डिभिजन-२ जित्न नेपाललाई बिशाल लक्ष



  • विकेटनेपाल – ३ फाल्गुन, बिहिवार

आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत जारि फाइनल खेलमा युएईले नेपाललाई २७८ रनको लक्ष दिएको छ। वान्डरर्स क्रिकेट मैदान, विन्ढोकमा टस जितेर ब्याटिंग रोजेको युएईले पुरै ५० ओभर ब्याटिंग गर्दै ४ विकेट गुमाई २७७ रन बनाएको छ।

युएई ओपनर तथा कप्तान रोहण मुस्तफा र अश्फाक अहमदले पहिलो विकेटको लागि शतकीय साझेदारी गर्दै युएईलाई ठुलो स्कोरतर्फ डोर्याएका थिए। २५ औं ओभरमा बसन्त रेग्मीले मुस्तफालाई ५१ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काए। मुस्तफाले ७४ बलमा ७ चौका प्रहार गरे।

मुस्तफाको विकेटपछि अश्फाकले दोश्रो विकेटको लागि घुलाम शब्बिरसंग ५४ रनको साझेदारी गरे। शब्बिरलाई १८ रनको स्कोरमा सन्दिप लामिछानेले रन आउट गरे। अर्को किनारमा विकेट गए पनि विकेट जोगाउदै अहमदले शतक पुरा गरे। १२३ बलमा १० चौका र ३ छक्का प्रहार गरेपछि ११४ रनको व्यक्तिगत स्कोरमा अहमदलाई सन्दिपले ४३ औं ओभरमा आउट गरे। तेश्रो विकेटको लागि अहमदले रामिज शहजादसंग ४८ रन जोडे।

शाहजादले चौथो विकेटको लागि शैमन अनवरसंग ५५ रनको साझेदारी गर्दै युएईको स्कोर २५० पार गराए। अनवरलाई ४९ औं ओभरमा ४० रनको व्यक्तिगत स्कोरमा सोमपाल कामिले आउट गरे। रमिज शाहजादले अविजित ४१ रन ( ४६ बल, १ चौका र १ छक्का ) प्रहार गर्दै युएईको स्कोर ५० ओभरमा २७७/४ पुर्याए।

प्रतियोगितामै पहिलो पटक कमजोर देखिने क्रममा नेपालको लागि सोमपाल कामि, बसन्त रेग्मी र सन्दिप लामिछानेले समान १/१ विकेट हात पारे। करन केसी, पारस खड्का र शरद भेसावकर विकेट बिहिन रहे।

स्कोरकार्ड हेर्नुस 

उपाधिको लागि नेपाल र युएई खेल्दै, जित/हार यसकारण महत्वपूर्ण

प्रतियोगिताको शिर्ष दुईमा पर्दै नेपाल र युएईले, जिम्बावेमा हुने एक दिवसीय विश्वकप छनोटका लागि बाटो खुल्ला गरिसकेका छन्। नेपाली टोलि डिभिजन १ मा बढुवा समेत भएको छ। आजको खेलले भने प्रतियोगिताको बिजेता र उपविजेताको टुंगो लगाउनका साथै मार्चमा जिम्बाबेमा हुने एक दिवसिय विश्वकप छनौटमा कुन समुहमा पर्ने निर्धारण समेत गर्नेछ।

जिते कुन समुह हारे कुन समुह ?

आज हुने युएई र नेपाल बिचको खेलले आगामी मार्चमा जिम्बावेमा हुने आइसीसी विश्वकप छनौटको समूह निर्धारण गर्नेछ। बिश्वकप छनौटमा सहभागी हुने १० वटा टिमलाई २ समुहमा बिभाजन गरीएको छ। समुह चरणमा सबै टिमले एकअर्कासंग १-१ खेल खेल्नेछन् जसपछि दुवै समुहबाट उत्कृस्ट-३ हुने टिम सुपर-सिक्स चरण खेल्न छनौट हुनेछ। सुपर सिक्स चरणमा एउटा टिमले ३ वटा खेल खेल्ने छ ( समुह चरणमा भेट नभएका टिमसंग मात्र )। समुह चरणमा पाएको अंक समेत सुपर सिक्स चरणमा जोडिनेछ ( समुह चरणको अंक तालिकामा तलको २ स्थानमा रहेका टिमसंगको अंक बाहेक )। सुपर सिक्स चरणपछि फाइनल पुग्ने उत्कृस्ट २ हुने टिम बिश्व कप २०१९ खेल्न छनौट हुनेछ।

यसअघि नै समुह “ए” मा वेस्ट इन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड र पपुवा न्युगिनी सामेल छन्। आजको फाइनल खेलको बिजेताले समुह “ए” मा स्थान बनाउने छ। यस्तै समूह “बि” मा अफगानिस्तान, जिम्बाबे, स्कटल्याण्ड र हंगकंग रहेका छन्। आजको खेलको उपविजेताले यो समूहमा स्थान बनाउनेछ।