केपीएल : सनसनीपूर्ण खेलमा एपीएफ १ विकेटले पराजित : आर्मी फाइनलमा

  • विकेटनेपाल, बैशाख-२० शुक्रबार 

सुर्खेतमा जारि वाईवाई कर्णाली प्रिमियर लिगको फाइनलमा त्रिभूवन आर्मी क्लब र न्यु होराइजन बुटवलले प्रतिस्पर्धा गर्ने भएका छन्।

शुक्रबार सम्पन्न पहिलो सेमीफाइनलमा न्यु होराइजनले आयोजक कर्णाली-११ लाई ३ विकेटले तथा दोश्रो सेमीफाइनलमा आर्मीले एपीएफलाई रोमान्चक खेलमा १ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।

फाइनल खेल शनिवार सुर्खेत कालिन्चोक मैदानमा खेलिनेछ।

पहिलो खेल – शक्ति गौचनले उत्कृस्ट बलिंग गर्दा होराइजन बुटवलको जित 

दिनको पहिलो खेलमा आयोजक कर्णाली-११ लाई पराजित गर्दै न्यु होराइजन बुटवलले फाइनलमा स्थान सुरक्षित गर्यो।

शुक्रबार विहान सम्पन्न खेलमा शक्ति गौचन कप्तानीको होराइजन ३ विकेटले विजयी भएको हो। दोश्रो सेमीफाइनलमा आजै शशस्त्र प्रहरी बल ( एपीएफ ) र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन्।

शुक्रबार भएको वर्ष र हावाहुरीको कारण १३ ओभर प्रति/इनिंगमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको कर्णाली-११ ले ४ विकेट गुमाएर ६२ रनको योगफल तयार गरेको थियो।

Shakti Gauchan
Shakti Gauchan

कर्णाली-११ को लागि कृष्ण कार्कीले सर्वाधिक ३३ रन बनाए। पहिलो ३ विकेट रनमा गुमेपछि कार्कीले अन्तिममा आक्रामक ब्याटिंग गर्ने क्रममा ३१ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए। कृष्ण र लोकेस बमले चौथो विकेटको लागि ४५ रनको साझेदारी गरे।

होराइजनका बलर शक्ति गौचनले २ विकेट लिए। अत्यन्त किफायती बलिंग गरेका गौचनले ३ ओभरमा १ मेडन ओभर सहित ६ रन मात्र खर्चिए। यस्तै अखिलेश यादब ( २-०-९-१ ) र अर्जुन रायमाझी ( २-०-१७-१ ) ले १/१ विकेट लिए।

६३ रनको लक्ष्य होराइजन बुटवलले ११.५ ओभरमा ७ विकेट गुमाएर भेट्यो। जितमा शुबेन्दु पाण्डेले सर्वाधिक १८, निश्चल चौधरीले १०, बिशाल सुनारले अविजित १० तथा सुनिल धमलाले ८ रन बनाए।

किशोर महतोले कर्णाली-११ को लागि ३ विकेट ( २-०-१२-३ ) तथा प्रकाश जैसीले २ विकेट लिए पनि स्थानीय टिमलाई जित दिलाउन सकेनन्।

खेलको प्लेयर अफ द म्याच शक्ति गौचन चुनिए।

Shakti Gauchan

कर्णाली क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ तथा उप-बिजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्लेयर अफ द म्याच घोषित हुने खेलाडीले ३५०० रुपैयाँ तथा प्रतियोगितामा उत्कृस्ट घोषित हुने बलर र ब्याट्सम्यानले समान २०,००० र प्लेयर अफ द सिरिजले ५०,००० प्राप्त गर्नेछन्।

दोश्रो खेल – आर्मीको रोमान्चक १ विकेटको जित 

अत्यन्त रोमान्चक दोश्रो सेमीफाइनलमा त्रिभूवन आर्मी क्लबले एपीएफलाई १ विकेटको झिनो अन्तरले पराजित गर्यो।

खेलमा टस जितेर ब्याटिंग गरेको एपीएफले १८ ओभरमा सबै विकेट गुमाएर ८६ रन मात्रै बनाउन सकेको थियो। एपीएफको लागि शरद भेसावकरले सर्वाधिक ३० , भुवन कार्कीले १९, पुरन बिकले १३ र शंकर रानाले १२ रन बनाए। आर्मी बलर सोमपाल कामिले ३ ( ३-०-१०-३ ) , सुशन भारिले २ तथा जितेन्द्र मुखिया र साहब आलमले १/१ विकेट लिएका थिए।

Sharad Vesawkar

८७ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले १७.४ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। आर्मीको लागि सोमपाल कामिले सर्वाधिक ३१ तथा जितेन्द्र मुखिया र रोहित पौडेलले समान १२ रन योगदान दिए।

लक्ष्य पछ्याउने क्रममा आर्मीले पहिलो ६ विकेट ३४ रनको योगफलमै गुमाईसकेको थियो। राजु रिजाल २, बिनोद भण्डारी २ , हरि बहादुर चौहान ३, राजेश पुलामी १ तथा भिम शार्की ९ रन बनाएर आउट भएपछि आर्मी हारतर्फ अघि बढेको देखिएको थियो।

सातौँ विकेटको लागि कुशल मल्ल र सोमपाल कामिले २८ रनको साझेदारी गरे। कुशल ६ रन बनाएर आउट भए। त्यसपछि सुशन भारि खाता नखोली तथा सोमपाल कामि ३१ रन बनाएर आउट हुँदा आर्मीले ७३ रनमा आर्मीले ९ विकेट गुमाएको थियो। सोमपालले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

Sompal Kami

दशौँ विकेटको लागि जितेन्द्र मुखिया र साहब आलमले १५ रनको साझेदारी गर्दै टिमलाई रोमान्चक जित दिलाएका थिए। आलमले अविजित २ रन बनाए।

१८ औं ओभरको दोश्रो बलमा जितेन्द्र मुखियाले शरद भेसावकरको बलमा छक्का प्रहार गरेर टिमलाई जितको नजिक पुर्याएका थिए भने त्यसपछि ओभरको चौथो बलमा १ रन लिंदै आर्मीलाई जितसम्म पुर्याएका थिए ।

एपीएफको लागि कमल सिंह ऐरी र यज्ञमान कुमालले २/२ विकेट तथा अमर सिंह रौटेला, भुवन कार्की र शरद भेसावकरले १/१ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच सोमपाल कामि चुनिए। स्कोरकार्ड