दविड मलानले शानदार ब्याटिंग गर्दा तेश्रो टि-२० मा दक्षिण अफ्रीकालाई ९ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सिरिज क्लिन स्विप गरेको छ।केपटाउनमा सम्पन्न खेलमा दक्षिण अफ्रीकाले दिएको १९२ रनको लक्ष्य भ्रमण टोलिले मात्र १ विकेट गुमाएर १७.४ ओभरमै पुरा गर्यो।
इंग्ल्यान्डको जितमा दविड मलानले शानदार ब्याटिंग ९९ रन बनाए। मात्र ४७ बलमा उनले ११ चौका र ५ छक्का प्रहार गरे। जोस बटलरले ४६ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६७ रन बनाए।
ओपनर जेसन रोय १६ रन बनाएर चौथो ओभरमा आउट भएपछि बटलर र मलानले दोश्रो विकेटको लागि १६७ रनको अविजित साझेदारी गर्दै जितसम्म पुर्याए।
१६७ रनको साझेदारी दोश्रो विकेटको लागि टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठूलो साझेदारी हो। यस अघि यो रेकर्ड श्रीलंकाका महेला जयवर्द्धने र कुमार संगाकाराको नाममा रहेको थियो जसले वेस्टइन्डिज बिरुद्ध २०१० मा दोश्रो विकेटको लागि १६६ रन जोडेका थिए।
दक्षिण अफ्रीकाको बलिंगमा एनरिक नोर्कियाले ( ४-०-३७-१ ) एक मात्र विकेट प्राप्त गरे।

यस अघि टस जितेर ब्याटिंग गरेको घरेलु टिमले ३ विकेट गुमाएर १९१ रन बनाएको थियो। उसको लागि भान डर डुसेनले मात्र ३२ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक ७४ रन तथा फाफ डु प्लेसीले ३७ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५२ रन बनाए। ओपनर क्विन्टन डीकक र बभुमा १७ र ३२ तथा रेजा हेन्डरिक्स १३ रन बनाएर आउट भएका थिए।
६४/३ को अवस्थाबाट डुप्लेसी र डुसेनले अविजित १२७ रनको अविजित साझेदारी गरेका थिए। यो साझेदारी टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रीकाको लागि चौथो विकेटको सर्वाधिक साझेदारी हो भने समग्रमा टि-२० अन्तर्राष्ट्रिय क्रिकेटकै चौथो विकेटको लागि दोश्रो ठुलो साझेदारी हो। चौथो विकेटको लागि सबैभन्दा धेरै डेभिड वार्नर र ग्लेन म्याक्सवेलले २०१६ मा दक्षिण अफ्रीका बिरुद्ध १६१ रनको साझेदारी गरेका थिए।
इंग्ल्यान्डको बलिंगमा बेन स्टोक्सले २ ( ३-०-२६-२ ) र क्रिस जोर्डनले १ ( ४-०-४२-१ ) विकेट लिए।
प्लेयर अफ द म्याच तथा प्लेयर अफ द सिरिज दविड मलान घोषित भए। नम्बर-१ टि-२० ब्याट्सम्यान मलान दोश्रो टि-२० मा पनि प्लेयर अफ द म्याच चुनिएका थिए जुन खेलमा ५५ रन बनाएका थिए।
सिरिज अन्तर्गत इंग्ल्यान्डले पहिलो खेल ५ विकेटले तथा दोश्रो खेल ४ विकेटले जितेको थियो। डिसेम्बर ४ देखि दुइ टिम बीच तिनवटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज सुरु हुनेछ। डिसेम्बर ४, ६ र ९ तारिखमा तिन वटा खेल हुनेछन्।