वानडे पछि अब टि-२० सिरिजमा नेपाललाई इतिहास रच्ने मौका ( खेल तालिका सहित )

Paras Khadka
  • विकेटनेपाल, माघ-१५ , मङ्गलबार 

युएईलाई ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा २-१ ले पराजित गर्दै नेपालले पहिलो सिरिज जितेपछि अब दुई देशले ३ वटा टि-२० अन्तर्राष्ट्रिय खेलको सिरिज खेल्ने छ।

एकदिवसीय सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा ३ विकेटको पराजय बेहोरेपछि दोश्रो खेलमा सानदार कम्बाक गर्दै १४५ रनको जित हाँसिल गर्दै सिरिज बराबरी गरेको थियो। तेश्रो खेलमा पनि २५५ रनको कठिन लक्ष्य नेपालले पछ्याउदै प्रसंशायोग्य जित हाँसिल गरेको थियो।

टि-२० सिरिजको तालिका र समय 

टि-२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपाल र युएईले पहिलो खेल जनवरी ३१ ( माघ १७ गते ) , दोश्रो खेल फेब्रुअरी १ ( माघ १८ गते ) र तेश्रो खेल फेब्रुअरी ३ तारिक ( माघ २० गते ) खेल्नेछ।

टि-२० अन्तर्राष्ट्रिय सिरिजको सबै खेल नेपाली समय २:४५ बजे दिउसो र युएईको स्थानीय समय १ बजे दिउँसो खेलिनेछ।

सम्पूर्ण खेल दुबई स्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा हुनेछ जहाँनै एकदिवसीय सिरिजको सबै खेलहरु खेलिएका थिए। खेल हेर्न १ हजार दर्शकहरुले मैदानमा निशुल्क प्रवेश पाउनेछन्। त्यस भन्दा बढी दर्शक मैदान प्रवेश गर्न नपाउने युएई क्रिकेट बोर्डले बताएको छ।
सम्पूर्ण खेलको प्रत्यक्ष प्रशारण YouTube मा पिचभिजनले गर्ने बताईएको छ। एकदिवसीय सिरिजको प्रत्यक्ष प्रशारण पनि पिचभिजनले Dubai Sports City नामक च्यानलबाट गरेको थियो।

भिम र अभिनाशको डेब्यु सम्भावना 

सन्दिप जोरा र पवन सर्राफले एकदिवसीय सिरीजमा नेपाली राष्ट्रिय टिमको लागि डेब्यु गर्ने मौका पाए भने भिम शार्की र अभिनाश बोहराले मौका पाएनन्।

एभरेस्ट प्रिमियर लिग टि-२० मा डेथ ओभर अर्थात् अन्तिमको ओभरहरुमा कसिलो बलिङ्ग गर्दै प्रभावित बनाएका दायाँ हाते तिब्र गति बलर अभिनाश बोहराले टि-२० अन्तर्राष्ट्रियमा भने डेब्यु गर्ने सम्भावना रहेको छ।

Bhim Sharki
Bhim Sharki

यस्तै पछिल्लो समय नेपाली घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै चर्चा कमाएका भिम शार्कीले पनि टि-२० मा भने मौका पाउन सक्नेछन्। उच्च स्तरीय फिल्डरको रुपमा समेत परिचित भिम मध्यक्रममा राम्रो ब्याटिंग गर्न सक्छन्।

नेपाललाई टि-२० मा पनि इतिहास रच्ने मौका 

सन् २०१४ को टि-२० बिश्वकपमा टि-२० अन्तर्राष्ट्रिय रास्ट्रको मान्यता पाएको नेपालले २०१५ टि-२० बिश्व कप छनौटमा खराब प्रदर्शन पछि मान्यता गुमाएको थियो। पुनः गत वर्ष मार्चमा एकदिवसीय राष्ट्रको मान्यता पाएको नेपालले स्वतः टि-२० अन्तर्राष्ट्रियको मान्यता समेत पाएको छ। आईसीसीले यही वर्ष जनवरी देखि सबै सदस्य राष्ट्रले खेल्ने टि-२० खेललाई अन्तर्राष्ट्रिय मानयता दिने समेत बताईसकेको छ।

