वुमेन्स टि-२० स्म्यास : फाइनलमा नेपाल र थाईल्याण्ड प्रतिस्पर्धा गर्दै ( सम्पूर्ण जानकारी )

Nepal Women's Cricket Team
  • विकेटनेपाल, माघ-४ , शुक्रबार 

थाईल्याण्ड वुमेन्स टि-२० स्म्यास प्रतियोगिता अन्तर्गत फाइनलमा नेपालले आयोजक राष्ट्र थाईल्याण्डको सामना गर्ने भएको छ।

प्रतियोगिताको शुक्रबार सम्पन्न पहिलो सेमीफाइनलमा नेपालले इन्डोनेसियालाई ९२ रनले तथा दोश्रो सेमीफाइनलमा थाईल्याण्डले युएईलाई ४९ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। नेपाल र थाईल्याण्डले प्रतियोगितामा खेलेको ५ वटै खेलमा जित हाँसिल गरेको छ। दुवै टिम आफ्नो-आफ्नो समुहको विजेताको रुपमा सेमीफाइनल पुगेको थियो।

नेपालले समुह चरण अन्तर्गत पहिलो खेलमा चिनलाई १० विकेट, दोश्रो खेलमा म्यानमारलाई ५२ रनले, तेश्रो खेलमा युएईलाई ६ विकेटले तथा चौथो खेलमा थाईल्याण्ड ‘ए’ लाई ९ विकेटले पराजित गरेको थियो। थाईल्याण्डले समुह चरणमा म्यानमारलाई १० विकेटले, हंगकंगलाई ६५ रनले, इन्डोनेसियालाई ९३ रनले तथा भुटानलाई १० विकेटले पराजित गरेको थियो।

फाइनल खेल ब्यांगकक स्थित टेर्ड थाई मैदानमा नेपाली समय अपराह्न १२:१५ बजे सुरु हुनेछ।

नेपालको लयमा रहेका खेलाडी 

प्रतियोगितामा नेपालको लागि सिता राना मगरले ब्याटिंगमा उत्कृस्ट योगदान दिईरहेकी छिन्। बायाँ हाते ब्याट्सउमन सिताले ४ खेलमा ४१.६६ को औशतले १२५ रन बनाईसकेकी छिन् जुन क्रममा सेमीफाइनलमा इन्डोनेसियासंग सर्वाधिक ४८ रनको इनिंग खेलेकी थिईन्। बलिङ्गतर्फ सरिता मगरले ४ खेलमा ५ विकेट आफ्नो नाम गरेकी छिन् भने रुबिना क्षेत्री, करुना भण्डारी, नेरी थापाले समान ४/४ विकेट लिएका छन्।

Sita Rana Magar
Sita Rana Magar

थाईल्याण्डको लयमा रहेका खेलाडी 

थाईल्याण्डको लागि बलिङ्गमा नट्टाया बुचाथम र चनिदा सुत्थीरुआङ्गले ५ खेलमा समान १० विकेट हात पार्दै जितमा अहम योगदान दिएका छन्। यस्तै सुलीपोर्न लाओमिले ९ विकेट तथा काम्चोमपुले ७ विकेट हात पारेकी छिन्। यी ४ बलर सर्वाधिक विकेट लिने सुचीमा उत्कृस्ट-५ नम्बर भित्र रहेका छन्।

ब्याटिंगमा थाईल्याण्डकि नारुइमोल चाईवाईले ५ खेलमा १२९ रन बनाएकी छिन् भने नट्टाकन चान्तमले ५ खेलमा ९३ रन। बलिङ्ग भन्दा ब्याटिंग थोरै कमजोर देखिए पनि नेपालको तुलनामा थाईल्याण्डले प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेको रेकर्डले देखाएको छ।

एउटा टिमको रुपमा नेपाली खेलाडीहरुले राम्रो प्रदर्शन गर्नु नेपालको बलियो पक्ष्य देखिएको छ। सेमीफाइनलमा १ खेलमा बाहेक समुह चरणमा ४ वटै खेल लक्ष्य पछ्याएर जितेको नेपाली महिला टिममा आत्मविश्वास देखिएको छ। थाईल्याण्डको मजबुत ब्याटिंग लाइन अपलाई नेपाली बलरहरुले कसरि सामना गर्नेछन् त्यो फाइनलमा हेर्न लायक हुनेछ।

१२ वर्षपछि फाइनल खेल्दै नेपाली महिला टिम 

सन् २००७ मा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन सुरु गरेको नेपाली महिला टिमले पहिलो सहभागितामा प्रतियोगिताको फाइनलमा स्थान बनाएको थियो। एसीसी वुमेन्स च्याम्पियनसिपको फाइनलमा त्यतिबेला नेपाल बंगलादेशसंग पराजित हुँदै उप-विजेता भएको थियो। त्यसपछि नेपाली अन्डर-१९ महिला टिमले उपाधिहरु जिते पनि सिनियर महिला टिमले भने प्रतियोगिताको फाइनल यात्रा तय गर्न सकेको थिएन।

सन् २००९ को एसीसी वुमेन्स च्याम्पियनसिपको सेमीफाइनलमा नेपाल हंगकंगसंग पराजित भएको थियो। त्यसपछि सन् २०११ मा भएको एसीसी वुमेन्स टि-२० च्याम्पियनसिपमा पनि नेपाली टिम सेमीफाइनल बाट बाहिरिने क्रममा सेमीफाइनलमा पुनः हंगकंगसंग पराजित हुन पुगेको थियो। दुवै प्रतियोगिता हंगकंगले जितेको थियो।

२०१२ महिला टि-२० एसिया कपमा नेपाल समुह चरण पार गर्न सकेन भने २०१३ को वुमेन्स च्याम्पियनसिपको सेमीफाइनलमा नेपाललाई थाईल्याण्डले पराजित गर्यो जसनै उपाधि पनि जित्यो। सन् २०१४ को एसीसी वुमेन्स प्रिमियर लिग प्रतियोगितामा पनि नेपालले लिग चरणबाट माथि उठ्न सकेन। २०१६ को वुमेन्स एसिया कपमा पनि नेपालले समुह चरण पार गर्न सकेन।

२०१६ मा हंगकंगमा सम्पन्न महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा भने नेपालले दोश्रो स्थान हाँसिल गरेको थियो। उक्त प्रतियोगिता लिग फर्म्याटमा आयोजना गरिएको थियो जसमा सेमी-फाइनल र फाइनल राखिएको थिएन। गत वर्ष सम्पन्न आईसीसी महिला टि-२० एसिया छनौटमा नेपालले तेश्रो स्थान हांसिल गर्यो।

पछिल्लो समय खस्किएको भनिएको महिला क्रिकेट टिमलाई यो पटक राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान तथा यु-१९ राष्ट्रिय टिमका प्रशिक्षक समेत रहेका बिनोद दासले प्रशिक्षण गरिरहेका छन्। टिमको सफलतामा दासको प्रशिक्षणलाई प्रमुख कारण मानिएको छ। पहिले भन्दा नेपाली ब्याट्सउमनहरु क्रिजमा जम्न थालेका छन् र ठुलो साझेदारी बनाउन थालेका छन् र लक्ष्य पछ्याएर समेत खेल जित्नुले टिममा आएको सुधार प्रस्ट देख्न सकिन्छ।