सन्दिप र सोमपालको घातक बलिङ्ग, नेपालको बिशाल जित

Nepal Cricket Team

सन्दिप लामिछाने र सोमपाल कामिले उत्कृस्ट बलिङ्ग गरेपछि नेपालले युएईलाई दोश्रो एकदिवसीयमा १४५ रनको बिशाल अन्तरले पराजित गरेको छ।

यो नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो रन अन्तरको जित हो भने एकदिवसीय अन्तरराष्ट्रियमा दोशो जित हो। नेपालले पहिलो पटक नेदरल्याण्डलाई गत वर्ष पराजित गरे पछि योनै दोश्रो जित बनेको हो।

जितसंगै पहिलो एकदिवसीयमा पराजित भएको नेपालले सिरिज १-१ ले बराबरी गरेको छ।

खेलमा टस जितेर नेपालले पहिले ब्याटिंग गरेको थियो र निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४२ रनको योगफल तयार गरेको थियो। लक्ष्य पछ्याउने क्रममा युएईले १९.३ ओभरमा ९७ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।

सोमपाल र सन्दिपको घातक बलिङ्ग 

नेपालले दिएको २४३ रनको लक्ष पछ्याउने क्रममा अत्यन्त नाजुक ब्याटिंग गरेको युएईले सुर्वती ४ विकेट २९ रनको योगफलमै गुमाउन पुगेको थियो। सुरुवाती ४ विकेट सोमपाल कामिले दिलाएका थिए।

त्यसपछि पनि युएईको विकेट जाने शिलशिला रोकिएन र सन्दिप लामिछानेले पनि ४ विकेट लिंदा युएई धरासायी बन्न पुग्यो। सन्दिपले १५ औं ओभरमा ३ विकेट लिएका थिए।

युएईको लागि मोहम्मद उस्मानले २६, अश्फाक एहमदले २० तथा कप्तान मोहम्मद नबिदले १९ रन योगदान दिए।

सोमपाल कामिले करियरकै उत्कृस्ट बलिङ्ग गर्दा ६.३ ओभरमा १ मेडन ओभर सहित ३३ रन खर्चेर ५ विकेट लिए। यस्तै सन्दिप लामिछानेले ४ विकेट लिन १ मेडन ओभर सहित २४ रन खर्चे। एउटा विकेट रनआउटको रुपमा नेपालले प्राप्त गर्यो।

सोमपालको रेकर्ड 

सोमपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५ विकेट लिएको पहिलो पटक हो भने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि बलरले ५ विकेट पुरा गरेको यो पहिलो अवसर हो। यस भन्दा अघि सन्दिप लामिछानेले युएईसंग एसिया कप छनौट प्रतियोगितामा ४ विकेट लिएका थिए भने नेदरल्याण्डसंग गत वर्ष एकदिवसीय सिरिजमा पारस खड्काले पनि ४ विकेटनै लिएका थिए।

सोमपालले आफ्नो बलिङ्ग करियरमा ५ विकेट लिएको यो दोश्रो पटक हो। यस भन्दा अघि उनले युएईसंग बिश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलमा ५ विकेट लिएका थिए।

नेपालको ब्याटिंग 

टस जितेर पहिले ब्याटिंग गरेको नेपाललाई ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीले राम्रो सुरुवात दिलाए। पहिलो विकेटको लागि दुवैले ६१ रनको साझेदारी गरे।

बिनोद १६ औं ओभरमा अमिर हयातको बलमा क्याच आउट भए भने १९ औं ओभरमा मल्ललाई जहुर खानले क्याच आउट गराए। बिनोदले २१ रन ( ४६ बलमा २ चौका ) तथा ज्ञानेन्द्रले ४४ रन ( ६१ बलमा ४ चौका ) प्रहार गरे।

दुवै ओपनर पेभेलियन फर्किए पछि नेपालले लगातार विकेट गुमायो। १० रन बनाएका दिपेन्द्र ऐरि अस्फाक एहमदको बलमा एलबिडब्लु आउट भए भने पाँचौ नम्बरमा ब्याटिंग गरेका पवन सर्राफ पनि ८ रन बनाएर इमरान हैदरको बलमा लंग अनमा ठुलो सट प्रयास गर्दा क्याच आउट भए। २१ रन बनाएर एउटा किनार सम्हालीरहेका कप्तान पारसलाई पनि हैदरले एलबिडब्लु आउट गरे। खड्काले ३१ बलमा १ चौका हिर्काए।

१५.३ ओभरमा ६१/१ बाट नेपालको योगफल २९ ओभर समाप्तिमा ११३/५ को नाजुक अवस्थामा पुग्यो।

नेपाललाई त्यसपछि सिरिजमा पहिलो खेल खेलीरहेका रोहित पौडेल र आरिफ शेखले अर्धशतकीय साझेदारी गर्दै अघि बढाए। ८२ रनको साझेदारी गर्दै नेपालको योगफल २०० नजिक पुर्याएपछि आरिफ ४५ औं ओभरमा इमरान हैदरको एलबिडब्लु शिकार भए। आरिफले २९ रन बनाउदा ४९ बलमा २ चौका प्रहार गरे।

Rohit Paudel
Rohit Paudel

आरिफको विकेटपछि रोहित पौडेल पनि अर्धशतक पुरा गरे पछि अमिर हयातको बलमा क्याच आउट हुन पुगे। एकदिवसीय क्रिकेटमा अर्धशतक प्रहार गर्ने पाँचौ नेपाली ब्याट्सम्यान बन्ने क्रममा रोहितले ५५ रन बनाउन ५८ बलमा ७ चौका प्रहार गरे।

आठौं नम्बरमा ब्याटिंग गरेका करन केसीले अमिर हयातले गरेको ४७ औं ओभरमा २ छक्का प्रहार गर्दै योगफल बढाए। त्यसै ओभरमा उनि १८ रन बनाएर आउट भए जुन क्रममा ११ बलमा १ चौका र २ छक्का हिर्काए। सोमपाल कामि २ रन बनाएर आउट भए।

अन्तिममा सन्दिप लामिछानेले २ चौका प्रहार गर्दै अविजित १४ रन तथा ललित राजबंशीले अविजित ३ रन बनाउदै इनिंग समाप्ति गरे। नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २४२ रनको योगफल तयार गर्यो।