेसर हर्षल पटेलले ५ विकेट लिए जुन क्रममा ४ ओभरमा २७ रन खर्चिए। पटेललाई यो सिजन बैंगलोरले टिममा भित्र्याएको हो जसले यस अघिको सिजन दिल्लीबाट खेलेका थिए। अन्क्याप्ट भारतीय खेलाडीले आईपीएलमा गरेको यो तेस्रो सर्वोत्कृष्ट बलिंग फिगर हो। यसअघि अंकित राजपुतले किंग्स-XI पन्जाबको प्रतिनिधित्व गर्दै २०१८ मा सनराइजर्स हैदरावादविरुद्ध १४ रन खर्चिएर ५ विकेट लिएका थिए भने गत सिजन कोलकाता नाइट राइडर्सको प्रतिनिधित्व गरेका बरुण चक्रवतीले दिल्ली क्यापिटल्सविरुद्ध २० रन खर्चिएर ५ विकेट लिएका थिए।

कायल जेमिसन ( ४-०-२७-१ ) र वासिंगटन सुन्दर ( १-०-७-१ ) ले समान १ विकेट लिए भने युजभेन्द्र चहल ( ४-०-४१-० ) र मोहम्मद सिराज ( ४-०-२२-० ) विकेटविहिन रहे।

लिग अन्तर्गत दोस्रो खेलमा भोलि (शनिबार) महेन्द्र सिंह धोनी कप्तानीको चेन्नई सुपर किंग्स र ऋषभ पन्त कप्तानीको दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समय अनुसार रातिको ७:४५ बजे मुम्बई स्थित वानखाड़े स्टेडियममा सुरु हुनेछ।





थप समाचार

द हन्ड्रेड : मोईन अलि कप्तानीको बर्मिंघम ३ विकेटले विजयी

इंग्ल्यान्डमा जारी ‘द हन्ड्रेड’ लिग अन्तर्गत गय राति सम्पन्न लिगको दोश्रो खेलमा मोईन अलि कप्तानीको बर्मिंघम फोनिक्सले ओएन मोर्गन कप्तानीको […]

श्रीलंकाद्वारा भारत ३ विकेटले पराजित

तेश्रो खेलमा भ्रमण टोलि भारतलाई ३ विकेटले पराजित गर्दै श्रीलंकाले सिरिजको सुखद अन्त्य गरेको छ। यस अघिनै भारतले अघिल्लो दुई […]

आमिर अख्तरलाई क्यानको जवाफ

पूर्व राष्ट्रिय क्रिकेटर तथा एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) का प्रवन्ध निर्देशक आमिर अख्तरले दुई दिन अघि नेपाल क्रिकेट […]

श्रीलंकाद्वारा भारत २२५ रनमै सिमित

भारतको श्रीलंका भ्रमण अन्तर्गत तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत तेश्रो खेल जारि रहेको छ। आर प्रेमदासा स्टेडियम कोलोम्बोमा टस […]

जिम्बाब्वेद्वारा बंगलादेश पराजित, सिरिज बराबरी

दोश्रो खेलमा बंगलादेशलाई पराजित गर्दै घरेलु टोलि जिम्बाब्वेले तिन खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज १-१ को बराबरी गरेको छ। हरारे स्पोर्ट्स […]

मधिभिरेको करियरकै उच्च स्कोर, जिम्बाब्वेद्वारा बंगलादेशलाई चुनौतीपूर्ण लक्ष्य

बंगलादेशको जिम्बाब्वे भ्रमण अन्तर्गत तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत दोश्रो खेल जित्न जिम्बाब्वेले बंगलादेशलाई १६७ रनको लक्ष्य प्रस्तुत गरेको […]