मुलपानीमा म्याट बिछ्याएर प्रधानमन्त्री कपको खेल हुँदा उब्जिएको प्रश्न

प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिता अन्तर्गत तेश्रो दिन सम्पन्न २ वटा खेलमा विभागीय टोलि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले जित दर्ता गरे। आज कुनै टिमको जित र हार भन्दा पनि आज मुलपानी मैदानमा सम्पन्न पुलिस र कर्णाली प्रदेश बीचको खेल म्याटमा खेलाइनु चर्चाको विषय बन्यो। उद्घाटन कार्यक्रमका कारण १ घण्टा ढिला सुरु भएको खेलको नतिजा भन्दा मुलपानी मैदानको अवस्थाले बिभिन्न प्रश्नहरु उठेका छन्।

टि-२० विश्वकपमा सहभागिता हुँदै एकदिवसीय अन्तर्रास्ट्रिय मान्यतासम्मको फड्को मारेको नेपाली क्रिकेटले आजको अवस्था पछि पुनः एकपटक पछाडी धकेलिएको नेपाली क्रिकेट सुभचिन्तकहरुले महसुस गरे। एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको राष्ट्रको घरेलु क्रिकेट प्रतियोगिता स्तरीय हुनु आवस्यक छ। तर त्यसो हुनुको साटो नेपालको एक मात्र एकदिवसीय प्रतियोगिता म्याट ओछ्याएर गरिनुमा धेरैले चिन्ता समेत व्यक्त गरे र आलोचना पनि।

राष्ट्रिय खेलकुद परिषदको आयोजना र नेपालय इन्टरनेसनलको व्यवस्थापनमा करिब २ करोड बजेटमा आयोजना गरिएको प्रतियोगिताको खेलहरु जेठ १० गते बाट मुलपानी मैदानमा खेल हुने घोषणा गरिएको थियो। १० गतेसम्म मैदान तयार नभएपछि मुलपानीमा २ दिन पछि खेल गर्ने निर्णय रातारात गरियो।

यस अघि जेठ १ गतेबाट हुने घोषणा गरिएको प्रतियोगिता जेठ ७ गते हुँदै १० गते सारिएको थियो। यस अघि टियु मैदानमा मात्रै हुने बताईएता पनि पछि टियु र मुलपानी मैदानमा आयोजना गर्ने घोषणा भयो।

मुलपानीमा पहिलो पटक प्रतियोगिता गर्ने निर्णय त भयो तर मैदान यति ठुलो प्रतियोगिताको लागि तयार नै थिएन। न त पिच राम्रोसंग तयार भएको थियो नत आउटफिल्डनै राम्रो थियो। अझ बाउन्ड्री लाइन भित्र घर पर्दा मात्र ५५ यार्डको बाउन्ड्री बनाएर खेल आयोजना हुनु अन्तर्राष्ट्रिय मापदण्ड बिपरित थियो। आईसीसीले ६५ यार्ड भन्दा कम बाउन्ड्रीलाई मान्यता दिने गर्दैन।

शनिवारनै मुलपानी मैदानमा खेल नहुने अवस्था थाहा भएपछि आयोजकले सहभागी कप्तानहरुलाई म्याटमा खेल खेलाउन सहमति मागेको थियो। पुलिस र कर्णाली प्रदेशका खेलाडीहरुले खेल्न मन नहुँदानहुँदै पनि खेल्न बाध्य भए।

राष्ट्रिय खेलकुद परिषद सदस्य सचिब केशव विस्टले आफ्नो कार्यकाललाई स्वर्णकाल मान्दै गर्दा भर्खरै आठौँ राष्ट्रिय र लगत्तैको प्रधानमन्त्री कप प्रतियोगिताको लापरबाहीपूर्ण व्यवस्थापनले उनको दावीमा ठुलो प्रश्नचिन्ह खडा भएको छ।

गत वर्ष प्रधानमन्त्री कपको सफल आयोजना गरेको भन्दै पुर्व यु-१९ राष्ट्रिय क्रिकेटर सुवास प्रधान नेतृत्वको नेपालय इन्टरनेसनललाई इभेन्ट आयोजना गर्न दिने निर्णय गरेको थियो। यो पटक टियु मैदानमा पनि कमजोर व्यवस्थापन देखिंदा नेपालयको व्यवस्थापनमा पनि प्रश्न उठेको छ। टियु मैदानमा यो पटक व्यवस्थापन पाटो निकै फितलो देखिएको छ। यति ठुलो बजेटमा आयोजना गरिएको प्रतियोगिताको स्तर कम हुनुले राखेप र व्यवस्थापन सम्हालेको नेपालय इन्टरनेसनल माथिनै शंका गर्ने ठाउँ छ।

