नेपाल यु-१९ भारत भ्रमण : चौथो अभ्यास खेलमा नेपाली युवा टोली ९ रनले विजयी

  • विकेटनेपाल – १२ चैत्र, मंगलवार 

अप्रिल १० देखि २० तारिकसम्म मलेसियामा आयोजना हुने आईसीसी अन्डर-१९ विश्वकप छनौट प्रतियोगिताको तयारी स्वरूप भारत भ्रमणमा रहेको नेपाली अन्डर-१९ क्रिकेट टिमले चौथो तथा अन्तिम अभ्यास खेलमा आन्द्रा स्टेट अन्डर-१९ क्रिकेट टिमलाई ९ रनले पराजित गरेको छ।

खेलमा पहिले ब्याटिंग गर्दै नेपालले दिएको २२२ रनको लक्ष्य पछ्याउने क्रममा आन्द्राले ४९.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर २१२ रन मात्रै बनाउन सक्यो।

नेपाललाई रोमान्चक जित दिलाउन बलिङ्गतर्फ पवन सर्राफ, कुशल मल्ल र भिम शार्कीले समान २-२ विकेट चट्काए। यस्तै कमल ऐरी, राशिद खान र सागर ढकालको नाममा १-१ विकेट रह्यो।

आन्द्राको ब्याटिंग : 

२२२ रनको लक्ष्य पछ्याउने क्रममा कुनै समय १३२/१ को आरामदायी अवस्थामा रहेको आन्द्रा स्टेट अन्डर – १९ टोली नेपाली स्पिनरहरुको कसिलो बलिङ्गको अगाडी धरासायी बन्यो। टोलीका लागि ओपनर ब्याट्सम्यान नितेश कुमारले सर्वाधिक ७४ तथा हर्श्बर्धनले ३६ रन जोड्दै टोलीलाई सुखद सुरुवात दिलाएका थिए।

टोलीको स्कोर १३२ रन रहंदा सागर ढकालले नितेश कुमारको विकेट लिंदै नेपाललाई खेलमा फर्काए। नितेशको विकेट पश्चात आन्द्राको टोलीले लय गुमायो र थप ८० रन जोड्दा ८ विकेट गुमाउन पुग्यो।

उसका योगनन्दले २०, दुर्गा कुमारले २५ र एमके दत्त रेड्डीले व्यक्तिगत २१ रन जोडेपनि टोलीको हार टार्न सकेनन्।

पहिलो इनिंग :

यसअघि खेलमा पहिले ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २२१ रनको योगफल तयार गरेको थियो।

मध्यम सुरुवात गरेको नेपाली यूवा टोलीले ३३ रनको स्कोरमा पहिलो विकेट गुमाएको थियो। तर त्यसपश्चात भने लगातार विकेट झर्दा कुनै समय नेपाल १३३/८ को खराब अवस्थामा पुग्यो।

नेपालको इनिंगलाई सम्मानजनक स्कोरसम्म पुर्याउन नवौं विकेटका लागि कुशल मल्ल र राशिद खानले ६७ रनको साझेदारी गरेकाथिए। उत्कृस्ट ब्याटिंग गरेका कुशल ४८ रनमा अविजित रहंदा राशिद भने ४१ रनमा पभेलियन फर्किए। मात्र ५७ बलमा २ चौका र २ छक्का सहित कुशलले ४८ रन जोड्दा राशिदले आक्रामक ब्याटिंग गर्दै ४० बलमा ४ चौका र १ छक्का सहित ४१ रन जोडेका थिए।

यसअघि नेपालका लागि पवन सर्राफले ३२, रोहित कुमार पौडेलले २२, भिम शार्कीले १७ र रित गौतमले १५ रनको व्यक्तिगत योगदान गरेका थिए।

आन्द्राको बलिङ्गमा दुर्गा कुमार, कार्तिक रेड्डी र महेश माधवले समान २-२ विकेट हात पारेका थिए।