IPL : जितपछि कोलकाता र पन्जाब प्ले-अफबाट कति नजिक



आईपीएल टि-२० अन्तर्गत शनिवार सम्पन्न खेलहरुमा कोलकाता नाइट राइडर्स र किंग्स-११ पन्जाबले जित दर्ता गरे। कोलकाताले दिल्लीलाई ५९ रनले तथा पन्जाबले हैदरावादलाई १२ रनले पराजित गर्यो। रोचक कुरा के छ भने हिजोको नतिजा पछि पनि अझै पनि कुनै पनि टिम अधिकारिक रुपमा न प्ले-अफ पुगेका छन् न कोहि बाहिरनै भएका छन्। असम्भव जस्तो भए पनि चेन्नाईको पनि गणितीय रुपमा सम्भावना बाँकीनै रहेको छ।

दिल्लीसंग कोलकातालाई पराजित गर्दै प्ले-अफ सुनिश्चित गर्ने मौका थियो जुन सम्भव रहन सकेन। कोलकाता र पन्जाबले जितपछि प्लेअफ सम्भावना थोरैले बलियो बनाएका छन् भने हैदरावाद र राजस्थानको मुस्किल बढेको छ। समान १४ अंक रहेका मुम्बई, दिल्ली र बैंगलोरलाई एउटा जितले प्लेअफ सुनिस्चित गराउनेछ भने अब १-१ खेलको हारले चेन्नाई र राजस्थानको सम्भावना सकिनेछ। शिर्ष-३ टिमले प्ले-अफ लगभग सुनिस्चित गर्दा चौथो नम्बरमा प्लेअफ पुग्ने टिमको दौडमा कोलकाता, पन्जाब र हैदरावाद रहेका छन् भने राजस्थान र चेन्नाईको सम्भावना कमजोर छ।

यस्तो छ सबै टिमहरुको प्ले-अफ पुग्ने समीकरण 

कोलकाता नाइट राइडर्स ( खेल ११ , अंक १२, नेट रन रेट -०.४७६ ) , बाँकी खेल : पन्जाब, चेन्नाई र राजस्थान

अंकतालिकामा कोलकाता ११ खेलमा ६ जित र ५ हार पछि १२ अंक बटुल्दै चौथो स्थानमा रहेको छ। मोर्गन कप्तानीको टिमले आगामी तिन वटै खेल जितेमा प्ले-अफ छनौट हुने पक्का हुने मात्र हैन शिर्ष-२ मै पर्ने सम्भावना रहेको छ।

कोलकाताले अब बाँकी ३ खेलमा सोमबार पन्जाब, बिहिबार चेन्नाई तथा आगामी साता आइतबार राजस्थान बिरुद्ध खेल्नेछ। बाँकी ३ खेल मध्ये २ खेल जितेमा पनि कोलकाता प्ले-अफ पुग्नेछ। पन्जाबसंग सोमबारको खेल जितेमा कोलकातालाई निकै सहज हुने देखिन्छ किनकि त्यसपछि चेन्नाई र राजस्थानसंग खेल्न बाँकी हुनेछ जुन तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी हो।

१ खेल मात्रै कोलकाताले जितेमा पनि कोलकाताको संभवाना रहन्छ। त्यसको लागि पन्जाबले बाँकी ३ खेलमा पन्जाबले एउटा मात्र तथा हैदरावाद र राजस्थानले २ वटा हारको कामना कोलकाताले गर्नुपर्छ।

दिल्ली क्यापिटल्स ( खेल : ११ , अंक १४ , नेट रन रेट +०.४३४ , बाँकी खेल : हैदरावाद, मुम्बई र बैंगलोर )

३ खेल खेल्न बाँकी रहेको अवस्थामा ११ खेलमा ७ जित र ४ हार पछि दिल्ली सहित दोश्रो स्थानमा कायमै छ। दिल्ली प्लेअफ पुग्न एउटा जित काफी छ। ३ खेलमा २ जित हात पारे दिल्लीको शिर्ष-२ स्थान पनि पक्का हुनेछ।

