Home - लेख - यस्तो थियो – ऐतिहासिक खेलको अविस्मरणीय अन्तिम ओभर

लेख

यस्तो थियो – ऐतिहासिक खेलको अविस्मरणीय अन्तिम ओभर

Birat Raya
Administrator
Sharad Vesawkar
  • 144
  •  
  •  
  •  
  •  
  •  
    144
    Shares

२७ नोभेम्बर २०१३, सेख जायद स्टेडियम आबुधावी

टि-२० विश्वकप २०१४ को टिकट पक्का गर्ने सुनौलो मौका नेपाल सामु थियो त्यसैले नेपाल कुनै पनि चुक गर्ने पक्षमा थिएन । हंगकंग पनि नेपाललाइ जित सुम्पने पक्षमा थिएन । पहिलो इनिंगमा नेपालले राम्रो बलिङ्ग गरेपछि हंगकंगले मात्र १४३ रन बनायो। १४४ रनको लक्ष  निकै ठुलो त थिएन तर खेलको अन्तिम केहि ओभरमा महत्वपूर्ण ब्याट्सम्यानहरुले विकेट गुमाएपछि नेपाल निकै दबाबमा देखिएको थियो ,फलस्वरूप खेल अन्तिम ओभर सम्म पुग्यो । अन्तिम ओभरमा नेपाललाई जितको लागि १३ रन आवस्यक थियो , क्रिजमा थिए प्रदिप ऐरी र शरद भेसावकर ।

यस्तो थियो अन्तिम ओभर :-

पहिलो बल :- अन्तिम ओभर बलिङ्ग गर्न आए हंगकंग बलर हसिब अमजद । पहिलो बलमा शरद भेसावकरले चलाखीपूर्ण गरिएको सुस्त बललाई राम्रो आंकलन गरे र बललाई कुर्दै ठुलो शट खेले । बल बाउन्ड्री लाइनको दिशामा हावामा थियो, हंगकंग फिल्डर लंग-अन बाट दगुर्दै आइपुगे बलकै सामुन्ने । फिल्डरको हात बल सम्म पुग्यो तर उनले सन्तुलन बनाउन सकेनन l उनले बललाइ छक्का हुनबाट जोगाउन खोजे र हावामै बललाई बाउन्ड्री भित्रको दिशा दिए तर प्रयास असफल हुनपुग्यो । छक्का !! पहिलो बलमा शरदको ब्याटबाट ६ रन आएपछि अब नेपाललाई जितको लागि ५ बलमा मात्र ७ रन आवस्यक ।

दोश्रो बल :- फुलटस बल, शरद बललाई मिडविकेटमा खेल्न चाहन्थे तर बलको गतिले उनको साथ दिएन, उनको ब्याटको भित्रि किनारा लिंदै बल फाइनलेगको दिशामा गयो । फिल्डर थिए सर्ट-स्क्वायर लेगमा उनले बललाई पछ्याए तर बलको गति फिल्डर भन्दा निकै तेज थियो ।
चौका !! दोश्रो बलमा शरदले चार रन प्रहार गरे । अब जितको लागि ४ बल मात्र ३ रन ।

तेश्रो बल :- पहिलो बलको छक्का, दोश्रो बलको चौकाले नेपाली दर्शक र मैदानका समर्थकहरु निकै खुसि थिए र जित नेपालकै हुनेमा ढुक्क । टिभी स्क्रिनमा खेलाडी र दर्शकहरुको खुसि निकै रोमान्चक देखिन्थ्यो । तेश्रो बलमा शरदले कडा प्रहर गरे तर बल मिड-अफ फिल्डर भन्दा अगाडी जान सकेन । १ रन त्यतिबेला सम्म नेपालको खातामा जोडीईसकेको थियो l अब जितको लागि ३ बलमा २ रन, प्रदिप ऐरी स्ट्राइकमा।

चौथो बल :- योरकर, प्रदिप ऐरी अन-साईडमा खेल्न चाहन्थे, बल छुन असफल । बल विकेट किपर तिर, १ रनको लागि प्रदिपले शरदलाई आग्रह गरे तर शरदले अस्विकार गरे । डट ! बल । अब जितको लागि २ बलमा २ रन 

पाँचौं बल :- नेपाली खेलाडीहरु र प्रदिप ऐरीको तनाब टिभी स्क्रिनमा मजैले देख्न सकिन्थ्यो । हंगकंग कप्तान नेपाली ब्याट्सम्यानहरुमा दबाब बनाउन चाहन्थे, फिल्डरहरु झम्टीउला झैँ गरि सिकारको लागि ब्याट्सम्यानको वरीपरि तैनाथ थिए ।

योरकर ! बल, १३५ किमि/घण्टाको गतिमा प्रदिपको खुट्टामा, निकै राम्रो बलिङ्ग । पुनः प्रदिप बललाई राम्रो प्रहार गर्न असफल तर अर्को पट्टि शरद दौडीसकेका थिए, प्रदीपले पनि आँखाको इशारा बुझीहाले दौडे रनको लागि । फिल्डरहरु चारैतिर थिए तर बल भेटुन्जेल शरद र प्रदिप सुरक्षित क्रिजमा पुगीसकेका थिए । तर १ रन भन्दा बढी लिन कहाँ पाए र ?