टियु क्रिकेट मैदानमा समेत यो पटक व्यवस्थापन फितलो देखिएको छ। मैदानको सजावट, सुरक्षा, खाना, सरसफाईको अवस्था नाजुक रहेको छ। खेलाडीहरु बस्ने पेभेलियनमा कुनै सुरक्षा छैन जहाँ जो पनि आउजाउ गर्नसक्ने अवस्था छ।

मैदानमा माइकिंग र डिजिटल स्क्रिनको व्यवस्था छैन। यस अघिको २ संस्करण भन्दा यो पटक प्रतियोगिताको व्यवस्थापन निकै कमजोर देखिएको छ। प्रतियोगिताको प्रचारप्रसारमा आयोजकले ध्यान दिएको छैन जस्ता कारणले मैदानमा प्रवेश निशुल्क हुँदा पनि दर्शकको उपस्थिति पनि निकै कम रहेको छ। मिडियालाई वाईफाईको समेत व्यवस्था आयोजकले गर्न सकेको छैन।

तेश्रो संस्करणसम्म आईपुगेको प्रधानमन्त्री कपको स्तर सुधार हुँदै जानुपर्नेमा झनै घट्दो स्तरले राखेपको लापरवाही स्पस्ट देखिन्छ।

एभरेस्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग जस्ता घरेलु टि-२० लिगहरुले आयोजनाको स्तरमा आफुलाई अब्बल प्रमाणित गरिसकेका छन्। प्रत्येक वर्ष प्रतियोगिताको स्तर र व्यवस्थापन सुधार हुँदै जाँदा अन्तर्राष्ट्रिय स्तर छुने बाटोमा नेपाली टि-२० लिगहरु अघि बढीरहेको बेला राखेपको आयोजनामा हुने एकदिवसीय प्रतियोगिताले भने साख गुमाउदै जानु दुखद छ।

यो पटक प्रतियोगिताको व्यवस्थापनबाट पाठ सिक्दै आगामी वर्ष प्रधानमन्त्री कपलाई भव्य बनाउन राखेपले सोच्नुपर्नेछ। दर्शकहरुलाई आकर्षण गर्न १ हाते क्याच गर्नेलाई ५० हजार पुरस्कार दिनु राम्रो कुरा हो तर त्यो भन्दा प्रतियोगिताको स्तर राम्रो बनाएर दर्शक आकर्षण गर्नु भविस्यको लागि राम्रो हुनेछ।

ईपिएल जस्तो प्रतियोगितामा व्यवस्थापनलाई प्रश्न चिन्ह खडा गर्ने खेलाडीहरुले पनि प्रधानमन्त्री कपमा भएको लापरबाही प्रति आवाज उठाउनु जरुरि छ। खेलाडीको लागि गरिने प्रतियोगितामा खेलाडीनै प्राथमिकतामा राखिनु आवस्यक छ। छनौट प्रतियोगिता, प्रतियोगिता अघिको तयारी, भत्ता, स्तरीय मैदान, पिच जस्ता कुराहरु नहुँदा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा खेलाडी उत्पादन र मनोबलको साथै दर्शकहरुले प्रतियोगितालाई हेर्ने नजरमा पनि असर गर्छ।

प्रधानमन्त्री कपमा खेलाडी छनौट गर्न टिमहरुलाई मात्र २० हजार बजेट दिनु, छनौट प्रतियोगिता बिनानै प्रदेश टिमहरु छनौट हुनु जस्ता कुराहरु दोहोरिनु हुँदैन। प्रतियोगिता स्तरीय भएको खण्डमा दर्शकहरु टिकट काटेर खेल हेर्न टि-२० लिगहरुमा ठुलो संख्यामा आउने गरेका छन्। दर्शक आकर्षित गर्न मैदानको सजावट, खेल हेर्न पुग्ने दर्शकहरुलाई सुविधा, दर्शकलाई मनोरञ्जनको व्यवस्था, मिडिया व्यवस्थापन, मैदानको सुरक्षा व्यवस्था, प्रचारप्रसार जस्ता कुराहरुमा आयोजकले ध्यान पुर्याउनुपर्छ।

आशा गरौँ मुलपानी मैदानको आजको घटनाले नेपाली क्रिकेटमा यस्तो लापरबाही नदोहोरिने अवस्थाको सिर्जना गर्नेछ।  राष्ट्रिय खेलकुद परिषदले आगामी दिनमा प्रतियोगिता आयोजना गर्नु अघि प्राबिधिक पाटो र खेलाडीलाई पहिलो प्राथमिकतामा राख्नेछ। त्यसो भएमा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको सम्मान हुनेछ भने प्रतिभावान खेलाडी जन्मिने खुड्किला प्रधानमन्त्री कप बन्नेछ।