ठुलो किर्तिमान नजिक कोहली

इंग्ल्याण्डमा जारि आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत भारतले आइतबार पाकिस्तानसंग खेल्दैछ। विश्वकै चर्चित प्रतिद्धन्दी मानिने २ छिमेकि देशको प्रतिस्पर्धा विश्वभरका क्रिकेट समर्थकहरुले पर्खीरहेका छन्।

पाकिस्तानसंगको खेलमा भारतीय कप्तान बिराट कोहली ठुलो किर्तिमान नजिक पनि रहेका छन्।

कोहली एकदिवसीय अन्तर्रराष्ट्रियमा ११,००० रन पुरा गर्न मात्र ५७ रन मात्र टाढा रहेका छन्। ३१ वर्षीय कोहलीले २२९ एकदिवसीय खेल्दा २२१ इनिंगमा ब्याटिंग गर्दै ५९.४७ को शानदार औशतले कुल १०,९४३ रन बनाएका छन्।

कोहलीलाई पाकिस्तानसंग ५७ रन बनाउदै सचिन तेन्दुलकरले बनाएको सबैभन्दा छिटो ११,००० रन पुरा गर्ने ब्याट्सम्यानको १७ वर्ष पुरानो रेकर्ड तोड्ने मौका रहेको छ। सचिनले सन् २००२ जनवरीमा इंग्ल्याण्डसंग उक्त किर्तिमान बनाएका थिए।

सचिनले २७६ इनिंगमा ११,००० रन पुरा गरेका थिए भने कोहली सचिन भन्दा निकै चांडो अर्थात् २२१ इनिंग खेल्दानै यो रेकर्ड नजिक पुगेका हुन्।

कोहलीले गत वर्ष अक्टोबरमा वेस्ट इन्डिजसंग एकदिवसीय अन्तर्राष्ट्रियमा १०,००० रन पुरा गरेका थिए। सो क्रममा पनि उनले सचिन सबै भन्दा छिटो १०,००० रन बनाउने ब्याट्सम्यानको रेकर्ड तोड्दै २०५ इनिंगमा उक्त रन बनाएका थिए।

यदी कोहलीले ११,००० रन पुरा गरे यति रन पुरा गर्ने विश्वकै नवौं खेलाडी तथा तेश्रो भारतीय खेलाडी बन्नेछन्। भारतीय ब्याट्सम्यान मध्ये सचिन तेन्दुलकर र सौरभ गांगुलीले मात्र ११,००० रन पुरा गरेका छन्।

११,००० रन पुरा गर्ने  ब्याट्सम्यान मध्ये सचिन ( २७६ इनिंग ) पछि दोश्रो छिटो अस्ट्रेलियन पुर्व कप्तान रिकी पोंटिंग ( २८६ इनिंग ) छन्। यस्तै तेश्रो छिटो भारतीय पुर्व कप्तान सौरभ गांगुली ( २८८ इनिंग ) , चौथो छिटो दक्षिण अफ्रीकाका ज्याक कालिस ( २९३ इनिंग ) तथा पाँचौ छिटो श्रीलंकाका कुमार संगाकारा ( ३१८ इनिंग ) रहेका छन्।

एकदिवसीय अन्तर्राष्ट्रियमा १४ जना ब्याट्सम्यानले मात्र १०,००० रन माथि बनाएका छन्। सबैभन्दा धेरै सचिन तेन्दुलकरले १८,४२६ , कुमार संगाकाराले १४,२३४, रिकी पोंटिंगले १३,७०४, सनथ जयसुर्यले १३,४३०,  महेला जयवर्द्धनेले १२,६५०, इन्जमाम उल हकले ११,७३९, ज्याक कालिसले ११,५७९, सौरभ गांगुलीले ११,३६३, बिराट कोहलीले १०,९४३, राहुल द्रविडले १०,८८९, महेन्द्र सिंह धोनीले १०,५६१, ब्रायन लाराले १०,४०५,  तिलकरत्ने दिल्सानले १०,२९० तथा क्रिस गेलले १०,२५८ रन बनाएका छन्।

एकदिवसीय अन्तर्राष्ट्रियको वरियतामा पहिलो स्थानमा रहेका कोहलीले सन् २००८ मा श्रीलंका बिरुद्ध डेब्यु गरेका थिए।

११ वर्षमा कोहलीले २२९ ओडीआई खेल्दा ५९.४७ को औशत र ९२.९३ को स्ट्राइक रेटले १०,९४३ रन बनाएका हुन्। यस क्रममा दायाँ हाते ब्याट्सम्यानले ४१ शतक र ५० अर्धशतक प्रहार गरिसकेका छन्।

सचिन तेन्दुलकर पछि एकदिवसीयमा धेरै शतक बनाउने रेकर्ड पनि कोहलीकै नाममा रहेको छ। सचिनले ४९ शतक बनाएका थिए भने कोहली उनको रेकर्ड तोड्न अब मात्र ९ शतक टाढा रहेका छन्। ५० शतक बनाउने पहिलो ब्याट्सम्यान बन्ने समेत कोहलीको सम्भावना रहेको छ। कोहली पछि धेरै शतक बनाउनेमा तेश्रो नम्बरमा रहेका रिकी पोंटिंगको ३० शतक रहेको छ।

टेस्ट क्रिकेटमा कोहलीले ७७ खेलमा २५ शतक मदतले ६६१३ रन बनाईसकेका छन्। टि-२० अन्तर्राष्ट्रियमा उनले ६७ खेलमा २२६३ रन बनाएका छन् जसमा शतक सामेल छैन। क्रिकेटको ३ वटै फर्म्याटमा कोहलीको ब्याटिंग औशत ५० भन्दा बढी रहेको छ।

जारि विश्वकपमा कोहलीले दक्षिण अफ्रीकासंग १८ तथा अस्ट्रेलियासंग ८२ रन बनाएका थिए। न्युजिल्याण्डसंगको खेल भने वर्षाको कारण नतिजाविहिन रहेको थियो।