Home - लेख - त्यही मुस्कान फेरी देख्ने इच्छा

लेख

त्यही मुस्कान फेरी देख्ने इच्छा

Birat Raya
Administrator
Pubudu Dassanayake

पुबुदु दासानायकेसंग झन्डै ३ बर्ष अघिको मेरो पहिलो भेट अविस्मरणीय छ l भर्खर नेपाली टिमको प्रशिक्षक चुनिएका उनि टियु मैदानमा नेपाली टिमलाई अभ्यास गराऊदै थिए , म पनिअभ्यास हेर्न र उनिसंग भेट्न मैदान पुगेको थिए l

“हाई ! बिराट ” म अचम्ममा परे उनले मलाई बोलाउदा , म झसंग ! भएर अभिवादन गरे l अभ्यासको फोटो र पुबुदुको अन्तरबार्ता लिने मेरो उद्देश्य थियो, अभ्यास सकिदा साँझ पर्यो l उनले मलाई आफ्नो कारमा संगै जान अनुरोध गरे, म कसरि नाई भन्न सक्थे ? बाटोमा निकै गफ गरेको मलाई अझै पनि याद छ l

पुबुदुसंग मेरो चिनजान उनि नेपाली टिमको प्रशिक्षक चुनिनु भन्दा अघिनै फेसबुकमा भएको थियो l उनि लगायत थप केहिको नाम नेपालको प्रशिक्षक हुने सुचीमा थियो त्यसैले मैले फेसबुकमा सर्च गरि उनलाई साथी बन्ने प्रस्ताब पठाएको थिए l प्रशिक्षक घोषणा हुनु अघिनै उनिसंग कुराकानी गरेको थिए l

प्रशिक्षक भएर आएपछि मैदानमा सबै खेलाडीको अघि फेसबुकमा देखेको भरमा मलाई चिन्दा उनको तिखो स्मरण र ठुलो नहुने बानिसंग म परिचित भए l प्रशिक्षक हुने पक्का भएपछि मैले उनलाई आफ्नो फेसबुक पेज बनाउन अनुरोध गरेको थिए, उनले म्यासेज गर्दै आफ्नो फेसबुक पेज मलाई बनाईदिन अनुरोध गर्दा मेरो उत्साह उत्कर्षमा थियो l फेसबुक पेज बनाएर उनलाई एडमिन बनाएपछि उनले त्यसैलाई आफ्नो अधिकारिक पेज बनाई अपडेट गर्न थाल्दा उनले मप्रति गरेको बिश्वासको हृदय देखि सम्मान गरे l

आफ्नो कुरा ब्यक्त गर्न मन पराउने ब्यक्तिको रुपमा म उनलाई चिन्छु l मैदान पुग्दा, फेसबुकमा म्यासेज पठाउदा उनि नबोली बिरलै बसे l फेसबुक ग्रुपमा फ्यानहरुसंग प्रत्यक्ष अन्तरबार्ता होस् या टियु मैदानको चर्को घाममा फ्यानहरुसंगको अन्तरक्रिया उनले मेरो अनुरोध सायदै नाई भनेका छन् l मैदानमा भेट्दा अभिबादन गर्न उनले कहिले नमस्कार कुरेनन्, भेट्दा पहिले आफैले “हाई” भनेर मुस्काउनु उनको “ट्रेडमार्क” झैँ लाग्छ l कसैलाई पनि भेट्दा मुसुक्क हाँसेर, कसिलो हात मिलाउने बानि मलाई उनको निकै प्रिय लाग्छ, यस्तो लाग्छ उनि सबैलाई उतिकै महत्व दिने गर्छन् l

न्युजिल्यान्ड एकदिवसीय बिश्वकप छनौट प्रतियोगितामा नेपाली टोलिले निकै नमिठो हार बेहोर्यो l प्रतियोगिता पछि उनि नेपाली टोलिसंगै फर्किएका थिए l एअरपोर्टमा नेपाली टोलिलाई स्वागत गर्न औलामा गन्न सकिने समर्थकहरु पुग्दा कुनै पनि पत्रकार पुगेका थिएनन् l आँखाभरि आँसु लिएर फर्केका नेपाली टिम स्वागत गर्न राति ११ बजे एअरपोर्ट पुग्न अफ्टेरो लाग्दै पुगेको थिए l टि-२० बिश्वकप अघि उनले एउटा कार्यक्रममा त्यसबेला म मात्रै एअरपोर्ट पुगेको प्रसङ्ग कोट्याएको क्षण मेरो सम्झनामा ताजा छ l खै मलाई उनि फर्कने बिश्वास भएर हो कि उनि पछिल्लो समय क्यानाडा फर्कदा म एअरपोर्ट पुगिन l

नेपाललाई खेलकुद इतिहासकै सर्बाधिक ठुला सफलता दिलाएका प्रशिक्षक पुबुदुले मसंग पहिलो पटक कुरा गर्दा मैले क्यानाडा टिमलाई जस्तै नेपाली टिमलाई पनि बिश्वकप सम्म पुर्याउन भनेको थिए l नेपाली टोलिसंग निकै माथि पुग्ने क्षमता रहेको बारम्बार बताएका उनले आखिर गरेरै देखाईदिए l टि-२० बिश्वकपमा ऐतिहासिक सहभागिता पछि धेरैले सुनौलो क्रिकेटको भबिष्यको सपना बुन्दै गर्दा सबैले पुबुदु दासानायकेलाईनै त्यसको नायक माने l तर अस्चार्य ! उनि यतिबेला नेपाली क्रिकेट टिमको प्रशिक्षकको जिम्मेवारीमा छैनन् l सबैलाई थाहा छ उनको महत्व अझ बढी उनि संगै शिखरको सपना देखेका खेलाडीहरुलाई र क्रिकेटलाई नजिकबाट नियाल्नेहरुलाई l त्यसैले उनको अनुपस्थितिले उथलपुथल हुँदैछ जो बिना नेपाली क्रिकेट अपांग झैँ बनेको छ l

अन्तिम पटक क्यानाडा जानु अघि राति उनले कार्यक्रम राखेका थिए नजिकका केहिलाई निम्तो दिएका थिए l निकै अफ्टेरो लागेको थियो त्यो साँझ l उनले नेपाली क्रिकेटलाई सधै यस्तै समर्थन गर्न आग्रह गर्दै यो अवस्थामा झनै समर्थकहरुको साथ नेपाली क्रिकेटलाई आवस्यक रहेको सम्झाएका थिए l किन-किन मलाई उनि नेपाल नफर्कलान जस्तो त्यो बेला पनि लागेको थिएन l उनले बोल्दै गर्दा मेरा दुवै हात पछाडी थियो र हात जस्तै मेरा आँसुहरु बाँधेर राखेको थिए l उनलाई सबै कुराको लागि धन्यवाद भन्दै “तपाई फर्कनु हुन्छ” भन्दा उनले मुसुक्क हाँसेको मलाई याद छ l त्यही मुस्कान फेरी देख्ने इच्छा चाडै पुरा हुने कामना र फेरी “हाई” भनेर कसिलो हात मिलाउने प्रतिक्षामा l