मलाई टिमबाट षडयन्त्रपुर्वक निकालियो – शहजाद

घुंडाको चोटको कारण देखाउदै जारि विश्वकपमा अफगानिस्तान टिमबाट बाहिरिएका स्टार अफगानिस्तान विकेटकिपर ब्याट्सम्यान मोहम्मद शहजादले आफु फिट रहेको र अफगानिस्तान क्रिकेट बोर्डले आफु माथि अन्याय गरेको बताएका छन्।

“मलाई अझै पनि थाहा छैन कि मलाई किन अनफिट भनियो जबकी म खेल्नको लागि फिट थिए। अफगानिस्तान क्रिकेट बोर्डका केहि व्यक्तिहरुले म बिरुद्ध षडयन्त्र गरेका छन्” शहजादले पीटिआईलाई बताएका छन्।

“मात्र टिम म्यानेजर, डाक्टर र कप्तानलाई थाहा थियो कि म निकालिदै छु। प्रशिक्षक फिल सिमोन्सलाई समेत पछि मात्र थाहा भयो। यो निकै पिंडादायी थियो ।”

“न्युजिल्याण्डसंगको खेलको लागि मैले अभ्यास सकाएको थिए जसपछि मैले मेरो फोन हेरे र थाहा पाए कि म विश्वकप टिमबाट घुंडाको चोटको कारण निकालिएको छु। म जस्तै बसमा रहेका कुनै पनि खेलाडीहरुलाई यो बारे थाहा थिएन त्यसैले सबै अस्चार्यमा थिए”

अफगानिस्तान क्रिकेट बोर्डका सीईओ असदुल्लाह खानले शहजादले लगाएको आरोपलाई झुटो भन्दै शहजाद अनफिट हुँदाहुँदै टिममा राख्न नसकिने बताएका छन्।

“उनि जे भन्दैछन् त्यो बिल्कुल गलत हो। आईसीसीलाई मेडिकल रिपोर्ट पठाईएको छ जसपछि बल्ल उनको प्रतिस्थापन गरिएको हो। अनफिट खेलाडीलाई राखेर टिम पुरा गर्न सकिन्न।”

“म बुझ्छु कि शहजाद विश्वकप टिमबाट बाहिरिनुपर्दा उनि पक्कै निराश छन् तर टिमले उनको फिटनेसमा समझदारी गर्न सक्दैन” खानले बताए।

शहजाद विश्वकप अघि पाकिस्तानसंगको अभ्यास खेलमा घाइते भएका थिए जसपछि पनि उनले विश्वकपको २ वटा खेल खेलेका थिए जसमा उनि ० र ७ रन बनाएर आउट भएका थिए। तथापी ३२ वर्षीय खेलाडीले आफुलाई गरेको व्यवहार प्रति आश्चर्य व्यक्त गरेका छन्।

“म संग घुंडाको समस्या थियो केहि समयको लागि तर सामान्य आइसिंग गरेपछि म अहिले ठिक छु। पाकिस्तानसंगको अभ्यास खेल पछि मैले राम्रोसंग आराम ए जसपछि म खेल्नको लागि फिट थिए र पहिलो २ खेल पनि खेले। म न्युजिल्याण्डसंगको खेल खेल्नको लागि तयार थिए जति बेलासम्म मलाई म्यानेजरबाट त्यो अस्चार्यजनक समाचार आयो”

“एक्कासी मलाई प्रतिस्थापन गरियो र मलाई थाहा पनि दिईएन। कुनै सिनियर खेलाडी माथि गरिने यो व्यवहार सहि हैन। अहिले अफगानिस्तान क्रिकेट बोर्डले म जस्ता अन्य सिनियर खेलाडीहरुसंग पनि यस्तै व्यवहार गर्दै छ।”

जारि विश्वकपमा अफगानिस्तानले खेलेको ३ वटै खेलमा हार बेहोरेको छ। यस क्रममा अस्ट्रेलियासंग ७ विकेटले, श्रीलंकासंग ३४ रनले तथा न्युजिल्याण्डसंग ७ विकेटले पराजित हुन पुगेको थियो ।

अफगानिस्तानका अनुभवी ब्याट्सम्यानले विश्वकपमा अफगानिस्तानलाई छनौट गराउन महत्वपूर्ण इनिंग खेलेका थिए। उनले आयरल्याण्ड बिरुद्ध सुपर सिक्स म्याचमा ५४ रन बनाएका थिए जुन खेलले अफगानिस्तानको विश्वकपमा स्थान पक्का गरेको थियो। उनले फाइनलमा वेस्ट इन्डिजसंग फाइनलमा ८४  बनाएका थिए।

सन् २०१५ एकदिवसीय विश्वकपमा पनि शहजादलाई यस्तै विवादास्पद कारणले टिमबाट निकालिएको थियो।

सन् २००९ मा अफगानिस्तानको लागि एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका शहजादले कुल ८४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै ६ शतक र १४ अर्धशतक मदतले २,७२७ रन बनाएका छन्।

शहजादको सट्टा देब्रे हाते विकेटकिपर ब्याट्सम्यान इक्रम अलि खिललाई प्रतिस्थापन विकेटकिपरको रुपमा टिममा ल्याईएको छ।