रोमान्चक दोश्रो टि-२० मा अस्ट्रेलियालाई ४ रनले पराजित गर्दै घरेलु टोलि न्युजिल्यान्डले ५ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिजमा २-० को अग्रता हाँसिल गरेको छ।
युनिभर्सिटी ओभल, डुनेडीनमा सम्पन्न खेलमा न्युजिल्यान्डले दिएको २२० रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले पुरै ओभर ब्याटिंग गरेता पनि ८ विकेट क्षेतीमा २१५ रन मात्र बनाउन सक्यो।
पहिलो विकेटको लागि ३४ रनको साझेदारी गरेपछि चौथो ओभरमा २४ रन बनाएका म्याथु वेडलाई टिम साउदीले क्याच आउट गराए। त्यसपछि जोश फिलिपेले आरोन फिंचसंग ३६ रनको साझेदारी गरे। आठौँ ओभरमा १२ रन बनाएका फिंचलाई इश सोढीले क्याच आउट गराए। त्यसपछि देब्रे हाते स्पिनर मिचेल स्यान्टनरले ११ औं ओभरमा ग्लेन म्याक्सवेललाई क्याच आउट गराए। १३ औं ओभरमा स्यान्टनरले ४५ रन बनाएका जोश फिलिपेलाई तथा सोहि ओभरमा एस्टन एगर र मिचेल मार्शलाई खाता नखोल्दै पेभेलियन फर्काउदै घरेलु टिमलाई खेलमा हावी गराए।
१३ ओभरमा ११३/६ को खराब अवस्थामा पुगेको अस्ट्रेलियालाई त्यसपछि मार्कस स्टोइनिस र ड्यानियल स्याम्सले उत्कृस्ट साझेदारी गर्दै अघि बढाए।

रोमान्चक रह्यो अन्त्य
इनिंग्सको १५ औं ओभरमा स्टोइनिसले इश सोढ़ीलाई २ छक्का प्रहार गर्दै अस्ट्रेलियाको रन गति बढाएका थिए। लगत्तै ओभरमा स्याम्सले टिम साउदीको ओभरमा ३ वटा छक्का प्रहार गरे। १७ औं ओभरमा जेमीसनलाई स्टोइनिसले २ चौका तथा स्याम्सले १ छक्का प्रहार गरे।
अन्तिम ३ ओभरमा जितको लागि ३६ रन आवस्यक रहंदा १८ औं ओभर बलिंग गरेका ट्रेन्ट बोल्टले मात्र ६ रन खर्चिए। १९ औं ओभरमा टिम साउदीको ओभरमा स्टोइनिसले १ चौका र १ छक्का मद्दतले १५ रन बटुले।
अन्तिम ओभरमा जित्न १५ रन आवस्यक रहंदा खेलमा पहिलो ओभर बलिंग गर्न जेम्स निशम आए। निशमले पहिलो बलमै स्याम्सलाई क्याच आउट गराए। स्याम्सले १५ बलमा २ चौका र ४ छक्का मद्दतले ४५ रन बनाए। त्यसपछि लगातार २ बलमा स्टोइनिसलाई निशमले रन बनाउन दिएनन्। चौथो बलमा स्टोइनिसले छक्का प्रहार गरे। २ बलमा जित्न १० रन आवस्यक रहंदा स्टोइनिस क्याच आउट भए। अन्तिम बलमा झाई रिचर्डसनले चौका प्रहार गरेता पनि थोरै अन्तरले अस्ट्रेलिया जितबाट बन्चित रह्यो।
स्टोइनिसले ३७ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै ७८ रन बनाएता पनि टिमलाई जित दिलाउन पर्याप्त भएन। टि-२० अन्तर्राष्ट्रियमा स्टोइनिसको यो पहिलो अर्धशतक हो।
न्युजिल्यान्डको बलिंगमा मिचेल स्यान्टनरले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभर बलिंग गर्दै ३१ रन खर्चिए। जेम्स निशमले २ विकेट तथा इश सोढ़ी र टिम साउदीले १ विकेट लिए।
गप्टिलको आक्रामक इनिंग्स
यस अघि टस हारेर ब्याटिंग गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा २१९ रन बनाएको थियो।

न्युजिल्यान्डको लागि ओपनर मार्टिन गप्टिलले सर्वाधिक ९७ रन बनाए जुन क्रममा ५० बलमा ६ चौका र ८ छक्का प्रहार गरे। तेश्रो टि-२० अन्तर्राष्ट्रिय शतक बनाउन भने गप्टिल चुके। कप्तान केन विलियमसनले ५३ ( ३५ बलमा २ चौका र ३ छक्का ) तथा जेम्स निशमले अविजित ४५ रन ( १६ बलमा १ चौका र ६ छक्का बनाए।
गप्टिल र विलियमसनले दोश्रो विकेटको लागि १३१ रनको साझेदारी गरेका थिए। १५ औं ओभरमा गप्टिललाई ड्यानियल स्याम्सले क्याच आउट गराएपछि लगत्तै ओभरमा विलियमसनलाई एडम जाम्पाले बोल्ड गरेका थिए। लगातार विकेट गुमेपछि निशमले एक किनार सम्हाल्दै अन्तिमसम्म ब्याटिंग गरेका थिए।
अस्ट्रेलियाको बलिंगमा पेसर केन रिचर्डसनले सर्वाधिक ३ विकेट ( ४-०-४३-३ ) लिए भने ड्यानियल स्याम्स, झाई रिचर्डसन र एडम जाम्पाले समान १ विकेट लिए।
जितसंगै ५ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिजमा न्युजिल्यान्डले २-० को अग्रता हाँसिल गरेको छ। पहिलो खेलमा घरेलु टोलि ५३ रनले विजयी भएको थियो। तेश्रो टि-२० बुधबार वेलिंगटनमा खेलिनेछ।
धेरैले पढेको :-