किंग्स-११ पन्जाब ( खेल : ११, अंक १० , नेट रन रेट -०.१०३ , बाँकी खेल : कोलकाता, राजस्थान र चेन्नाई )

पन्जाबले बाँकि ३ खेलनै जिते प्ले-अफ पुग्न सक्छ। अथवा ३ मध्ये २ खेल मात्रै जिते पनि सम्भावना त रहन्छ तर त्यसको लागि राम्रो नेट रन रेटमा खेल जित्नुपर्छ। २ खेल मात्र जितेको अवस्थामा पन्जाबले कोलकाता, हैदरावाद र राजस्थानको पनि १४ कट्नु हुँदैन। अंक बराबरी भएको अवस्थामा नेट रन रेट आउने हुँदा पन्जाबले आगामी खेल राम्रो नेट रन रेटमा जित्नु पर्ने देखिन्छ। आगामी खेलमा कोलकातासंग जित हात पार्न सके पन्जाबको प्ले-अफ यात्रा सहज हुन सक्छ। किनकि त्यसपछि पन्जाबको खेल तुलनात्मक रुपमा कमजोर राजस्थान र चेन्नाईसंग रहेको छ।

सनराइजर्स हैदरावाद ( खेल ११, अंक ८ , नेट रन रेट +०.०२९ , बाँकी खेल : दिल्ली, बैंगलोर र मुम्बई )

हैदरावादले प्लेअफ पुग्न बाँकी सबै खेल जित्नुपर्नेछ। त्यसो भएर १४ अंक भएको खण्डमा पनि १२ अंक भएको कोलकाता र १० अंक भएको पन्जाबको अंक पनि १४ पार हुनुहुँदैन। हैदरावादको नेट रन रेट कोलकाता र पन्जाबको भन्दा राम्रो रहेको हुँदा अंक बराबरी भए नेट रन रेटमा हैदरावादको सम्भावना राम्रो हुन्छ। तर हैदरावादको लागि प्ले-अफ यात्रा मुस्किल देखिन्छ किनकि हैदरावादको आगामी खेल लिगकै शिर्ष-३ बलियो टिम दिल्ली, बैंगलोर र मुम्बईसंग रहेको छ।

राजस्थान रोयल्स ( खेल ११ , अंक ८ , नेट रन रेट -०.६२० ) , बाँकी खेल : मुम्बई, पन्जाब र कोलकाता

राजस्थानको लागि पनि हैदरावादको जस्तै परिस्थिति रहेको छ जसले प्ले-अफ पुग्न ३ वटै खेलमा जित दर्ता गर्नुपर्नेछ। ३ वटै खेल जितेर १४ अंक भएको अवस्थामा राजस्थानले कोलकाता, पन्जाब र हैदरावाद १४ अंक पार नगरोस् या त्यो भन्दा कम अंक बटुल्न सकुन् भन्ने चाहन्छ। त्यसो भएको खण्डमा अंक बराबरी भएता पनि नेट रन रेटमा सम्भावना रहन्छ। त्यसैले अब राजस्थानलाई मुम्बई बिरुद्धको खेलमा जित अहम रहेको छ जसले सम्भावनाको ढोका खोल्न सक्छ। राजस्थानको अत्यन्त कमजोर नेट रन रेट भने प्ले-अफ पुग्न बाधा हुने देखिन्छ। अंक बराबरी भए नेट रन रेटमा फैसला हुने हुँदा राजस्थानलाई आगामी खेलहरुमा राम्रो नेट रन रेट पनि आवस्यक हुनेछ।

चेन्नाई सुपर किंग्स ( खेल ११ , अंक ६ , नेट रन रेट -०.७३३ ) , आगामी खेल : दिल्ली, बैंगलोर र मुम्बई

