रोमान्चक खेलमा पाकिस्तानसंग इंग्ल्याण्ड पराजित

विश्वकपको पहिलो खेलमा वेस्ट इन्डिजसंग कमजोर प्रदर्शन गर्दै ७ विकेटको हार बेहोरेको पाकिस्तानले दोश्रो खेलमा शानदार कमब्याक गंरे क्रममा आयोजक इंग्ल्याण्डलाई पराजित गरेको छ।

ट्रेन्ट ब्रिजमा सम्पन्न खेलमा टस हारेर ब्याटिंग गरेको पाकिस्तानले दिएको ३४९ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर ३३४ रन मात्रै बनाउन सकेपछि १४ रनले पाकिस्तान विजयी भएको हो।

पहिलो खेलमा दक्षिण अफ्रीकालाई १०४ रनले पराजित गरेको इंग्ल्याण्डको लगातार दोश्रो जित हात पार्ने चाहनालाई पाकिस्तानले चकनाचुर पार्दै पहिलो जित दर्ता गरेको छ।

पाकिस्तानले विश्वकप अघि इंग्ल्याण्डसंग एकदिवसीय सिरिज ४-० ले हारेको थियो भने आजको खेल अघि लगातार ११ खेलमा हार बेहोरेको थियो।

उतारचढावले भरिएको दोश्रो इनिंग, रुट र बटलरको शतक व्यर्थ

लक्ष्य पछ्याउने क्रममा इंगलिश ओपनर जेसन रोय ८, जोनी बेयरस्टो ३१, कप्तान ओएन मोर्गन ९ तथा बेन स्टोक्स ९ रन बनाएर आउट हुँदा इंग्ल्याण्ड २२ औं ओभरमा ११८/४ को कमजोर अवस्थामा पुगेको थियो।

पाँचौ विकेटको लागि जोए रुट र जोस बटलरले १३० रनको साझेदारी गर्दै इंग्ल्याण्डलाई सन्तुलित अवस्थामा लिएर गए।

शतक बनाएका रुट ३९ औं ओभरमा शदाब खानबाट क्याच आउट हुँदा खेलमा पाकिस्तान पुनः फर्कियो। रुटले १०७ रन बनाए जुन क्रममा १०४ बलमा १० चौका र १ छक्का प्रहार गरे।

रुट आउट भए पछि पनि बटलरले एक किनार सम्हालीरहे र मोइन अलिसंग साझेदारी गरे।

यस बीचमा बटलरले शतक पुरा गरे। त्यसलगत्तै बटलरलाई मोहम्मद आमिरले क्याच आउट गराए जसले ७६ बलमा ९ चौका र २ छक्का प्रहार गरे।

बटलरको विकेट पछि पनि मोइन अलि र क्रिस वोक्सले सातौँ विकेटको लागि ३२ रनको साझेदारी गर्दै खेलमा सम्भावना बनाईरहे।

४८ औं ओभरमा वाहब रियाजले लगातार २ विकेट लिंदै पाकिस्तानलाई खेलमा फर्काए। मोइन ( १९ ) र वोक्स् ( २१ ) लगातार बलमा आउट हुँदा पाकिस्तान खेलमा हावी भयो।

पुरै ओभर ब्याटिंग गरे पनि इंग्ल्याण्डले ९ विकेट गुमाएर ३३४ रन मात्रै बनाउन सक्यो।

पाकिस्तानको लागि बलिंगमा वहाव रियाज ( १०-०-८२-३ ) ले सर्वाधिक ३ विकेट तथा शदाब खान ( १०-०-६३-२ ) र मोहम्मद आमिर ( १०-०-६७-२ ) ले २/२ विकेट लिए। मोहम्मद हफिज र शोयब मलिकले १/१ विकेट लिए।

पाकिस्तानको ब्याटिंग 

यस अघि पाकिस्तानको ब्याटिंगमा प्लेयर अफ द म्याच समेत चुनिएका मोहम्मद हफिजले सर्वाधिक ८४ रन बनाए जन क्रममा ६२ बलमा ८ चौका र २ छक्का प्रहार गरेका थिए। यस्तै बाबर आजमले ६३, सरफराज एहमदले ५५, इमाम उल हकले ४४ तथा फखार जमानले ३६ रन बनाए।

राम्रो सुरुवात दिलाउने क्रममा इमाम र फखारले पहिलो विकेटको लागि ८२ रनको साझेदारी गरेका थिए। यस्तै तेश्रो विकेटको लागी मोहम्मद हफिज र बबर आजमले ८८ रनको , चौथो विकेटको लागि हफिज र सरफराज एहमदले ८० रनको साझेदारी गरेका थिए।

इंग्ल्याण्डले अतिरिक्तको रुपमा २० रन खर्चेको इंग्ल्याण्डको लागि मोइन अलि ( १०-०-५३-२ ) र क्रिस वोक्स ( ८-१-७१-३ ) ले ३/३ विकेट तथा मार्क वुड ( १०-०-५३-२ ) ले २ विकेट लिए। जोफ्रा आर्चर भने विकेट विहिन तथा महँगो सावित हुनत १० ओभरमा ७९ रन खर्चन पुगे।

प्रतियोगिता अन्तर्गत पाकिस्तानले अब आगामी खेल श्रीलंकासंग जुन ७ तारिकमा खेल्नेछ। इंग्ल्यान्डको आगामी खेल जुन ८ तारिकमा बंगलादेशसंग रहेको छ। भोलि मंगलबारको खेलमा अफगानिस्तान र श्रीलंका प्रतिस्पर्धा गर्नेछन्।