भारतीय अफस्पिनर रभीचन्द्रन आश्विनले टेस्ट क्रिकेटमा व्यक्तिगत ४ सय विकेट पुरा गर्दै नयाँ कीर्तिमान बनाएका छन्।
इंग्ल्यान्डबिरुद्ध अहमदावादको नरेन्द्र मोदी स्टेडियममा जारि खेलको दोश्रो इनिंग्समा जोफ्रा आर्चरलाई एलबिडब्लु गर्दै आश्विनले नयाँ कोसेढुङ्गा पार गरेका हुन्। पहिलो इनिंग्समा ३ विकेट लिएका उनले दोश्रो इनिंग्समा ४ विकेट लिंदा विकेट संख्या ४०१ पुर्याएका छन्।
आश्विन ४ सय विकेट पुरा गर्ने विश्व क्रिकेटकै दोश्रो छिटो तथा भारतको सबैभन्दा छिटो क्रिकेटर बनेका छन्। आश्विनले यस क्रममा रिचर्ड हेडली, डेल स्टेन र रंगना हेराथलाई पछि पारेका हुन्।
सन् २०११ नोभेम्बरमा वेस्टइन्डिज बिरुद्ध टेस्ट डेब्यु गरेका आश्विनले ७७ टेस्टमा ४ सय विकेट लिएका हुन्। उनि भन्दा छिटो श्रीलंकन अफस्पिनर मुथैया मुरलिधरनले ७२ खेलमा ४ सय विकेट पुरा गरेका थिए। पूर्व न्युजिल्यान्ड फास्ट बलर रिचर्ड हेडली र दक्षिण अफ्रिकी फास्ट बलर डेल स्टेनले समान ८० खेलमा तथा श्रीलंकन देब्रे हाते स्पिनर रंगना हेराथले ८४ खेलमा ४ सयौं विकेट पुरा गरेका थिए।
That special moment 🔥#INDvENGpic.twitter.com/FIGYP7CW3y
— ICC (@ICC) February 25, 2021
बलको आधारमा ४ सय विकेट पुरा गर्ने किर्तिमानमा आश्विन विश्वकै छिटो स्पिनर हुन् भने समग्रमा पाँचौ छिटो बलर हुन्। आश्विनले २१ हजार २४२ बलमा ४ सय विकेट पुरा गरेका हुन्। सबैभन्दा छिटो डेल स्टेनले १६ हजार ४ सय २१ बलमा , अस्ट्रेलियन पेसर ग्लेन म्याकग्राथले २० हजार २ सय २६ बलमा तथा पाकिस्तानी पेसर वासिम अक्रमले २१ हजार २ सय बलमा उक्त कोसेढुङ्गा पार गरेका थिए।
टेस्ट क्रिकेटमा ४ सय विकेट लिने आश्विन चौथो भारतीय क्रिकेटर हुन्। उनि भन्दा अघि अनिल कुम्बले, कपिल देब र हरभजन सिंहले उक्त कोसेढुङ्गा पार गरेका थिए। कुम्बलेले ६१९ विकेट, कपिलले ४३४ विकेट तथा हरभजनले ४१७ विकेट लिएका छन्।
आश्विनले टेस्ट क्रिकेटमा ७७ खेलको ४४ इनिंग्समा २४.९५ को औशत र ५३.०३ को स्ट्राइक रेटले बलिंग गरेका छन्। यस क्रममा उनले २९ पटक ५ विकेट तथा ७ पटक १० विकेट लिएका छन्। उनले एकदिवसीय अन्तर्राष्ट्रियमा १११ खेलमा १५० विकेट तथा टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४६ खेलमा ५२ विकेट लिएका छन्। आश्विनले टेस्ट क्रिकेटमा ब्याटिंगमा पनि २८.१२ को औशतले ५ शतक र ११ अर्धशतक परार गर्दै २ हजार ६ सय ४३ रन बनाएका छन्।