मुम्बईसंग पराजित भएपछि अंकतालिकामा पुछारमा ६ अंक सहित रहेको चेन्नाईको अझै पनि गणितीय रुपमा सम्भावना जीवित छ। यदी चेन्नाईले सबै ३ वटै खेल जित्ने हो भने उसको १२ अंक हुनेछ। र यदी दिल्ली, मुम्बई र बैंगलोर प्ले-अफ छनौट भएको खण्डमा चेन्नाईले अर्को टिमले पनि १२ अंक भन्दा बढी नबटुलोस् भन्ने कामना गर्नुपर्छ। अंक बराबरी भएको खण्डमा पनि नेट रन रेट अत्यन्त कमजोर रहेकोले चेन्नाईको सम्भावना अत्यन्त मुस्किल छ तर गणितीय रुपमा भने असम्भव भने छैन।

मुम्बई इन्डीएन्स ( खेल १० , अंक १४, नेट रन रेट +१.४४८ ) , आगामी खेल : राजस्थान, बैंगलोर, दिल्ली र हैदरावाद

चेन्नाई बिरुद्ध अघिल्लो खेलको १० विकेटको जितले मुम्बई प्लेअफमा पुग्ने निश्चित जसो छ। अंकतालिकामा १४ अंक सहित शिर्ष स्थानमा रहेको मुम्बईले अब मात्र एउटा खेल जिते प्ले-अफ पुग्ने अधिकारिक रुपमा पक्का हुन्छ। तर दिल्ली र बैंगलोर जस्तै जस्तै मुम्बई पनि शिर्ष-२ मा पुग्न चाहन्छ। अब १ जितले मुम्बई प्लेअफ पुग्छ भने २ जितले उत्कृस्ट-२ पुग्न सक्छ। मुम्बईको लय र टिम हेर्दा शिर्ष-२ पुग्न मुस्किल देखिन्न।

रोयल च्यालेन्जर्स बैंगलोर ( खेल १० , अंक १४  नेट रन रेट +०.१८२ )  , आगमी खेल : चेन्नाई, मुम्बई, हैदरावाद र दिल्ली

बैंगलोर १० खेलमा १४ अंक पछि तेश्रो स्थानमा रहेको छ जसलाई प्लेअफ पुग्न १ जित आवस्यक छ। इतिहासको प्रदर्शन हेर्दा प्ले-अफ पुग्नु बैंगलोरको लागि ठुलो उपलब्धि हुनेछ। बैगलोर पनि शिर्ष-२ प्रवेश गर्न चाहन्छ त्यसको लागि कम्तिमा २ खेलमा जित अत्यावश्यक छ। चेन्नाई र हैदरावाद जस्तो टिमसंग पनि खेल बाँकी रहेकोले बैंगलोरको त्यो सम्भावना पनि प्रवल छ।

लिग अन्तर्गत आइतबर बैंगलोर र चेन्नाई तथा मुम्बई र राजस्थान बीच प्रतिस्पर्धा हुँदैछ। बैंगलोर र मुम्बई विजयी भए प्ले-अफमा स्थान पक्का गर्नेछन्। आज पराजित भएको खण्डमा चेन्नाई र राजस्थानको सम्भावना अधिकारिक रुपमा समाप्त हुनेछ।

नाटकीय रुपमा विकेट पतन हुँदा लो-स्कोरिंग खेलमा पन्जाबद्वारा हैदरावाद पराजित

चक्रवर्तीले करियर र सिजनकै उत्कृस्ट बलिंग गर्दा दिल्ली विशाल अन्तरले पराजित

चेन्नाई बिरुद्ध बैंगलोरले हरियो जर्सी लगाएर खेल्ने, जान्नुस कारण

आईसीसीले राख्यो नेपालको क्रिकेट खेल्दै गरेको मनमोहक तस्विर