अब १ बल बाँकी स्कोर बराबर र जितको लागि मात्र १ रन।l शरद भेसावकर स्ट्राईकमा।

छैठौ र अन्तिम बल :- शरद र प्रदिप मैदानको बीचमा सल्लाह गर्दै थिए । हंगकंग खेलाडीहरु फिल्डरलाई अन्तिम प्रहारको लागि तयार हुन निर्देशन दिंदै थिए । आबुदाबि, सेख जायद मैदानमा उपस्थित दर्शकहरुको ढुकढुकी ! नेपालसम्मै सुनिन्थ्यो । दबाबलेनै होला दर्शकहरु उफ्रिरहेका थिए । टिभी स्क्रिनमा थिए सुबाश खकुरेल जसले दुबै हातका औलाहरु बेरीरहेका थिए । अनिश्चितता नेपाली खेलाडीहरुको अनुहारमा प्रस्ट थियो । आखिर जहाँ गएपनि भगवान कहाँ भुल्छन र ? एक दर्शक दुई हात जोडी आत्मसमर्पण गरे जस्तै भावमा सायद उनैलाई याद गर्दैथिए ।

आखिर कति बेर रहन्थ्यो र प्रतिक्षा ? अन्तिम बल गर्न हंगकंग बलर अमजद दगुरे शरद भेसावकर तर्फ ।

शरदको स्कोर र हंगकंग बलरको जर्सीको नम्बर एउटै थियो ‘१२’ । दुवैको धड्कनको गतिपनि सायद समाननै थियो । प्रदिपको जर्सी नम्बर थियो ‘२४’ सायद उनको मुटुको चाल शरदको भन्दा दोब्बर थियो कि ?

नेपालको स्कोर १४३/५, जितको लागि १ रन र अन्तिम बल फाल्न क्रिजमै पुगीसकेका थिए बलर ।

सिल्ली मिडअनमा फिलडर तैनाथ थिए, दुई हात घुंडामा राखी खुट्टा फ्याँ ! गरि डस्न तयार भएको शांप जसरि उनि तम्तयार थिए । बलरले बल छोड्नु भन्दा अगाडीनै प्रदिपले क्रिज छोडीसकेका थिए, १ रनत जसरि पनि लिनै पर्ने परिस्थिति ।

सट-मिड अफ, सिल्ली मिड-अफ, फिल्डर अफसाईडमा तयार थिए, मात्रै बाँकी थियो महाभारतको जस्तो संख फुकेको र ‘आक्रमण’ भनेको सुन्न ।

यसैबीच अमजदको यो बल, शरदले बाघले सिकारमा झम्टन खोजे जसरि सुस्त-सुस्त खुट्टा बल तर्फ़ अगाडी बढाए । १३३ किमि/घण्टाको गतिले फालेको हल्का अफस्टम्प भन्दा बाहिरको बललाई अफसाइडमा ड्राईभ गरे । फिल्डर नजिकै थिए सिल्ली मिडअफमा र बल उनकै ठाउँमा पुग्यो, उनले डाईभ गरे । न्वारनकै बल लगाएका थिए शरदले, फिल्डरले बललाई नियन्त्रणमा लिन सकेनन् । बल हातबाट फुस्क्यो र लाग्यो लंगअफ तिर । क्यामराले बललाई पछ्यायो तर हंगकंग फिल्डरले बललाई पछ्याएनन् ।

टिभी स्क्रिनमा सुबास खकुरेल दौडदै थिए, हातमा ब्याटलिएर मैदान तर्फ, पारस खड्का अंगालोमा बेरिएका थिए । प्रदिप ऐरी आकाशमा हेर्दै सायद सोच्दै थिए यो उनैको कृपा हो । दर्शकहरु उफ्रिरहेका थिए, खुट्टा मात्रै हैन दुई हात आकासमा समर्पित गरेर, संसार जिते जस्तो l

मैदानको बीचमा हुलमुल देखियो, एकतर्फ अंगालोमा बेरिएकाहरु देखिन्थे भने अर्को तर्फ निराश अनुहारहरु नचाहेर पनि त्यहाँ उभिएका जस्ता । नेपालको झन्डा फहरिरहेको थियो, ‘रातो र चन्द्र सुर्य’ , सम्पूर्ण विश्वले त्यसैलाई हेरिरहेका थिए, निकै मक्ख थियो, संगै नाचिरहेको थियो । हंगकंग खेलाडी अनुहारलाई छोपिरहेको दृश्य भावुक थियो ।

लगत्तै टिभी स्क्रिनमा एकजना मन्दमुस्कान र छाति चौडा पारेर मस्त जंगलको सिंह जसरि हिडिरहेका पुबुदु दासानायके देखिए । तल स्क्रिनमा लेखिएको थियो  “नेपाल द्वारा हंगकंग ५ विकेटले पराजित , नेपाल टी-२० विश्वकप २०१४ को लागि छनौट”

 


  • 144
  •  
  •  
  •  
  •  
  •  
    144
    Shares