नेपालले युएईसंग खेल्नु अघि हंगकंग र नेदरल्याण्डसंग २ वटा टि-२० अन्तर्राष्ट्रिय खेलको सिरिज खेलेको छ। यस्तै नेपालले एमसीसी र नेदरल्याण्डसंग गत वर्ष त्रिकोणात्मक सिरीज पनि खेलेको थियो। हंगकंग र नेदरल्याण्डसंग दुवै सिरिजमा नेपाल पराजित भएको थियो भने त्रिकोणात्मक सिरिजको खेल पनि वर्षको कारण पुरा हुन पाएको थिएन। त्यसैले टि-२० सिरिजमा नेपालले युएईलाई पराजित गर्न सके नेपालको ऐतिहासिक पहिलो टि-२० अन्तर्राष्ट्रिय सिरिज जित हुनेछ।

हंगकंगसंग न्युट्रल भेन्युमा श्रीलंका टुर गर्दै २०१४ नोभेम्बरमा नेपालले ४ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज खेलेको थियो।

२०१४ Vs हंगकंग 

नेपालको दुर्भाग्य श्रीलंकामा नेपाल र हंगकंग बीचको पहिलो ३ वटा टि-२० वर्षको कारण खेल सुरुनै नभई वर्षाको कारण रद्द हुन पुग्यो। त्यसपछि चौथो टि-२० मा भने नेपाललाई हंगकंगले २ विकेटले पराजित गर्यो। जुन क्रममा नेपालले दिएको ७३ रनको लक्ष्य हंगकंगले ८ विकेट गुमाएर १९.५ ओभरमा पुरा गरेको थियो। त्यसै खेलमा सोमपाल कामिले १० औं नम्बरमा ब्याटिंग गर्दै ४० रन बनाएर विश्व रेकर्ड बनाएका थिए। 

Sompal Kami
Sompal Kami

२०१५ Vs नेदरल्याण्ड 

नेदरल्याण्डसंग नेपालले सन् २०१५ जुन/जुलाई मा ४ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज खेलेको थियो। उक्त सिरिज नेपालले ३/१ ले गुमाउन पुगेको थियो।

पहिलो खेलमा नेदरल्याण्डले दिएको १३५ रन लक्ष्य पच्याउद नेपालले ११६ रन मात्रै बनाउन सकेको थियो। दोश्रो खेलमा नेदरल्याण्डले दिएको १७३ रन लक्ष्य पछ्याउदा नेपाल ६९ रनमा समेटिएको थियो। तेश्रो खेलमा नेदरल्याण्डले दिएको १५० रनको लक्ष्य पछ्याउदा नेपालले १३१ रन बनाएको थियो।

चौथो खेलमा भने नेपालले नेदरल्याण्डले दिएको १४० रनको लक्ष्य १९.४ ओभरमा ७ विकेट गुमाएर पुरा गरेको थियो। एकदिवसीय सिरिजमा युएईसंग शतक जस्तै पारस खड्कालेनै ५४ रन बनाएर जितमा अहम योगदान दिएका थिए।

२०१८ Vs नेदरल्याण्ड 

नेदरल्याण्ड , मेरिलेबन क्रिकेट क्लब ( एमसीसी ) र नेपाल बीच खेलीएको त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्याण्डसंग खेलेको खेलले टि-२० अन्तर्राष्ट्रियको मान्यता पाएको थियो। नेदरल्याण्डसंगको खेलमा पहिले ब्याटिंग गर्दै नेदरल्याण्ड १७४/४ रहेको अवस्थामा वर्षको कारण खेल पुरा हुन पाएको थिएन।

( Feature Photo – Thenational.ae )