पिपिएलमा सानदार प्रदर्शन गरेका युएईका मोहम्मद नावेद इपिएल खेल्ने



(फिचर फोटो: क्रिकइन्फो)

  • विकेटनेपाल, मङ्सिर ४ – मंगलबार

संयुक्त अरब इमिरेट्स (युएई) का तिब्र गतिका बलर मोहम्मद नावेद एभरेष्ट प्रिमियर लिग (ईपिएल टि-२०) प्रतियोगिताको तेस्रो संस्करणको लागि नेपाल आउने भएछन्।

यहि मङ्सिर २२ गतेदेखि काठमाडौंमा सुरु हुने प्रतियोगिताको प्रत्येक टिममा ३ बिदेशी खेलाडी हुनैपर्ने नियम रहेको छ।

पीपीएलमा शरद भेसावकर कप्तानीको पोखरा राइनोजबाट खेल्दै उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएका नावेदलाई इपिएलमा पनि शरद भेसावकरकै कप्तानीको टिम भैरहवा ग्लाडीएटर्सले अनुबन्ध गरेको हो।

तिब्र गतिको बलिंगको साथै आक्रामक ब्याटिंग गर्न सक्ने नावेदले आफ्नो देशको लागि अहिलेसम्म ३२ एकदिवसीय अन्तर्राष्ट्रिय र २३ टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलेका छन्। उनको नाममा ३३९ रन र ४५ एकदिवसीय विकेट रहेका छन् भने १६४ रन र २९ टी-ट्वान्टी अन्तर्राष्ट्रिय विकेट रहेका छन्।

पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत पोखरा पल्टनमा आबद्द भएका उनले पोखरालाई उपाधी दिलाउन महत्त्वपूर्ण योगदान दिएका थिए। उक्त प्रतियोगितामा नाविदले ५ खेलको ४ इनिंगमा ब्याटिंग गर्दै आक्रामक १९७.६१ को स्ट्राइक रेटमा ८३ रन बनाएका थिए। बलिंगतर्फ टिमका लागि दोश्रो सर्बाधिक ७ विकेट लिएका उनले किफायती बलिंग गर्दै ४.४५ को इकोनोमी कायम गरेका थिए।

पिपिएल अन्तर्गत फाइनलमा नावेदले पारस खड्काको चितवन राइनोज बिरुद्द ४ ओभर बलिंग गर्दै मात्र १८ रन खर्चेर १ विकेट लिएका थिए। ब्याटिंगतर्फ लड़खडाएको ब्याटिंगलाई सम्हाल्न २५ रनको पारि खेल्नेक्रममा १४ बलमा १ चौका र ३ छक्का प्रहार गरेका थिए।

यस्तै लिग चरणको अन्तिम खेलमा पोखरालाई सिधै फाइनल पुग्न थोरै ओभरमा जित्नु पर्ने अवस्थामा काठमाडौँ रोयल्स बिरुद्ध ५ छक्का मद्दतले १५ बलमा ३६ रन बनाएपछि नेट-रन रेटमा अघि रहँदै पोखरा फाइनल पुगेको थियो। उक्त खेलमा बलिङ्गमा पनि उनले २ विकेट ( ४-०-११-२ ) लिएका थिए।

Mohammad Naveed
Mohammad Naveed ( Photo – Pokhara Paltan FB )

भैरहवा ग्लाडीएटर्समा कप्तान तथा मार्की खेलाडी शरद भेसावकर रहेका छन् भने आरिफ शेख , प्रदिप ऐरि, भुवन कार्की, रोहित पौडेल, कृष्ण कार्की, हरिशंकर शाह जस्ता खेलाडीहरु रहेका छन्। गत सिजन भैरहवाको बिदेशी खेलाडीको रुपमा पुनित मिश्रा र प्रथम सालुङ्के खेलेका थिए जो यो पटक खेल्ने न खेल्ने घोषणा भएको छैन।

गत सिजन इपिएल फाइनलमा भैरहवालाई पारस खड्का कप्तानीको टिम बिराटनगर वारियर्सले १ रनले पराजित गर्दै उपाधि जितेको थियो। बिराटनगरले दिएको १५० रनको लक्ष्य पछ्याउने क्रममा अन्तिम ओभरमा जितको लागि ९ रन आवस्यक हुँदा अनिल साहले गरेको ओभरमा ३ विकेट झर्न पुग्दा उपाधि जित्न बन्चित भैरहवा भएको थियो। त्यसैको बदला लिंदै पिपिएलको फाइनलमा शरदको टिम पोखरा पल्टनले पारसको चितवन राइनोजलाई अन्तिम ओभरसम्म पुगेको खेलमा ३ विकेटले पराजित गर्दै उपाधि जितेको थियो।

एभरेष्ट प्रिमियर लिग (इपिएल) मङ्सिर २२ गते देखि सुरु भइ फाइनल खेल पौष ७ गते ( डिसेम्बर ८ – डिसेम्बर २२ ) खेलिनेछ। कुल १५ दिन संचालन हुने प्रतियोगितामा २ दिन ( मङ्सिर २७ गते र पौष ६ गते ) बाहेक सम्पूर्ण दिन खेलहरु संचलान हुनेछन्।

प्रतियोगितामा अघिल्लो संस्करण जस्तै शिर्ष दुईमा पर्ने टोलीले पहिलो क्वालिफायर खेल खेल्नेछन् र बिजेता टोलि सिधै फाइनल प्रवेश गर्नेछ। यस्तै पराजित टोलीले भने दोस्रो क्वालिफायरमा लिग चरणको तेस्रो र चौथो टोलि बिचको एलिमिनेटर खेलको बिजेतासंग फाइनल प्रवेशका लागि खेल्नेछ।

एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्स ११, भैरहवा ग्लाडीएटर्स, बिराटनगर वारियर्स, पोखरा राइनोज, ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्स गरि ६ टोलीको सहभागिता रहनेछ।

केहि दिनअघि प्रतियोगिताले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट मान्यता समेत पाएको थियो। आईसीसीलाई मान्यता वापत २० हजार डलर लिग आयोजकले तिरेको र आवस्यक पर्ने सबै दस्ताबेजहरु समेत पठाएपछि आईसीसीले मान्यता दिएको आयोजकले जानकारी गराएको थियो।

इपिएलमा टेस्ट राष्ट्र आयरल्यान्डका चर्चित खेलाडी केभिन ओ ब्रायन, हंगकंग खेलाडी बाबर हायात, स्कटल्याण्डका केल कोट्जर तथा इंग्ल्याण्ड यु-१९ क्रिकेटर जोन सिम्पसन जस्ता खेलाडीहरुले एभरेस्ट प्रिमियर लिगमा बिभिन्न टिमहरुको प्रतिनिधित्व गर्नेछन्। गत बर्ष फर्भेज महरुफ़, आसिफ अलि, बाबर हायात, अंशुमन रथ, योगेश नागर, पुनित मिश्रा जस्ता खेलाडीहरुले एभरेस्ट प्रिमियर लिग खेलेका थिए।