राजस्थान रोयल्सलाई सहजै ५७ रनले पराजित गर्दै रोहित शर्मा कप्तानीको मुम्बई इन्डीएन्स आईपीएल अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ। ( अंकतालिका सबैभन्दा तल )
लिगमा राजस्थानको यो लगातार तेश्रो हार हो। पहिलो २ खेलमा चेन्नाई र पन्जाबलाई पराजित गरेपछि अघिल्लो २ खेलमा कोलकाता र बैंगलोरसंग राजस्थान पराजित भएको थियो। मुम्बईको भने यो लगातार तेश्रो जित हो। यस अघि मुम्बईले बैंगलोर र पन्जाबलाई पराजित गरेको थियो।
शेख जायद, अबुधाबीमा सम्पन्न आईपीएल २०२० अन्तर्गत २० औं खेलमा मुम्बईले दिएको १९४ रनको लक्ष्य पछ्याएको स्टिभ स्मिथ कप्तानीको राजस्थानले १८.१ ओभरमा सबै विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो।
राजस्थानको ब्याटिंगमा ओपनर जोस बटलरले सर्वाधिक ७० रन बनाएता पनि अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन नगर्नु हारको कारण बन्यो। लिगमा पहिलो अर्धशतक बनाएका बटलरले ४४ बलमा ४ चौका र ५ छक्का हिर्काए।

खराब सुरुवात गरेको राजस्थानले पहिलो ३ विकेट १२ रनको योगफलमै गुमाउन पुगेको थियो। खाता नखोली पहिलो ओभरमै यसस्वी जैसवाललाई ट्रेन्ट बोल्टले विकेटकिपर डीककबाट क्याच आउट गराउदै विकेटपतनको सुरुवात गरे। त्यसपछि दोश्रो ओभरमा कप्तान स्मिथलाई ( ६ रन ) जस्प्रित बुम्राहले डीककबाट क्याच आउट गराए। लगत्तै ओभरमा बोल्टले खाता नखोल्दै सन्जु स्यामसनलाई क्याच आउट गराए।
त्यसपछि बटलरले एक किनार सम्हाले पनि अर्को किनारमा विकेटको शिलशिला थामिएन। अघिल्लो खेलमा अर्धशतक बनाएका महिपाल लोमरोर ( ११ ) लाई राहुल चाहरले पेभेलियन फर्काए। १४ औं ओभरमा बटलरलाई प्याटिन्सनले पोलार्डबाट क्याच आउट गराउदै खेलमा हावी गराए। टम करन ( १५ ) लाई पोलार्ड र राहुल तेवतिया ( ५ ) लाई बुम्राहले पेभेलियन फर्काए। जोफ्रा आर्चरले अन्तिममा ११ बलमा ३ चौका र १ छक्का मद्दतले २४ रन बनाए पनि जितको लागि पर्याप्त थिएन।
मुम्बईको बलिंगमा जस्प्रित बुम्राहले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २० रन खर्चिए। जारि लिगमा यो सबैभन्दा उत्कृस्ट स्पेल हो भने लिग करियरमा बुम्राहको यो उत्कृस्ट स्पेल हो। बुम्राहले यस अघि लिगमा ४ विकेट लिएका थिएनन्। उनले २०१७ मा कोलकाता बिरुद्ध ७ रन खर्चेर लिएको ३ विकेट सबैभन्दा उत्कृस्ट स्पेल थियो। यो सिजन एकै इनिंगमा ४ विकेट कुनै पनि बलरले लिएको यो दोश्रो पटक हो। अघिल्लो खेलमा दिल्ली पेसर कागीसो रबाडाले बैंगलोर बिरुद्ध ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिएका थिए।

