राखेप सदस्य सचिवमा पुनः सिलवाल नियुक्त

Ramesh Shilwal

राष्ट्रिय खेलकुद परिषद ( राखेप ) को सदस्य सचिवमा पुनः रमेश कुमार सिलवाल नियुक्त भएका छन्।

सिलवाल गत महिना राष्ट्रिय खेलकुद विकास ऐन लागु भएपछि पदमुक्त भएका थिए। सिलवालको स्थानमा युवा तथा खेलकुद मन्त्रालयले सहसचिव भक्तराज ढकाललाई कार्यबाहक सदस्य सचिवको जिम्मेवारी दिएको थियो।

त्यस्तै राखेपमा पहिलो पटक खुला आह्वानद्वारा सदस्य सचिव नियुक्त हुनुभएको हो । नयाँ ऐनअनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको सिफारिस समितिले पठाएको एक महिलासहित तीन जनामध्येबाट सिलवाल सदस्य सचिव नियुक्त हुनुभएको हो ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपकी पूर्वसदस्य इन्दिरा निरौला र राखेपका पूर्वअधिकृत रिम रानाभाट सदस्य रहेको समितिले सिलवासहित राष्ट्रिय महिला भलिबल टोलीकी पूर्वकप्तान अन्जु श्रेष्ठ र नेपाल भलिबल सङ्घका पूर्वउपाध्यक्ष लिलबहादुर थापाको नाम सिफारिस गरेको थियो ।

उक्त पदका लागि २७ जनाले आवेदन दिनुभएको थिथो । नयाँ ऐनअनुसार राखेपको सदस्य सचिवका लागि पाँच वटा मापदण्ड तोकिएको थियो । जसमा नेपाली नागरिक, स्नातक उत्तीर्ण, ३० वर्ष पूरा भएको, कम्तीमा पाँच वर्ष खेलकुदको अनुभव र प्रचलित कानूनले अयोग्य नभएको हुनुपर्ने उल्लेख गरिएको छ । सिलवाल गत वर्ष असार २३ गते सदस्य सचिव पदमा नियुक्त हुनुभएको थियो भने नयाँ ऐन कार्यान्वयनसँगै यही असार १८ गते उहाँ पदमुक्त हुनुभएको थियो ।

त्यसैगरी बैठकले १३औँ दक्षिण एशियाली खेलकुद (साग) को प्रचारप्रसार विभाग संयोजकको भूमिका निर्वाह गर्नुभएका शिव कोइराला राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्ष नियुक्त हुनुभएको छ । उपाध्यक्ष कोइरालाको पनि चार वर्षको पदावधि रहनेछ ।

हालसम्मका सदस्य सचिवहरुको सुची :-

स्व. होराप्रसाद जोशी : २०१५ देखि १६ सम्म

सुशीलशमसेर जवरा : २०१७ देखि २४ सम्म

स्व. खड्गविक्रम शाह : २०२४ देखि ३४ सम्म

स्व. शरदचन्द शाह : २०३४ देखि ४५ सम्म

स्व. इन्दुबहादुर शाही : २०४५ देखि ४६ सम्म

स्व. युद्धविक्रम शाह : २०४६ देखि ४८ सम्म

स्व. राजबहादुर सिंह : २०४८ देखि ५० सम्म

रुक्शशमसेर राणा : २०५० देखि ५२ सम्म

केशव स्थापित : २०५१ देखि ५२ सम्म

शरद कुमार भट्टराई : २०५२ देखि ५३ सम्म

बद्रिनाथ श्रेष्ठ : २०५३ देखि ५३ सम्म

जीवनराम श्रेष्ठ : २०५३ देखि ५४ सम्म

रुक्शशमसेर राणा : २०५४ देखि ५५ सम्म (दोस्रो कार्यकाल)

विनोदशंखर पालिखे : २०५५ देखि ५९ सम्म

किशोरबहादुर सिंह : २०५९ देखि ६३ सम्म

जीवनराम श्रेष्ठ : २०६३ देखि ६६ सम्म (दोस्रो कार्यकाल)

हरिबाबु चौधरी : २०६६ देखि ६८ सम्म

युवराज लामा : २०६८ जेठ २९ देखि २०७२ जेठ २८ सम्म

सकुन्तला नगरकोटी : २०७२ जेठ ३२ देखि २०७२ असार ९ सम्म -(कार्यवाहक)

केशवकुमार विष्ट : २०७२ असार १० देखि २०७६ असार ९ सम्म

रमे कुमार सिलवाल : २०७६ असार २३ देखि २०७७ असार १७ सम्म

( अनलाइन खबरको सहयोगमा )