अष्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत सोमबार सम्पन्न ४३ औं खेलमा कलम फर्गुसन कप्तानीको सिड्नी थंडरलाई ६ विकेटले हराउँदै नेपाली लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित होबार्ट हरिकेन्सले अंकतालिकामा छलांग मारेको छ।
यसअघि सातौँ स्थानमा रहेको हरिकेन्स जितसंगै ११ खेलमा ६ जित र ५ हारपछि २३ अंक बटुल्दै चौथौं स्थानमा उक्लिएको छ। ११ खेलमा ६ जित र ५ हारसहित समान २३ अंक जोडेको थंडर दोस्रो स्थानमा यथावत रहेको छ। शिर्ष स्थानमा रहेको सिक्सरको ३२ अंक रहेको छ भने थंडर, मेलबर्न स्टार्स र हरिकेन्स समान २३ अंकसहित नेट रन रेटको आधारमा क्रमशः दोस्रो, तेस्रो र चौथौं स्थानमा रहेका छन्।
Ben McDermott’s magnificent 96 sees the @HurricanesBBL storm home against the Thunder! 💪 #BBL10 pic.twitter.com/HQ2d7eNFAw
— KFC Big Bash League (@BBL) January 18, 2021
क्यानवेरा स्थित मानुका ओभल मैदानमा सम्पन्न खेलमा १७८ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याएको हरिकेन्सले १२ बल बाँकी रहँदै ४ विकेट गुमाएर सहजै लक्ष्य पुरा गर्यो। उसको लागि बेन मॅकडरमॉटले ५६ बलमा ८ चौका र ५ छक्काको मद्धतमा सर्वाधिक ९६ रन बनाए। डेबिड मलानले २८ बलमा ४२ रनको योगदान दिए जुनक्रममा ४ चौका र १ छक्का हिर्काए।
ओपनरद्वय ज्याक विल्स खाता नखोली तथा डार्सी सर्ट ६ रन बनाएर आउट भएपछि मॅकडरमॉट र मलानले तेस्रो विकेटको लागि १०९ रनको शतकीय साझेदारी गर्दै हरिकेन्सको इनिंग सम्हाले। मलानलाई तन्विर साँगाले आउट पारेपछि मॅकडरमॉटले कप्तान पिटर ह्यान्ड्सकम्बसँग चौथौं विकेटको लागि ४३ रनको साझेदारी गर्दै हरिकेन्सलाई जिततर्फ उन्मुख पारे।
साँगाले व्यक्तिगत दोस्रो विकेट हात पारे क्रममा मॅकडरमॉटलाई पेभेलियनको बाटो देखाए। शतक प्रहार गर्नबाट मात्र ४ रनले चुकेका मॅकडरमॉटले यसअघि हरिकेन्सको जितको आधार तयार पारि सकेका थिए। उनि आउट हुदाँ हरिकेन्सलाई २१ बलमा मात्र १३ रनको आवश्यकता रहेको थियो। कप्तान ह्यान्ड्सकम्बले १६ बलमा २ चौका र १ छक्काको मद्धतमा अविजित २१ तथा टिम डेबिडले २ बलमा अविजित ७ रन बनाउँदै हरिकेन्सलाई सहज जित दिलाएका थिए।
थंडरको बलिंगतर्फ तन्विर साँगाले (४-०-४५-२) सर्वाधिक २ तथा न्याथन म्याकएन्ड्रयु र एडाम मिल्नेले समान १ विकेट लिए।
यसअघि ब्याट फिलिप हारेर ब्याटिंगको निम्तो पाएको थंडरले निर्धारित २० ओभरमा ५ विकेट गुमाए १७७ रन बनाएको थियो। थंडरको ब्याटिंगमा स्याम बिलिंग्सले ३४ बलमा ४ चौका र १ छक्काको मद्धतमा सर्वाधिक ५० रन बनाए। एलेक्स हेल्सले २९, उस्मान खवाजाले २७ तथा कलम फर्गुसनले २३ रनको योगदान दिए।
Sam Billings brings up his fifty, but departs the very next ball!
Thunder now 5-143 in the 18th over #BBL10 pic.twitter.com/P2AN4jLVFi
— KFC Big Bash League (@BBL) January 18, 2021
ओपनरद्वय हेल्स र खवाजाले पहिलो विकेटको लागि ६४ रनको साझेदारी गरे। आठौँ ओभरमा स्कोट बोल्याण्डले हेल्स,खवजा र डेविसलाई आउट पारेपछि फर्गुसनले बिलिंग्ससँग चौथौं विकेटको लागी ६८ रनको साझेदारी गरे। अन्तिममा बेन कटिंग र ड्यानियल स्याम्सले ३४ रनको अविजित साझेदारी गर्दै थंडरलाई प्रतिस्पर्धात्मक योगफलतर्फ डोर्याए।
होबार्टको बलिंगमा स्कोट बोल्याण्डले (४-०-४१-४) सर्वाधिक ४ तथा न्याथन एल्लिसले १ विकेट हात पारे।
यस्तो रह्यो नेपाली लेग स्पिनर सन्दिप लामिछानेको प्रदर्शन
जारि सिजन बिग ब्यास लिग अन्तर्गत व्यक्तिगत पाचौं खेल खेल्ने क्रममा नेपाली लेग स्पिनर सन्दिप लामिछाने ४ ओभरमा २३ रन खर्चिएर विकेटविहिन रहे।
पहिलो ओभर : ६ रन ( ० , १ , १ , वाइड, १ , ० , लेगबाई-२ )
पावरप्ले भित्र पाँचौ ओभरमा बलिंग सुरुवात गरेका सन्दिपले पहिलो ओभरमा मात्र ६ रन खर्चिए। क्रिजमा जमीसकेका एलेक्स हेल्स र उस्मान ख्वाजाले सन्दिपलाई खुलेर खेल्न सकेनन्।
दोश्रो ओभर : ९ रन ( १ , २ , ० , ४ , १ , १ )
सातौँ ओभरमा दोश्रो ओभर बलिंग गर्ने क्रममा ओभरको चौथो बलमा उस्मान ख्वाजाले सन्दिपको बललाई अघि बढेर कभर माथि चौका हिर्काए। त्यस बाहेक सन्दिपले ओभरमा कसिलो बलिंग गरे।
तेश्रो ओभर : ५ रन ( ० , १ , १, १ , १ , १ )
दशौँ ओभरमा बलिंग गर्न आएका सन्दिपले ओभरमा मात्र ५ रन खर्चिए। पहिलो बल डट गरेपछि बाँकी ५ बलमा कलम फर्गुसन र स्याम बिलिंग्सले १/१ रन लिंदै ओभर सके।
चौथो ओभर : १० रन ( १ , ४ , १ , १ , वाइड, ० , वाइड , १ )
१३ औं ओभरमा स्पेलको अन्तिम ओभर गरेका सन्दिपलाई दोश्रो बलमा कलम फर्गुसनले चौका हिर्काए। ओभरमा सन्दिपले लेग स्टम्प बाहिर दुई वटा वाइड बल फाले।
प्रतियोगितामा यो सिजन सन्दिपले ५ खेलमा ४ विकेट लिएका छन्। उनले सिजनको पहिलो खेलमा मेलबर्न स्टार्स बिरुद्ध २ विकेट तथा स्टार्स बिरुद्ध दोश्रो खेलमा १ विकेट लिएका थिए। यस्तै तेश्रो खेलमा सिड्नी थन्डर्स बिरुद्ध सन्दिपले १ विकेट लिएका थिए।