सौरभ खनालको अपत्यारिलो ब्याटिंग

saurav khanal


  • विकेटनेपाल, जेठ १५

११ छक्का र ३ चौका , एपीएफ बलर अविनाश बोहराको एकै ओभरमा ५ छक्का प्रहार गरी मात्र ४९ बलमा अविजित ९० रन बनाएका सौरभ खनालको विस्फोटक ब्याटिंग बाबजुत पनि पश्चिमाञ्चल विकास क्षेत्रले एपीएफसंग हार बेहोर्नु परेको छ।

प्रधानमन्त्री कप प्रतियोगिताको समुह ‘ए’ अन्तर्गत पहिलो खेलमा जितको लागि १४८ रन लक्ष पछ्याएको पश्चिमाञ्चलले १३१ रन मात्रै बनाउन सक्यो जसमा सौरभ एक्लैको ९० रन सामेल थियो ।

वर्षाले पहिलो इनिंगको खेल ३७ ओभर चल्दै गर्दा रोकिंदा एपीएफ १६०/४ को स्थितिमा थियो। लगातार वर्षा पछि पहिलो इनिंग सुचारु हुन पाएन र डीएल मेथड अनुसार पश्चिमाञ्चलले दोश्रो इनिंगमा २० ओभरमा १४८ रनको लक्ष पाएको थियो।

लक्ष पछ्याउने क्रममा पश्चिमाञ्चलले पहिलो ६ विकेट १० औ ओभरमा ३२ रनको कुल स्कोरमै गुमाउन पुगेको थियो। छैठौ ओभरमा ४ विकेट गुमेपछि छैठौ नम्बरमा ब्याटिंग गर्न आएका सौरभले इनिंगको आठौ ओभरमा ज्ञानेन्द्र मल्लको बलमा पहिलो छक्का प्रहार गरेका थिए, त्यसपछि पुनः मल्लकै १० औ र १२ औ ओभरमा दोश्रो र तेश्रो छक्का प्रहार गरेका खनालले १६ औ ओभरबाट गेर परिवर्तन गरे l १६ ओभरमा बलिंग गर्न आएका अनिल शाहको ओभरमा १ छक्का र २ चौका प्रहार गरेपछि उनले अविनाश बोहराको १७ औ ओभरमा १ छक्का प्रहार गरे। भुवन कार्कीले गरेको १८ औ ओभरमा रन बटुल्न नसकेपछि अन्तिम २ ओभरमा पश्चिमाञ्चललाई जितको लागि ५७ रन आवस्यक थियो।

सौरभ खनाल 

१२ बलमा ५७ रन असम्भब जस्तो थियो तर खनालले एपीएफ तिब्र गति बलर अविनाश बोहराको १९ औ ओभरको पहिलो ३ बललाई लगातार छक्का प्रहार गर्दै असम्भबलाई सम्भब छ भनिदिए। बोहराको चौथो बलमा रन बनेन तर, पाँचौं र छैठौ बललाई खनालले पुनः पहिलो ३ बलकै बाटो देखाईदिए।

एकै ओभरमा ५ छक्का पछि अविनाश बोहराको त्यसभन्दा अघिल्लो ओभरसम्म ३-०-१४-१ को किफायती स्पेललाई ६ बलपछि ४-०-४४-१ ले खनालले महँगो बनाईदिए। खनालले एकै ओभरमा ३० रन प्रहार गरे जुन नेपाली घरेलु रास्ट्रिय क्रिकेटमा एकै ओभरमा बनेको दोश्रो सर्बाधिक रन हो। यो भन्दा अघि बिक्रम सम्बत २०६० को बिरगंज रास्ट्रिय प्रतियोगितामा राजु खड्काले सन्जम रेग्मीको एकै ओभरमा ३१ रन प्रहार गरेका थिए जुन ओभरमा खड्काले ५ छक्का र १ रन लिदै उक्त रेकर्ड राखेका थिए।

पांच छक्का पछि अन्तिम ओभरमा जितको लागि अनिल शाहको अन्तिम ओभरमा २७ रन आवस्यक थियो तर ओभरको पाचौ बलमा १ छक्का प्रहार गर्नु बाहेक अन्य बलमा बाउन्ड्री प्रहार गर्न नसक्दा पश्चिमाञ्चल लक्ष भन्दा १७ रनले पछि पर्यो र खेल १६ रनको अन्तरले गुमाउन पुग्यो।

