नेपाली क्रिकेट संघ (क्यानले) शुक्रबार चौथौं संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय प्रतियोगिताको (पुरुषतर्फ) खेल तालिका सार्वजनिक गरेको छ। खेल तालिका अनुसार प्रतियोगिता माघ २ गतेबाट सुरु भएर फाइनल खेल माघ १७ गते खेलिनेछ। खेलहरु
काठमाडौं स्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान र मुलपानी खेल मैदानमा खेलिनेछ।
यसअघि क्यानले प्रतियोगिता पुष ११ गतेबाट आयोजना गर्ने घोषणा गरेता पनि बजेटको अभावले गर्दा प्रतियोगिता निर्धारित समयमा हुन सकेको थिएन।
१० टिम सम्मिलित प्रतियोगितामा ३ विभागीय टोलि त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब सहित अन्य ७ वटा प्रदेशका टिमहरु सहभागी छन्।
सहभागी टिमहरुलाई दुई समुहमा विभाजन गरिएको छ। समुह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश, प्रदेश नम्बर १ र कर्णाली प्रदेश छन् भने समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती, लुम्बिनी, प्रदेश नम्बर २ र सुदूरपश्चिम छन्। समुह चरणमा सबै टिमले एक अर्काविरुद्ध एक/एक खेल खेलेपछि दुवै समुहबाट विजेता र उपविजेता टोलि सेमिफाइनलमा प्रवेश गर्नेछन्।
पहिलो सेमिफाइनलमा समुह ‘ए’ को विजेता टिमले समुह ‘बि’ को उपविजेता टिमसँग भिड्ने छ भने दोस्रो सेमिफाइनलमा समुह ‘ए’ को उपविजेता टिमले समुह ‘बि’ को विजेता टिमको सामना गर्नेछ। पहिलो र दोस्रो सेमिफाइनलको विजेता टोलिले उपाधिका लागि फाइनलमा आमने-सामने हुनेछन्।
प्रतियोगिताको पहिलो र दोस्रो दिन एकमात्र खेल संचालन हुनेछन् जसपछि हरेक दिन दुईवटा समुह चरणका खेलाहरु खेलिने छन्। उद्धघाटन खेल मुलपानि क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
यसअघि क्यानले खेलाडी छनौट गर्न सम्पूर्ण प्रादेशिक क्रिकेट संघहरुलाई पत्राचार गरेको थियो। सो अनुरूप प्रादेशिक क्रिकेट संघहरुले खेलाडी छनौट प्रक्रिया अघि बढाएको थियो।
अन्तिम पटक प्रधानमन्त्री कपको आयोजना २०१९ मे र जुन महिनामा भएको थियो। नेपाल पुलिस क्लबले उपाधि जित्ने क्रममा फाइनलमा आर्मीलाई ४ विकेटले पराजित गरेको थियो। त्यसपछि यसै वर्षको सुरुवातमा क्यानले प्रतियोगिता आयोजना गर्ने तयारी गरेता पनि कोरोनाका कारण आयोजना सम्भव भएको थिएन।