पारस खड्काले प्रहार गरेका ४ शतक

Paras Khadka
  • विकेटनेपाल, माघ-१४ , सोमबार 

युएई बिरुद्ध सिरिजको तेश्रो एकदिवसीयमा शतक प्रहार गर्दै पारस खड्का एकदिवसीय अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन्। युएईले दिएको २५५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाललाई जित दिलाउन पारसले १०९ बलमा १५ चौका र १ छक्का प्रहार गर्दै ११५ रन बनाए। यस क्रममा पारस नै प्लेयर अफ द म्याच चुनिए।

पारसले प्रहार गरेको शतक एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो भए पनि नेपाली राष्ट्रिय टिमको लागि खेल्दा बनाएको चौथो शतक हो। उनले यस अघि बनाएको तिनै ३ वटा शतकहरुलाई पुनः याद गरेका छौँ –

बिरुद्द युएई, २०१८

नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन २ को फाइनल खेलमा नेपालले संयुक्त अरब इमिरेट्सको सामना गर्यो। खेलमा पारसले आफ्नो करियरको तेस्रो शतक बनाउनेक्रममा अविजित ११२ रन बनाउन १०३ बलमा ३ चौका र ८ छक्का प्रहार गरेका थिए। त्यसका बाबजुत नेपाल ७ रनले पराजित हुँदै उपविजेतामा सिमित रह्यो।

टस जितेर पहिले ब्याटिंग गरेको युएईले अश्फाक अहमदको ११४ रन र रोहन मुस्ताफाको ५१ रनको मद्दतमा ५० ओभरमा २७७/४ को योगफल बनायो। जवाफमा पारसको शतक बाहेक अन्य खेलाडीको उल्लेख्य प्रदर्शन रहन नसक्दा नेपाल ले ५० ओभर खेल्दै ८ विकेट गुमाएर २७० रन बनाएको थियो।

Paras Khadka
Paras Khadka ( Photo – Thenational.ae )

बिरुद्द नामिबिया, २०१६

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत घरेलु मैदानमा भएको नामिबिया बिरुद्दको दोश्रो खेलमा पारसले आफ्नो करियरकै दोश्रो शतक प्रहार गरेका थिए। उक्त खेलमा पारस खड्काले १०३ रन प्रहार गर्दा नेपाल ३ विकेटले बिजयी भएको थियो।

नामिबियाले दिएको २४० रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालको जितमा पारसले ९४ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दा शरद भेसावकरले अविजित ७४ रन बनाएका थिए।

३७ रनमा २ विकेट गुमेपछि मैदानमा आएका पारसले शरद भेसावकरसँग मिलेर तेस्रो विकेटको लागि १६७ रनको साझेदारी गरेपछि जित तय भएको थियो। शरदले १०७ बल खेल्दा ५ चौका हानेका थिए।

Paras Khadka
Paras Khadka

बिरुद्द कुवेत, सन् २०१२

पारस खड्काले आफ्नो करियरको पहिलो शतक सन् २०१२ मा आयोजित एसीसी एलिट कपमा कुवेत बिरुद्दको खेलमा बनाएका थिए। खड्काको शतकका बाबजुत नेपाल उक्त खेलमा ४ विकेटले पराजित भएको थियो। टस जितेर पहिले ब्याटिंग गरेको नेपालले ५० ओभरमा ४ विकेट गुमाएर २८० रन बनाएको थियो।

कप्तान पारसले अविजित १०६ रनको पारि खेल्नेक्रममा ७७ बलमा ७ चौका र ४ छक्का प्रहार गरेका थिए। त्यस्तै मल्लको ५३, पृथुको अविजित ३७ तथा सुबासको ४५ रन बनाएका थिए।

जवाफमा कुवेतले ४६.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। कुवेतलाई जिताउन सिब्तैन राजाले ७७ रन, खसिफ शरिफले ५९ रन, अबिद मुस्ताकले ५४ रन तथा इरफान भाट्टीले ४७ रन बनाएका थिए।

पारसले बनाएका ४ वटा शतक मध्ये युएईसंगको आजको शतक सबै भन्दा ठुलो शतक हो। चौथो शतक युएईसंगनै ११५ रन बनाउदा पारस नेपाली राष्ट्रिय टिमको लागि सर्वाधिक व्यक्तिगत रन बनाउने ब्याट्सम्यान पनि संयुक्त रुपमा बनेका छन्। सुबास खकुरेलले सन् २०१२ डिभिजन-४ मा ११५ रन नै बनाएका थिए।

पारसको शतकसंगै नेपालको लागि एकदिवसीय क्रिकेटमा बनेको शतक संख्या ११ पुगेको छ। पारस खड्काले ४ वटा, अनिल मण्डलले २ वटा, राजु खड्का, शक्ति गौचन, शरद भेसावकर, ज्ञानेन्द्र मल्ल र सुबास खकुरेलले १/१ वटा शतक प्रहार गरेका छन्।