रभी इन्दरले इपिएल इतिहासकै ठुलो इनिंग खेल्दा भैरहवाको शानदार जित

Ravi Inder Singh
  • विकेनेपाल, मङ्सिर-२३ , आइतबार  

एभरेस्ट प्रिमियर लिग इतिहासमै सर्वाधिक व्यक्तिगत रन तथा दोश्रो शतक बनाउदै रभी इन्दर सिंहले भैरहवा ग्ल्याडीएटर्सलाई शानदार जित दिलाएका छन्।

इपिएलको तेश्रो खेलमा पहिले ब्याटिंग गर्दै पोखरा राइनोजले दिएको २१६ रनको बिशाल योगफल पछ्याउने क्रममा भैरहवाले १९.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्दै शानदार जित दर्ता गरेको हो।

रभी इन्दर सिंहको अपत्यारिलो ब्याटिंग 

पहिले ब्याटिंग गर्दै पोखरा राइनोजले दिएको २१६ रनको जवाफमा ब्याटिंग गरेको भैरहवाको सुरुवात सकेन। ओपनर हरिशंकर शाह ( ० ) र प्रदिप ऐरि ( १४ ) लाई बिक्रम सोबले इनिंगको दोश्रो ओभर बलिङ्ग गर्ने क्रममा आउट गरे।

Ravi Inder Singh
Ravi Inder Singh

त्यसपछि ब्याटिंग गर्न आएका रायन टेन डोस्केट पनि ११ बलमा १ छक्का र २ चौका मदतले १६ रन बनाएर आउट भए। कप्तान शरद भेसावकर पनि ६ रन मात्रै बनाएर आउट भए।

चौथो विकेट गुमेपछि ब्याटिंग गर्न आएका आरिफ शेख र तेश्रो नम्बरमा ब्याटिंग गरेका रभी इन्दर सिंहले पाँचौ विकेटको लागि ८९ रनको साझेदारी गरे। ८९ रन बनाउ दुइ ब्याट्सम्यानले मात्र ३७ बल लगाए। आरिफ शेख १५ औं ओभरको पाँचौ बलमा सुशन भारिको बलमा बलर आफैबाट समातिन पुगे जस अघि उनले १३ बलमा २ छक्का प्रहार गरे। आरिफको विकेटपछि आएका रोहित पौडेलले ४ रन मात्रै बनाउन सके।

रोहित पौडेलको विकेट जाँदा १६ ओभरमा १७१/६ को योगफल थियो र जितको लागि ४ ओभरमा ४५ रन आवस्यक थियो।

१७ औं ओभर बलिङ्ग गर्न आएका शक्ति गौचनको ओभरको अन्तिम २ बलमा पुनित मेहराले २ वटै छक्का प्रहार गरेपछि ३ ओभरमा ३१ रन बाँकी रह्यो। १८ औं ओभरमा रभी इन्दरले बिक्रम सोबलाई १ चौका र १ छक्का प्रहार गरे पछि अन्तिम २ ओभरमा जितको लागि १७ रन आवस्यक भयो।

१९ औं ओभरमा पल कग्लिनको ओभरमा रभीले १ चौका प्रहार गरे भने कुल ११ रन भैरहवाले बनाउदा जितको लागि अन्तिम ओभरमा ६ रन आवस्यक हुन पुग्यो।

अन्तिम ओभरमा बलिङ्ग गर्न बिक्रम सोब आए जसको ओभरको पहिलो ३ बलमा १-१ रन लिंदा चौथो बलमा पुनित मेहराले २ रन बटुले। अन्तिम २ बलमा जितको लागि अब १ रन आवस्यक थियो जुन बेला पाँचौ बल बिक्रम सोबले वाइड बल फाले र भैरहवाको जित सुनिस्चित गरे।

( स्कोरकार्ड हेर्नुस )

पोखराको बलिङ्गमा सुशन भारि, पल कग्लिन र बिक्रम सोबले २/२ विकेट हात पारे पनि प्राय सबै बलरहरु महँगो सावित हुन पुगे। बिक्रम सोब सबैभन्दा किफायती बलर हुँदा ३.४ ओभरमा २५ रन खर्चिए। सुशन भारिले ४ ओभरमा ३६ रन, शक्ति गौचनले ४ ओभरमा ३९ रन, पल कग्लिनले ४ ओभरमा ५० रन, कायल कोट्जरले १ ओभरमा १७ रन खर्चिए। ट्यालेन्ट हन्टबाट टिममा स्थान बनाएका देभ शाहले २ ओभरमा ३८ रन दिए।

