सन्दिपको कसिलो बलिंगका बाबजुद लाहोर पराजित : पिएसएल

पाकिस्तान सुपर लिग ( पिएसएल ) अन्तर्गत नेपाली स्टार लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित टोलि लाहोर कलन्दर्सले शनिवार सम्पन्न खेलमा क्वेट्टा ग्लाडीएटर्स बिरुद्ध हार बेहोरेको छ।

आफ्नो दोस्रो खेल खेल्ने क्रममा सन्दिपले क्वेट्टा बिरुद्ध कसिलो बलिंग प्रदर्शन गरेपनि लाहोरले दिएको १४४ रनको लक्ष्य क्वेट्टाले अन्तिम बलमा ७ विकेट गुमाएर पुरा गर्दै ३ विकेटको जित हात पार्यो। खेलमा सन्दिपले ४ ओभरको स्पेलमा मात्र २० रन खर्चिंदै १ विकेट हात पारे।

खेलमा टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको लाहोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४३ रन जोडेको थियो। लाहोरका लागि कप्तान एबि डिभिलियर्सले सर्वाधिक ४५ रन जोडेका थिए। यस्तै सोहेल अख्तरले २९ र डेभिड विजाले २० रन जोड्न बाहेक अन्यको प्रदर्शन खास रहन सकेन।

अविजित ४५ रन जोड्ने क्रममा डिभिलियर्सले ४० बलमा २ चौका प्रहार गरेका थिए। यस्तै २९ रन जोड्न अख्तरले २१ बलमा १ चौका र ३ छक्का प्रहार गर्दा विजाले १६ बलमा १ छक्का सहित २० रन जोड्ने।

लगातार अन्तरालमा विकेट गुमाएको लाहोरले साझेदारी बनाउन नसक्दा सोचेको अनुरुप स्कोर जोड्न सकेको थिएन। ओपनर फखर जमान ३, सलमान बट् ५ र कोरि एन्डरसन १९ रन जोड्दै पभेलियन फर्किंदा टोलीले ७८ रन जोड्न ४ विकेट गुमाइसकेको थियो।

क्वेट्टाको बलिंगतर्फ घुलम मुद्दसरले सर्वाधिक ३ विकेट ( ४-०-२१-३ ) लिएका थिए। यस्तै सोहेल तनवीरले २ तथा मोहम्मद नवाज र अनवर अलिले समान १-१ विकेट लिएका थिए।

जवाफमा दोस्रो इनिंगमा क्वेट्टाको समेत सुरुवात राम्रो रहन सकेन। ओपनर शेन वाट्सन खाता नखोल्दौ पभेलीयन फर्किंदा टोलीले १ रनमा १ विकेट गुमाएको थियो। त्यसपश्चात व्यक्तिगत १७ रन जोड्दै अर्का बिदेशी खेलाडी रयाली रुसो आउटहुँदा क्वेट्टा २६/२ को अवस्थामा पुग्यो। त्यस लगत्तै उमर अक्मल ( ९ ) हरिस रौफको शिकार बन्दा टोली ५३/३ को अवस्थामा खस्कियो।

सुरुवाती तिन विकेट पश्चात टोलीको इनिंग उकास्न कप्तान सरफराज अहमद र अह्सन अलिले चौथो विकेटका लागी २४ रनको साझेदारी गर्दै टोलीको इनिंग अघि बढाए। एक किनारबाट विकेट खस्ने क्रम निरन्तर रहेपनि अर्को किनार भने कप्तान सरफराजले सम्हालिरहे।

संयमित भएर ब्याटिंग गर्दै खेललाई अन्तिम ओभरसम्म पुर्याएका सरफराजले अन्तिम बलमा जितको लागि २ रन आवश्यक रहंदा छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए। व्यक्तिगत ५२ रनमा अविजित रहेका उनले ३६ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

लाहोरको बलिंगतर्फ हरिस रौफले २ विकेट तथा यासिर साह, सन्दिप लामिछाने, डेभिड विजा र राहत अलिले समान १-१ विकेट लिएपनि त्यो जितका लागि पर्याप्त रहेन।

यस्तो रह्यो सन्दिपको प्रदर्शन : ( ४-०-२०-१ )

क्वेट्टाको इनिंगको छैठौं ओभरमा आफ्नो व्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दिपले बलिंगमा राम्रो सुरुवात गरे।  ओभरमा लगातार ब्याट्सम्यान उमर अक्मलमाथि दबाब बनाएका सन्दिपले ३ रन मात्र खर्चिए।

पहिलो ओभर : १, ०, ०, ०, ०, २

पहिलो ओभर पश्चात केहि बिश्राम पाएका सन्दिपले आफ्नो व्यक्तिगत दोस्रो ओभर खेलको नवौं ओभरमा गरे। ओभरको दोस्रो बलमा अह्सन अलीले छक्का प्रहार गरेपछी सन्दिपले ओभरमा १० रन खर्चिन पुगे।

दोस्रो ओभर : ०, छक्का, १, ०, २, १

खेलको बाह्रौं ओभरमा आफ्नो व्यक्तिगत तेस्रो ओभर लिएर आएका सन्दिपले ओभरको पहिलो बलमा नै क्रिजमा जमेका ब्याट्सम्यान अह्सन अलीको विकेट चट्काए। सन्दिपको सो ओभरमा बिपक्षि टोलीले मात्र ४ रन जोड्न सक्यो।

तेस्रो ओभर : विकेट, १, १, ०, १, १

खेलको सत्रौं ओभरमा आफ्नो व्यक्तिगत अन्तिम तथा चौथो ओभर लिएर आएका सन्दिपले पुन: कसिलो बलिंग प्रदर्शन गरे। बायाँ हाते ब्याट्सम्यान मोहम्मद नवाजलाई सन्दिपले ओभरमा दबाबमा राख्दा सो ओभरमा टोलीले ४ रन मात्र जोड्न सक्यो।

चौथो ओभर : १, १, ०, १, १, ०