परिवारमा घटेको अप्रिय घटना बारे रैनाको ट्वीट

चेन्नाई सुपर किंग्सका स्टार ब्याट्सम्यान तथा पूर्व भारतीय क्रिकेटर सुरेश रैनाले पन्जाबमा आफ्नो नातेदारको ह’त्या पछि सोशल मिडियाको माध्यमबाट पन्जाब पुलिसलाई चाडै भन्दा चाडै घटनाको दोषीलाई कारवाहीको माग गरेका छन्। रैनाका अनुसार उनको काकाको परिवार माथि हमला भएको थियो जसमा ५८ वर्षीय काका र उनको छोराको ज्यान गएको छ। काकाको अर्को छोरा पनि गम्भीर रुपमा घाइते रहेका छन् र जीवन-मृत्युसंग संघर्षरत रहेका छन्।

“मेरो परिवारमा जे भएको थियो त्यो निकै त्रासदीपूर्ण छ। मेरो अंकलको ज्यान गएको छ भने काकी र २ जना भतिज गम्भीर घाइते भएका थिए। त्यसमध्ये दुर्भाग्यवस १ जना भतिजको मृत्यु भएको छ भने अर्को भतिजको अवस्था पनि गम्भीर रहेको छ” रैनाले ट्वीट गरेका छन्।

“अहिलेसम्म पनि यो घटना कसले गरेको र के भएको थियो थाहा हुन सकेको छैन। म पन्जाब पुलिसलाई यो घटना हेर्न आग्रह गर्छु। हामीलाई कम्तिमा यो जाने हक छ कि यो विभत्स घटना कसले गराएको हो। ति अपराधीहरुलाई छोड्नु हुँदैन जसले अगाडी पनि यस्तो खालको घटना घटाउन सक्छन्” रैनाले थप ट्वीटमा लेखेका छन्।

जीन्युजका अनुसार उक्त घटना १९ अगस्टको राति भएको थियो। खबरका अनुसार परिवारको सबै सदस्यहरु छतमा सुतेका थिए। रैनाको काकाको टाउकोमा चोट लागेपछि घटनास्थलमा मृत्यु भएको थियो। घटना भएको बेला रैना चेन्नाईमा टिमसंग अभ्यास गरिरहेका थिए। त्यसपछि चेन्नाई टिमसंगै रैना युएई पुगेका थिए। शनिवार रैनाले एक्कासी लिग छाड्ने र भारत फर्कने निर्णय लिएका थिए।

“सुरेश रैना व्यक्तिगत कारणले भारत फर्किएका छन् र उनि पुरा सिजन आईपीएलको लागि उपलब्ध हुने छैनन्। चेन्नाई सुपर किंग्सले उनि र उनको परिवारलाई यो समयमा पुरा साथ दिनेछ।” रैना फर्केपछि चेन्नाईले बिज्ञप्तिमा बताएको थियो।

रैना यो पटक आईपीएल नखेल्ने निर्णय गर्दै युएईबाट भारत फर्किएका थिए। त्यसपछि रैना किन भारत फर्किएको भन्ने विषयमा बिभिन्न आंकलन गरिएको थियो। उनको नातेदारको हत्याको कारणले उनले यस्तो कदम उठाएको पनि बताईएको थियो। यस्तै उनले होटलको कोठाको विषयमा चेन्नाई टिमसंग विवाद गरेको कुरा पनि अघि आएको थियो। चेन्नाईका टिम मालिक एन श्रीनिवासनले रैनाले ११ करोड भारु गुमाउने र अझै पनि उनको लागि युएईको बाटो खुला रहेको बताएका थिए। 

आईपीएल २०२० सेप्टेम्बर १९ देखि सुरु हुँदै नोभेम्बर १० सम्म आयोजना हुनेछ।