२० ओभरमा १३१/६ मा इनिंग समाप्त गरेको पश्चिमाञ्चलको लागि खनाल बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् जुन हारको महत्वपूर्ण कारण बन्यो। एपीएफ कप्तान ज्ञानेन्द्र मल्लले सर्बाधिक ३ विकेट हात पारे।

यस भन्दा अघि एपीएफले टस हारेर ब्याटिंग गर्दै पहिले इनिंगमा ३७ ओभरमा ४ विकेट नोक्सानीमा १६० रन बनाएको थियो । उक्त अवस्थामा वर्षाले खेल रोकिएको थियो।

ओपनिंग ब्याट्सम्यान सुबाश खकुरेलले अर्धशतक प्रहार गर्दै एपीएफलाई राम्रो सुरुवात दिलाएका थिए । ४ चौका र १ छक्का प्रहार गरेका खकुरेलले लामो समय पछि आफ्नो फर्म देखाए। २२ औ ओभरमा लाल बहादुर अधिकारीको बलमा अन्तिम थापा बाट समातिएपछि पृथु बास्कोटाको विकेट लगतै गुमाएको एपीएफको लागी त्यसपछि ज्ञानेन्द्र मल्ल र प्रदिप ऐरीले पाचौ विकेटको लागि ६६ रनको साझेदारी गरे।

निकै सकारात्मक क्रिकेट खेलेका प्रदिप ऐरीले ४५ रन बनाउने क्रममा ५२ बलमा ५ चौका र १ छक्का प्रहार गरे भने ज्ञानेन्द्र मल्ल ३३ रनमा अविजित रहे । मल्लले ५२ बलमा २ चौका प्रहार गरे।

पश्चिमाञ्चलका देब्रे हाते स्पिनर लाल बहादुर अधिकारीए २ विकेट हात पारे।

पहिलो खेलमा जित हात पार्दै एपीएफले २ अंक बटुलेको छ l समुह ‘ए’ अन्तर्गत भोलि मंगलबार हुने दोश्रो खेलमा शरद भेसावकर कप्तानीको मध्यमाञ्चल र शुबेन्दु पाण्डे कप्तानीको मध्ये पश्चिमाञ्चल बीच प्रतिस्पर्धा हुनेछ l यस भन्दा अघिनै समुह ‘बि’ बात नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सेमीफाइनल प्रवेश गरिसकेका छन्।

रास्ट्रिय खेलकुद परिषद द्वारा आयोजित प्रतियोगिताको फाइनल खेल जेठ २४ गते खेलिनेछ l प्रतियोगिताको बिजेताले रु. २० लाख तथा उपविजेताले रु. १० लाख पुरस्कार पाउनेछ।

 





थप समाचार

धेरै भन्दा धेरै अभ्यासको खाँचो छः रुबिना क्षेत्री

अन्तर्राष्ट्रिय प्रतियोगितामा औपचारिक सहभागितामै सिमित हुने गरेको नेपाली राष्ट्रिय टोली मलेसियामा सम्पन्न एसिसि महिला टी–२० च्याम्पियन्ससिपमा अभागी टोली बन्यो । […]

नेपालको क्रिकेट विकासमा सहयोग गर्ने आईसीसीको प्रतिबद्धता

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा […]

एसीसी महिला टी-ट्वान्टी : मलेसियालाई हराउँदै युएई च्याम्पियन

युएईले एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको उपाधि जितेको छ । मलेसियाको किनरारा ओभलमा शनिबार भएको फाइनलमा आयोजकलाई ५ विकेटले हराएर युएईले […]

नेपालको दुर्भाग्य, वर्षाले खेल पुरा नहुँदा युएई एसिया कप खेल्न छनोट

मलेसियामा जारि एसीसी महिला टि-२० प्रतियोगिता अन्तर्गत सेमीफाइनल खेल वर्षाका कारण पुरा हुन नपाउदा समुह चरणको प्रदर्शनको आधारमा युएई फाइनल […]

नेपाल हङकङसँग पराजित

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम […]

एसीसी महिला टी-२० च्याम्पियनसिप : आज हङकङ भिड्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ । किनरारा ओभलमा नेपालले चौंथो […]