रोहितको कीर्तिमानी इनिंगमा भारतको शानदार जित

  • विकेटनेपाल, मङ्सिर २७

भारत र श्रीलंकाबीच जारि एकदिवसीय सिरिजको दोश्रो खेलमा रोहित शर्माले आफ्नो करियरको तेश्रो दोहोरो शतक प्रहार गरेपछि भारतले श्रीलंकामाथि १४१ रनको सहज जित हात पारेको हो ।

पन्जाब क्रिकेट एसोसिएसनको मैदान, मोहालीमा भएको खेलमा टस हारेर ब्याटिंगको लागि उत्रेको भारतले ५० ओभरमा ४ विकेट गुमाएर ३९२ रन बनायो । उसका लागि विराट कोहलीको अनुपस्थितिमा कप्तानी गरिरहेका रोहित शर्माले अविजित २०८ रनको बिशाल पारी खेले जुन क्रममा १५३ बलको सामना गरेका उनले १३ चौका र १२ छक्का प्रहार गरे ।

रोहितले पहिलो विकेटका लागि शिखर धवनसँग ११५ रनको साझेदारी गरे। धवनले ६८ रन बनाउन ६७ बल खर्चे जसमा ९ चौका समावेश छन्। दोश्रो विकेटका लागि मात्र दोश्रो एकदिवसीय खेलिरहेका श्रेएस ऐयरसँग मिलेर २१३ रनको साझेदारी गरे। ऐयरले ८८ रन बनाए जसमा ९ चौका र २ छक्का सामेल छ। महेन्द्र सिंह धोनीले ७ रन तथा हार्दिक पाण्ड्यले ८ रन बनाए ।

श्रीलंकाका लागि कप्तान थिसारा परेराले ८ ओभरमा ८० रन खर्चेर ३ विकेट हात पारे भने नुवान प्रदिपले १० ओभरमा १०६ रन खर्चदा विकेट लिन सकेनन्।

जवाफमा उत्रेको श्रीलंकाले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २५१ रन मात्र बनाउन सक्यो । उसका लागी एन्जेलो म्याथ्युजले अविजित १११ रनको पारि खेलेपनि अन्य ब्याट्सम्यानको साथ नपाउदा श्रीलंका पराजित हुन पुग्यो। म्याथ्युजले १३२ बलमा ९ चौका र ३ छक्का प्रहार गरेका थिए । त्यस्तै असेला गुनारात्नेले ३४ रन बनाउदा निरोशन डीकेविल्लाले २२ रन बनाए भने लाहिरु थिरिमानेले २१ रन बनाए ।

भारतका लागि युज्बेन्द्र चाहलले १० ओभरमा ६० रन खर्चेर ३ विकेट हात पार्दा जस्प्रित बुम्राहले ४३ रन खर्चेर २ विकेट लिए त्यस्तै भुवनेश्वर कुमार, हार्दिक पाण्ड्य र एकदिवसीय क्रिकेटमा डेब्यु गरिरहेका वासिंगटन सुन्दरले समान १ विकेट हात पारे ।

पहिलो एकदिवसीयमा श्रीलंकाले ७ विकेटको जित हातपार्दै सिरिजमा अग्रता लिएको थियो । सिरिजको अन्तिम खेल डिसेम्बर १७ मा बिसाखापट्नममा हुनेछ ।

 

 

तेश्रो दोहोरो शतक बनाउदै रोहितले कायम गरे नयाँ इतिहास

दोश्रो एकदिवसीयमा ओपनिंग ब्याटिंग गरेका रोहितले अविजित २०८ रन बनाउदै बिश्व क्रिकेटमा तेश्रो दोहोरो शतक बनाउने किर्तिमान बनाए

बिराट कोहलीको सट्टा खेलमा कप्तानी गरेका रोहितले १५३ बल खेल्दै १३ चौका र १२ छक्का प्रहार गर्दै २०८ रन बनाए। यस क्रममा उनले शिखर धवनसंग पहिलो विकेटको लागी ११५ रनको, दोश्रो विकेटको लागि ऐएरसंग २१३ रनको साझेदारी गरेका थिए।

पहिलो ५० रन पूरा गर्न रोहितले  ६५ बल लगाएका थिए भने १०० रन ११५ बलमा पूरा गरेका थिए। त्यसपछि आफ्नो गेर परिवर्तन गरेका रोहितले १५० रन १३३ बलमा पूरा गरेका थिए भने खेलको अन्तिम ओभरमा दोहोरो शतक पुरा गर्न उनले १५१ बल लगाएका थिए।

४९ ओभर सकिंदा रोहितको स्कोर १९१ रन थियो। ५० औं ओभरको पहिलो बलमा थिसारा परेराको बलमा छक्का प्रहार गरेका रोहितले दोश्रो बलमा २ रन लिंदै स्कोर १९९ पुर्याएका थिए। लगत्तै तेश्रो बलमा २ रन लिंदै रोहितले ऐतिहासिक दोहोरो शतक पूरा गरेका थिए। दोहोरो शतक पूरा गरेपछि उनले हावामा उफ्रदै सेलिब्रेट गरेका थिए।

 

दोहोरो शतक बनाउने ब्याट्सम्यानहरु 

एकदिवसीय क्रिकेटमा पहिलो पटक सन २०१० मा सचिन तेन्दुलकरले दक्षिण अफ्रीका बिरुद्ध पहिलो पटक दोहोरो शतक ( २००* ) पूरा गरेका थिए। त्यसपछि बिरेन्द्र सेहवागले सन २०११ मा वेस्ट इन्डिज बिरुद्ध दोहोरो शतक ( २१९ ) पूरा गरेका थिए। सन् २०१३ मा रोहित शर्माले अस्ट्रेलियाबिरुद्ध २०९ रनको इनिंग खेलेका थिए भने २०१४ मा श्रीलंका बिरुद्ध २६४ रनको इनिंग खेल्दै दोश्रो दोहोरो शतक पूरा गरेका थिए। त्यसपछि २०१५ मा क्रिस गेलले जिमबे बिरुद्ध दोहोरो शतक ( २१५ ) प्रहार गरेका थिए। मार्टिन गुप्तिल ले २०१५ मै वेस्ट इन्डिज बिरुद्ध २३७ रनको इनिंग खेलेका थिए। रोहित शर्माको यो शतक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सातौं दोहोरो शतक हो।