लाहोर कलन्दर्सलाई ५ विकेटले पराजित गर्दै कराची किंग्सले पाँचौ सिजनको पाकिस्तान सुपर लिगको उपाधि जितेको छ। यो संगै लिगले नयाँ विजेता समेत पाएको छ। दुवै टिमले पहिलो पटक फाइनल यात्रा गरेका थिए।
नेसनल स्टेडियम कराचीमा सम्पन्न खेलमा लाहोरले दिएको १३५ रनको लक्ष्य कराचीले १८.४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो।
कराचीको लागि ओपनर बाबर आजमले सर्वाधिक अविजित ६३ रन बनाए। अर्को किनारमा विकेट गुमेता पनि आजमले एक किनार सम्हाल्दै टिमलाई जितसम्म पुर्याए जुन क्रमम ४९ बलमा ७ चौका प्रहार गरे। चाडविक विल्टनले २२, शर्जिल खानले १३ तथा एकेल्स हेल्सले ११ रन बनाए। आजमले तेश्रो विकेटको लागि विल्टनसंग ६१ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए।
लाहोरको बलिंगमा हरिश रौफ ( ४-०-३०-२ ) र दिलबर हुसेनले ( ४-०-२८-२ ) समान २ विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग गरेको लाहोरले २० ओभरमा ७ विकेट गुमाएर १३४ रन बनाएको थियो। लाहोरको लागि तामिम इकबालले सर्वाधिक ३५, फखर जमानले २७, सोहेल अख्तर र डेभिड वेसले समान १४ रन तथा शाहिन अफ्रिदीले अविजित १२ रन बनाए।
पहिलो विकेटको लागि तमिम इकबाल र फखर जमानले ६८ रनको साझेदारी गरेता पनि ११ औं ओभरमा इकबाल र जमानलाई उमेद आसिफले क्याच आउट गराएपछि लाहोरको विकेटपतन सुरु भएको थियो। त्यसपछि खेलमा ठूलो साझेदारी बन्न सकेन।
कराचीको बलिंगमा वकास मक्सुद ( ४-०-१८-२ ) , अर्षद इकबाल ( ४-०-२६-२ ) र उमेद आसिफले ( ४-०-१८-२ ) समान २ विकेट लिए। कप्तान इमाद वासिम ( २-०-६-१ ) ले १ विकेट लिए।
कराचीले मुल्तानलाई क्वालीफायरमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो भने लाहोरले मुल्तानलाई दोश्रो इलिमीनेटरमा पराजित गर्दै फाइनल पुगेको थियो। लिग चरणमा कराची दोश्रो तथा लाहोर अंकतालिकाम तेश्रो स्थानमा रहँदै प्लेअफ पुगेको थियो।
मङ्सिर दोश्रो साता नेपालले मुख्य प्रशिक्षक पाउने, सकियो अन्तर्वार्ताको चरण