अर्का पेसर जेम्स प्याटिन्सन ( ३.१-०-१९-२ ) र ट्रेन्ट बोल्टले ( ४-०-२६-२ ) विकेट लिंदा राहुल चाहर ( ३-०-२४-१ ) र काइरन पोलार्ड ( २-०-२४-१ ) ले १/१ विकेट लिए।
सुर्यकुमारको उत्कृस्ट इनिंग
खेलमा टस जितेर ब्याटिंग रोजेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९३ रन बनाएको थियो।
मुम्बईको लागि प्लेयर अफ द म्याच चुनिएका सुर्यकुमार यादबले सर्वाधिक अविजित ७९ रन बनाए। उनले ४७ बलमा ११ चौका र २ छक्का प्रहार गरे। लिगमा ९१ औं खेल खेलीरहेका दायाँ हाते ब्याट्सम्यान यादबको यो आठौँ अर्धशतक हो भने सर्वाधिक व्यक्तिगत स्कोर समेत हो। यस अघि उनले २०१८ मा राजस्थान बिरुद्धनै ७२ रन बनाएका थिए।
कप्तान रोहित शर्माले २३ बलमा ३५ ( २ चौका र ३ छक्का ) , हार्दिक पान्ड्याले १९ बलमा अविजित ३० ( २ चौका र १ छक्का ) तथा क्विन्टन डीककले १५ बलमा २३ ( ३ चौका र १ छक्का ) बनाए।

ओपनर डीकक र रोहितले पहिलो विकेटको लागि ४९ रनको साझेदारी गरे। डीककलाई पाँचौ ओभरमा कार्तिक त्यागिले विकेटकिपर बटलरले क्याच आउट गराएपछि मुम्बईले निरन्तर अन्तरालमा विकेट गुमायो। दशौँ ओभरमा रोहित शर्मा र इशान किशनलाई लगातार बलमा श्रेयस गोपालले क्याच आउट गराए। त्यसपछि १७ बलमा १२ रन बनाएर क्रुनाल पान्ड्या जोफ्रा आर्चरबाट क्याच आउट भए।
तेश्रो नम्बरमा ब्याटिंग गर्न आएका यादबले त्यसपछि हार्दिक पान्ड्यासंग पाँचौ विकेटको लागि ३८ बलमा ७५ रनको अविजित साझेदारी गरे।
राजस्थानको बलिंगमा लेग स्पिनर श्रेयस गोपालले सर्वाधिक २ विकेट ( ४-०-२८-२ ) लिए। जोफ्रा आर्चरले ( ४-०-३४-१ ) र डेब्यु गरिरहेका फास्ट बलर कार्तिक त्यागिले ( ४-०-३६-१ ) समान १ विकेट लिए। टम करन ( ३-०-३३-० ), राहुल तेवतिया ( २-०-१३-० ) र अंकित राजपुत ( ३-०-४२-० ) विकेटविहिन रहे।
अंकतालिका र आगामी खेल
छैठौं खेल खेल्दा चौथो जित पछि मुम्बई ८ अंक बटुल्दै नेटरन रेटमा दिल्लीलाई पछि पारेर अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ। दिल्लीको ५ खेलमा ४ जित र १ हार पछि ८ अंकरहेको छ र नेट रन रेटमा मुम्बई भन्दा पछि रहेको छ।
हारपछि ५ खेलमा तेश्रो हार पछि ४ अंक रहेको राजस्थान सातौँ स्थानमा झरेको छ। समान ४ अंक रहेता पनि कोलकाता, चेन्नाई र हैदरावाद क्रमशः चौथो, पाँचौ र छैठौं स्थानमा रहेको छ।
लिग अन्तर्गत मुम्बईले आगामी खेल आइतबार दिल्ली क्यापिटल्ससंग। राजस्थानले पनि दिल्लीसंगनै शुक्रबार खेल्ने तालिका रहेको छ। भोलि बुधबार कोलकाता नाइट राइडर्स र चेन्नाई सुपर किंग्सले प्रतिस्पर्धा गर्नेछन्।
‘युनिभर्स बोस’ गेलले कहिले पाउनेछन् मौका ? ब्याटिंग प्रशिक्षक जाफरले दिए अपडेट
क्यानको साधारणसभा भर्चुअल हुने
प्रशिक्षक पोन्टिङले बताए पृथ्वी शको आक्रामक लयको कारण
को हुन् भुवनेश्वरलाई प्रतिस्थापन गर्ने बलर जसले गत सिजन वार्नरको विकेट लिएका थिए
लिगबाटै बाहिरिएका अमित मिश्राको प्रतिक्रिया – “सोचेकै थिईन, चोट यति गम्भीर हुनेछ”