एभरेस्ट प्रिमियर लिग इतिहासकै दोश्रो शतक तथा सर्वाधिक व्यक्तिगत रन बनाउने क्रममा रभी इन्दर सिंहले अविजित १२५ रन बनाए जुन क्रममा मात्र ६० बलमा १० छक्का र ८ चौका प्रहार गरे। त्यस क्रममा उनले शतक प्रहार गर्न मात्र ४५ बल लगाएका थिए।

Ravi Inder Singh
Ravi Inder Singh after scoring century

यस्तै भैरहवाले इपिएल इतिहासमै सबैभन्दा ठुलो लक्ष्य पछ्याउने रेकर्ड समेत आफ्नो नाम गरेको छ। पोखराले बनाएको २१५ रन इपिएल इतिहासकै सबै भन्दा ठुलो योगफल थियो जसलाई भैरहवाले एकै खेलमा तोडेको छ।

एभरेस्ट प्रिमियर लिगको पहिलो संस्करणमा आसिफ शेखले पन्चकन्या तेजबाट खेल्दै फाइनल खेलमा कलर्स एक्स फ्याकटर्स बिरुद्ध अविजित १११ रनको इनिंग खेलेका थिए। त्यसपछि कुनै पनि ब्याट्सम्यानले शतक पुरा गर्न सकेका थिएनन्। २०१६ कै इपिएलमा पारस खड्काले बिशाल वारियर्सको लागि खेल्दै सगरमाथा लेजेन्ड्स बिरुद्ध ४५ बलमा ९९ रनको इनिंग खेले पनि शतक पुरा गर्न सकेका थिएनन्।

लिगको २०१७ को संस्करणमा हंगकंग खेलाडी समेत रहेका बाबर हायातले बिराटनगर वारियर्सको लागि खेल्दै चितवन टाइगर्स बिरुद्ध ४२ बलमा ८१ रनको इनिंग खेलेका थिए।

रभी इन्दर सिंहले गत महिना सम्पन्न पोखरा प्रिमियर लिगको फाइनलमा पोखरा पल्टनलाई जित दिलाउने क्रममा ५८ बलमा ९० रनको इनिंग खेलेका थिए। पिपिएलमा उनले ६ खेलमा २६० रन बनाउदै सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सुचीमा पहिलो स्थानमा थिए।

पन्जाबको लागि रणजी क्रिकेट खेलीसकेका ३१ बर्ष उमेर रभी इन्द्र सिंहले सन् २००७ मा प्रथम श्रेणी क्रिकेटमा डेब्यु गरेका थिए।

पहिलो इनिंगमा रिचर्ड लेभीको विस्फोटक ब्याटिंग 

दक्षिण अफ्रिकी क्रिकेटर रिचर्ड लेभीले विस्फोटक इनिंग खेलीपछि पोखरा राइनोजले एभरेस्ट प्रिमियर लिग इतिहासकै सबैभन्दा ठुलो योगफल तयार गरेको थियो।

टस जितेर ब्याटिंग गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर २१५ रनको योगफल तयार गरेको थियो।

एभरेस्ट प्रिमियर लिगको तेश्रो संस्करण आयोजना हुँदै गर्दा कुनै पनि टिमले पहिलो इनिंगमा २०० रनको योगफल पार गरेको योनै पहिलो पटक हो। यस अघि लिगको पहिलो संस्करण २०१६ मा शरद भेसावकर कप्तानीकै टिम पन्चकन्या तेजले सगरमाथा लेजेन्ड्स बिरुद्ध १८५ रनको योगफलनै इपिएलको सर्वाधिक योगफल थियो। त्यस खेलमा करन केसीले ५२ रन बनाएका थिए। सन् २०१७ को इपिएल दोश्रो संस्करणमा भने पारस खड्का कप्तानीको बिराटनगर वारियर्सले चितवन टाइगर्स बिरुद्ध १७४ रनको योगफल तयार गरको थियो जुन खेलमा बाबर हायातले ८१ रनको इनिंग खेलेका थिए।

