युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत बुधबार ३० औं खेलमा श्रेयस अय्यरको कप्तानीमा रहेको दिल्ली क्यापिटल्सले स्टिभ स्मिथको कप्तानीमा रहेको राजस्थान रोयल्सको सामना गर्दैछ। खेल नेपाली समय अनुसार रातिको ७:४५ बजे दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ।
यस अघि ७ खेलमा ५ जित हात पारेको दिल्ली १० अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ। आजको खेलमा जित हात पार्दै दिल्लीलाई शिर्ष स्थानमा उक्लने अवसर छ। समान ७ खेल खेलेको राजस्थान ३ जित र ४ हारपछि अंकतालिकाको सातौं स्थानमा छ। आजको खेलमा जित हात पार्दै राजस्थान अंकतालिकामा अघि बढ्न चाहन्छ।
दिल्ली क्यापिटल्स :- पछिल्लो खेलमा मुम्बई विरुद्ध ५ विकेटको हार बेहोरेको दिल्ली ७ खेलमा १० अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ। निकै सन्तुलित देखिएको दिल्ली प्रदर्शनलाई निरन्तरता दिदैं पहिलो उपाधी जित्न चाहन्छ। इशान्त शर्मा, अमित मिश्रा चोटले बाहिएका छन् भने रिषभ पन्तलाई चोटले सताएता पनि बेञ्च बलियो भएको कारण दिल्लीलाई सहज भएको छ। पृथवी श, शिखर धवन, अजिंक्य रहाने र कप्तान अय्यर जस्ता गुणस्तरीय भारतिय खेलाडिहरु टिमको बलियो पक्ष हो। श आफुले पाएको राम्रो सुरुवातलाई ठुलो स्कोरमा परिणत गर्न चाहन्छन्। मुम्बई विरुद्ध ६९ रनको अविजित पारी खेल्दै फर्ममा फर्किएका धवनको प्रदर्शनमा दिल्ली स्थिरता चाहन्छ। मार्कस स्टोइनिस र कप्तान अय्यर उत्कृष्ट लयमा छन्। एलेक्स क्यारी र अजिंक्य रहाणेले पाएको अवसरको फाइदा उठाउनु पर्ने हुन्छ।
दिल्लीको बलिंग शानदार रहेको छ। सर्वाधिक १७ विकेटसहित पर्पल क्यापमा कब्जा जमाएका कागिसो रबाडाको नेतृत्वमा रहेको दिल्लीको बलिंग आक्रमणलाई एनरिक नोर्किया र मार्क स्टोइनिसले उनको साथ दिएका छन्। स्पिन पक्ष दिल्लीको मजबुत छ। अफ-स्पिनर रविचन्द्रन आश्विनले किफायती बलिंग गर्दै महत्वपूर्ण विकेट हात पार्ने गर्छन्। बायाँ हाते फिंगर स्पिनर अक्षर पटेल बिरुद्ध रन बनाउन मुस्किल छ।
राजस्थान रोयल्स :- सुरुवाती २ खेलमा जित हात पारेको राजस्थानले त्यसपछि लगातार ४ खेलमा पराजित हुदैं पुर्ण रुपमा लय गुमाएको थियो। पछिल्लो खेलमा हैदराबाद विरुद्ध ५ विकेटको जित दर्ता गरेको राजस्थान सोही प्रदर्शनलाई निरन्तरता दिन चाहन्छ। सन्जु स्यामसन र कप्तान स्टिभ स्मिथको ब्याटबाट रन नबन्नु हारको कारण बनेको छ। राहुल तेवतियाको अद्भूत प्रदर्शनले टिमको साख बचाएको छ। युवा खेलाडि रियान परागको ब्याटबाट रन बन्नु राजस्थानको लागि सुखद पक्ष हो। जोस बट्लरको प्रदर्शनमा स्थिरता हुनु राजस्थानको लागि आवश्यक छ। बेन स्टोक्सको आगमनले राजस्थान सन्तुलित देखिएको छ। पछिल्लो खेलमा ओपनिंग गरेका स्टोक्सले आज कति नम्बरमा ब्याटिंग गर्छन् हेर्न लायक हुनेछ।
बलिंगतर्फ जोफ्रा आर्चरले घातक बलिंग गरेता पनि उनलाई अन्य बलरले साथ दिएका छैनन्। जयदेव उनदकत र कार्तिक त्यागीले सन्तोषजनक प्रदर्शन गरेता पनि स्थिरता छैन। लेग स्पिनर श्रेयस गोपालको घातक बलिंग देख्न बाँकी रहेको छ। आफ्नो प्रदर्शनमा स्थिरता सहित ठुला खेलाडीको राम्रो प्रदर्शनमा राजस्थान विजयी लयलाई कायम गर्न चाहन्छ।
