१३ औं आईपीएल अन्तर्गत ५१ औं खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गर्दै प्ले-अफ सम्भावना कायमै राखेको छ।
शारजाह स्टेडियममा बैंगलोरले दिएको १२१ रनको लक्ष्य हैदरावादले ५ विकेट गुमाएर १४.१ ओभरमै पुरा गर्यो।
हैदरावादको लागि ओपनर रिद्दीमान साहाले सर्वाधिक ३९ रन बनाए जसले ३२ बलमा ४ चौका र १ छक्का प्रहार गरे। मनिष पाण्डे र जेसन होल्डरले समान २६ रन बनाए। अभिषेक शर्मा, डेभिड वार्नर र केन विलियमसनले समान ८ रन बनाए।

ओपनर डेभिड वार्नर दोश्रो ओभरमा ८ रन बनाएर वासिंगटन सुन्दरबाट क्याच आउट भएपछि दोश्रो विकेटको लागि साहाले मनिष पाण्डेसंग ५० रनको साझेदारी गरे। सातौँ ओभरमा पाण्डेलाई युज्भेन्द्र चहलले क्याच आउट गराए।
तेश्रो विकेटको लागि साह र केन विलियमसन बीच २२ रनको साझेदारी भयो। जित सहज देखिदै गर्दा ११ औं ओभरमा साहालाई चहलले विकेटकिपर डी भिल्लीयर्सबाट स्टम्प आउट गराए। १३ औं ओभरमा ओभरमा विलियमसनलाई इसुरु उडानाले क्याच आउट गराउदै बैंगलोरलाई खेलमा फर्काए।
त्यसपछि जेसन होल्डरले आक्रामक ब्याटिंग गर्दै टिमलाई जित नजिक पुर्याए। होल्डरले पाँचौ विकेटको लागि अभिषेक शर्मासंग २७ रनको साझेदारी गरे। शर्मालाई नभदिप सैनीले १४ औं ओभरमा आउट गरेता पनि हैदरावाद जित नजिक पुगीसकेको थियो। १६ औं ओभरको पहिलो बलमा चहललाई छक्का हिर्काउदै होल्डरले टिमलाई जित दिलाए।
बैंगलोरको बलिंगमा युजभेन्द्र चहलले सर्वाधिक २ विकेट ( ३.१-०-१९-२ ) लिए। वासिंगटन सुन्दर ( ३-०-२१-१ ) र इसुरु उडाना ( ३-०-२०-१ ) र नभदिप सैनी ( २-०-३०-१ ) ले समान १ विकेट लिए।
बैंगलोरको ब्याटिंग
यस अघि टस हारेर ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १२० रन बनाएको थियो।
बैंगलोरको लागि जोश फिलिप्पेले सर्वाधिक ३२, एबि डी भिल्लीयर्सले २४, वासिंगटन सुन्दरले २१ तथा गुरकिरत मान सिंहले अविजित १५ रन बनाए। बिराट कोहलीले ७ तथा देभदत्त पडीक्कलले ५ रन मात्र बनाउन सके।
बैंगलोरको सुरुवात राम्रो रहन सकेन। ५ रन बनाएका देभदत्त पडीक्कल तथा त्यसपछि ७ रन बनाएका कप्तान बिराट कोहलीलाई सन्दिप शर्माले पेभेलियन फर्काए। तेश्रो विकेटको लागि फिलिप्प्पे र डी भिल्लीयर्सले ४३ रनको साझेदारी गरे। ११ औं ओभरमा डी भिल्लीयर्सलाई शहबाज नदीमले तथा १२ औं ओभरमा फिलिप्पेलाई राशिद खानले क्याच आउट गराउदै पुनः बैंगलोरलाई दबाबमा ल्याए।
पाँचौ विकेटको लागि वासिंगटन सुन्दर र गुरकिरत सिंहले ३० रनको साझेदारी गर्दै योगफल १०० पार गराए। १८ औं ओभरमा सुन्दरलाई टि नटराजनले आफैद्वारा क्याच आउट गराए। त्यसपछि १९ औं ओभरमा जेसन होल्डरले क्रिस मोरिस र इसुरु उदानाको विकेट लिंदै बैंगलोरलाई निरन्तर दबाबमा राखे।
हैदरावादको बलिंगमा सन्दिप शर्मा ( ४-०-२०-२ ) र जेसन होल्डरले ( ४-०-२७-२ ) लिए। टि नटराजन ( ४-०-११-१ ) , शाहबाज नदीम ( ४-०-३५-१ ) र राशिद खान ( ४-०-२४-१ ) ले समान १ विकेट लिए।
अंकतालिका, प्ले-अफ सम्भावना र आगामी खेल
१३ खेलमा छैठौं जित दर्ता गर्दै १२ अंकका साथ हैदरावाद अंकतालिकाको चौथो स्थानमा उक्लेको छ। समान १२ अंक रहेता पनि नेट रन रेटमा पछि पर्दै पन्जाब पाँचौ, राजस्थान छैठौं र कोलकाता सातौँ स्थानमा रहेका छन्। हार पछि बैंगलोर १३ खेलमा १४ अंकका साथ दोश्रो स्थानमा यथावत रहेको छ।
हैदरावाद प्लेअफ पुग्न अब अन्तिम खेलमा मुम्बईलाई पराजित गर्नुपर्नेछ। नेट रन रेट राम्रो रहेकाले १४ अंक भएको अवस्थामा अन्य टिमले अंक बराबरी गरेता पनि हैदरावादले जित्ने सम्भावना प्रवल छ। हैदरावाद मुम्बईसंग पराजित भएमा भने प्लेअफ पुग्ने सम्भावना सकिन्छ।
बैंगलोर प्ले अफ पुग्नको लागि पनि अन्तिम खेलमा जित आवस्यक रहेको छ। बैंगलोरले अन्तिम खेल दिल्लीसंग खेल्नेछ जुन खेलमा बैंगलोर पराजित भएको खण्डमा अन्य टिमको नतिजाको आधारमा अघि बढ्ने नबढ्ने थाहा हुनेछ।
हालसम्म मुम्बई १८ अंक बटुल्दै प्ले-अफ तथा शिर्ष-२ मा स्थान पक्का गरिसकेको छ भने चेन्नाई प्लेअफ पुग्न असफल भैसकेको छ।
लिग अन्तर्गत हैदरावादले आगामी खेल मंगाबर मुम्बई इन्डीएन्स बिरुद्ध तथा बैंगलोरले सोमबार दिल्ली बिरुद्ध खेल्नेछ।
आइतबार पनि २ खेल हुनेछन्। ३:४५ बजे दिउसोको खेलमा पन्जाब र चेन्नाई तथा ७:४५ बजे राति कोलकाता र राजस्थान बीच प्रतिस्पर्धा हुनेछ।
यो पनि पढ्नुस –
दिल्लीको लगातार चौथो हार, सहज जित पछि मुम्बईको शिर्ष-२ स्थान पक्का
हैदरावादलाई झट्का, विजय शंकर लिगबाट बाहिर
अनुशासन उल्लंघन गर्दा गेललाई कारवाही, स्वीकारे गल्ति
अफ्रिदीले घातक बलिंग गर्दा, टेलरको शतकका बाबजुद पाकिस्तानसंग जिम्बाब्वे पराजित