लेभीको विस्फोटक इनिंग 

टस जितेर पहिले ब्याटिंग रोजेको पोखरा राइनोजलाई ओपनिङ्ग ब्याटिंग गरेका रिचर्ड लेभीले विस्फोटक सुरुवात दिलाए। ओपनिङ्ग साझेदारीको रुपमा लेभी र कायल कोट्जरले ८.२ ओभरमै १०४ रन जोडे।

लेभी विस्फोटक ७९ रन बनाएर आउट हुँदा ३६ बलमा ७ छक्का र ७ वटै चौका प्रहार गरे। यस क्रममा उनले मात्र २३ बलमै अर्धशतक पुरा गरे। उनलाई कृष्ण कार्कीले क्याच आउट गराए पछि भैरहवाले राहतको स्वास फेरेको थियो।

Richard Levi
Richard Levi

लेभीको विकेट पछि अर्का ओपनर कोट्जरले सुनिल धमलासंग दोश्रो विकेटको लागि ७२ रनको साझेदारी गरे। धमला ३८ रन ( २१ बल, २ छक्का र १ चौका ) प्रहार गरेर आउट भए।

धमलाको विकेट पछि ओपनर कोट्जर पनि ४७ रन बनाएर अविनाश बोहराको बलमा आउट भए। उनले २७ बलमा २ छक्का र ४ चौका हिर्काए।

धमलाको विकेटपछि बिनोद भण्डारी ( ७ ) , राजेश पुलामी ( ३ ) ले लगातार विकेट गुमाए भने अन्तिममा पल कग्लिनले अविजित २० रन बनाउदै टिमको स्कोर २०० पार गराए। उनले १ चौका र १ छक्का प्रहार गरे।

भैरहवाको लागि बलिङ्गमा अविनाश बोहरा, कृष्ण कार्की, पुनित मेहरा र रायन टेन डेस्काटेले समान १ विकेट लिए। महँगो साबित हुने क्रममा भुवन कार्कीले ३ ओभरमा ३८ रन खर्चेर विकेट विहिन रहे। यस्ती किर्ष्ण कार्कीले ४ ओभरमा ५१ रन, रायनले ४ ओभरमा ४० रन तथा अविनाशले ४ ओभरमा ३३ रन खर्चिए।

को हुन् रिचर्ड लेभी ? 

इपिएल खेल्ने सबैभन्दा ठूलो नामका रुपमा हेरिएका दक्षिण अफ्रिकी क्रिकेटर रिचर्ड लेभी टि-२० क्रिकेटमा बिष्फोटक ब्याटिंगका लागि चिनिने गर्छन्। ३० बर्षीय लेभीले सन् २०१२ मा न्युजील्याण्ड बिरुद्ध मात्र ४५ बलमा शतक बनाउंदै टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो शतक बनाउने रेकर्ड आफ्नो नाम गरेका थिए। सो रेकर्ड पछि गएर दक्षिण अफ्रिकाकै डेभिड मिलरले तोड्न पुगे। लेभीले सोहि इनिंगकै क्रममा १३ छक्का प्रहार गरेका थिए जुन सो समयमा एकै टि-२० इनिंगमा ब्याट्सम्यानले प्रहार गरेको सर्वाधिक छक्का समेत थियो।

बिष्फोटक ब्याटिंगका लागि चिनिने लेभीको इनिंगपछि इन्डियन प्रिमियर लिगको टोलि मुम्बई इन्डीयन्सले ४ लाख डलरमा उनलाई टोलीमा समेत लिएको थियो। आइपिएल क्रिकेटमा मात्र ६ खेल खेल्ने मौका पाएका लेभीले कुल ८३ रन मात्र बनाउन सके।

त्यसयता दक्षिण अफ्रिकाका लागि १३ टि-२० अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलेका लेभीको नाममा १४१.३१ को बिष्फोटक स्ट्राइक रेटमा २३६ रन रहेको छ। यस्तै इंग्ल्याण्डको काउन्टी क्रिकेटमा समरसेट र बिभिन्न घरेलु टि-२० लिगमा उनले १९८ खेल खेल्दा ५०७० रन बटुलेका छन्। अन्तिम पटक लेभीलेले अन्तिम पटक सन् २०१२ मा न्युजिल्याण्ड बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय खेलेका थिए।