प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको लागि प्रदेश नम्बर-१ को प्रादेशिक छनोट प्रतियोगिता मोरङले जितेको छ। बिहिबार कन्काई मैदानमा सम्पन्न खेलमा मोरङ १६३ रनको विशाल अन्तरले विजयी भएको हो।
खेलमा मोरङले दिएको २९५ रनको लक्ष्य पछ्याउने क्रममा सुनसरीले ३५.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो।
लक्ष्य पछ्याउने क्रममा मोरङको लागि राकेश सोनीले सर्वाधिक ३९, कप्तान सरोज बस्नेतले ३६, सोनु मण्डलले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। मोरङका बलर दिपेश कंडेलले ४ विकेट लिए जुन क्रममा ७.२ ओभरमा ४ मेडन ओभर गर्दै मात्र १४ रन खर्चिए। सुभांकर उराव र कप्तान सिद्धान्त लोहनीले समान २ विकेट तथा आशिष श्रेष्ठ र फिर्दोश अन्सारीले समान १ विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग गरेको मोरङले निर्धारित ४० ओभरमा ५ विकेट गुमाएर २९४ रन बनाएको थियो।
मोरङको लागि रभी रोयले सर्वाधिक ९३ रन बनाए जुन क्रममा ९३ बलमा १० चौका र ३ छक्का हिर्काए। मुकुन्द यादबले ५३ बलमा ७ चौका र ५ छक्का मद्दतले ८० रन तथा मिनास थापाले ६० बलमा ९ चौका र १ छक्का मद्दतले ६७ रन बनाए। कप्तान सिद्धान्त लोहनीले २३ तथा दिपक पासवानले १६ रन बनाए।
रभी रोयले दोश्रो विकेटको लागि मिनास थापासंग ९३ रनको तथा तेश्रो विकेटको लागि मुकुन्द यादवसंग १३१ रनको साझेदारी गरेका थिए।
सुनसरीको बलिंगमा भुपाल लुइँटेलले २ तथा जोशन खड्का, विकल्प आचार्य र सरोज बस्नेतले समान १ विकेट लिए।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगिता पुषको अन्तिममा हुने बताईएता पनि मिति घोषणा गरिएको छैन।