पछिल्लो भेट :- लिग अन्तर्गत जारी सिजन २३ औं खेलमा राजस्थान र दिल्लीबीच प्रतिस्पर्धा भएको थियो जसमा दिल्ली ४६ रनको फराकिलो अन्तरले विजयी भएको थियो। पहिले ब्याटिंग गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनाउदै १८५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो जुन पछ्याउने क्रममा राजस्थान १९.४ ओभरमा १३८ रन बनाउदै अल आउट भएको थियो।
हेड टु हेड :- हालसम्म यी दुई टोली कुल २१ पटक आमने-सामने भएका छन् जसमध्य राजस्थान ११ खेलमा तथा दिल्ली १० खेलमा विजयी भएको छ। दिल्ली पछिल्लो ४ खेलमा राजस्थान विरुद्ध अपराजित छ।
खेल हुने मैदान :- जारी सिजन हालसम्म दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा १२ खेल खेलिएको छ। दिल्लीले पछिल्लो पटक यसै मैदानमा बैंगलोरको सामना गरेको थियो जसमा दिल्ली ५९ रनले विजयी भएको थियो। राजस्थानले हैदराबाद विरुद्ध यसै मैदानमा प्रतिस्पर्धा गरेको थियो जसमा राजस्थान ५ विकेटले विजयी भएको थियो।
पहिलो इनिंग औसत स्कोर :- १७९ (२६ औं खेल सम्म), चेज गर्दाको रेकर्ड : विजयी-२, हार-८, बराबरी-२
टिममा हुन सक्ने परिवर्तन :-
राजस्थान : पछिल्लो खेलमा जित हात पारेको राजस्थानले परिवर्तन गर्ने खास कारण छैन।
राजस्थानको सम्भावित ११ : बेन स्टोक्स, जोस बटलर ( विकेटकिपर ), स्टिभ स्मिथ ( कप्तान ), सन्जु स्यामसन, रोबिन उथप्पा, रियान पराग, राहुल तेवतिया, जोफ्रा आर्चर, श्रेयस गोपाल, जयदेव उनदकत , कार्तिक त्यागि
दिल्ली : विकेटकिपर ब्याट्सम्यान रिषभ पन्तको चोटको कारण खेल्न नसक्ने हुँदा दिल्लीले पनि अन्तिम-११ मा परिवर्तन गर्ने संकेत छैन। नेपाली स्पिनर सन्दिप लामिछानेले मौका पाउने अझै संकेत छैन। सन्दिपले मौका पाउनको लागि १ जना विदेशी फास्ट बलर बाहिर बस्नुपर्ने हुन्छ त्यो गर्न दिल्लीलाई अहिले आवस्यक देखिएको छैन।
दिल्लीको सम्भावित ११ : शिखर धवन, पृथ्वी श, श्रेयस ऐयर, अजिंक्य रहाणे, एलेक्स केरी, मार्कस स्टोइनिस, रभीचन्द्रन आश्विन, अक्षर पटेल, कागिसो रबाडा, एनरिक नोर्किया, हर्षल पटेल
रोचक रेकर्ड :-
१. लिगमा ५० विकेट पुरा गर्नबाट कागिसो रबाडा २ विकेट टाढा छन्। हालसम्म उनले १७ विकेट हात पार्दै पर्पल क्यापमा कब्जा जमाएका छन्।
२. राजस्थानको लागि ५० छक्का प्रहार गर्नबाट जोस बट्लर ६ छक्का टाढा छन्।
३.दिल्ली कप्तान श्रेयस अय्यर कप्तानको रुपमा १००० रन पुरा गर्नबाट ३२ रन टाढा छन् भने लिगमा २००० रन पुरा गर्नबाट ७४ रन टाढा छन्।
४.राजस्थान कप्तान स्टिभ स्मिथ कप्तानको रुपमा १००० रन पुरा गर्नबाट ४४ रन टाढा छन् भने राजस्थानको लागि १००० रन पुरा गर्नबाट ७९ रन टाढा छन्।
IPL : चोटले छोडेन दिल्लीलाई, कहिले खेल्छन् पन्त
IPL : धोनीले त्यस्तो के गरे, जसपछि अम्पायरले निर्णयनै परिवर्तन गरे
IPL : हैदरावादसंग खेलपछि तेवतियाले कसलाई ठड्याए औंला, जान्नुस विवादको कारण
डी भिल्लीयर्सलाई अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कन भारतीय मुख्य प्रशिक्षकको आग्रह