युएईसंग नेपालको दुर्भाग्यपूर्ण हार

  • विकेटनेपाल, चैत ३० 

मलेसियामा जारि आईसीसी अन्डर-१९ विश्वकप छनौट एसिया प्रतियोगिता अन्तर्गत नेपाल दोश्रो खेलमा युएईसंग डी/एल मेथडमा १ रनले पराजित भएको छ।

यस अघि शुक्रबार सम्पन्न पहिलो खेलमा नेपालले सिंगापुरलाई  २१७ रनको विशाल अन्तरले पराजित गरेको थियो। दोश्रो खेलमा पराजित भए पछि अब नेपाल यु-१९ विश्वकपमा छनौट हुन बाँकी खेल जित्नु पर्नेछ भने युएईको हारको कामना गर्नुपर्नेछ।

प्रतियोगिता अन्तर्गत नेपालले आगामी खेल १५ अप्रिलमा मलेसियासंग बायुमास ओभल मैदानमा, १६ अप्रिलमा ओमानसंग एसटिसी मैदानमा र १८ अप्रिलमा अन्तिम खेल कुवेतसंग किनरारा मैदानमा खेल्नेछ।

नेपाल सहित, आयोजक मलेसिया, कुवेत, ओमान, सिंगापुर र युएई गरि ६ टोलि सहभागी प्रतियोगिताको विजेता टिम सन् २०२० जनवरी/फेब्रुवरीमा दक्षिण अफ्रीकामा आयोजना हुने यु-१९ विश्वकप खेल्न छनौट हुनेछ।

युएईले यस अघि आयोजक मलेसियालाई ५ विकेटले पराजित गरेपछि उसको २ जित भएको छ। अब युएईले बाँकी ३ खेल जितेको खण्डमा नेपालको २०२० यु-१९ विश्वकप खेल्ने सपना चकनाचुर हुनेछ।

डीएलएस मेथडमा नेपाल यसरी भयो पराजित  

किनरारा ओभलमा टस युएईले जितेपछि नेपाललाई ब्याटिंगको निम्तो दिएको थियो। नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २४७ रनको योगफल तयार गर्यो।

लक्ष्य पछ्याउने क्रममा युएईले ३० ओभरमा ३ विकेट गुमाएर १२२ रनको योगफल तयार गरेको थियो। जितको लागि युएईलाई २० ओभरमा १२६ रन आवस्यक रहेको बेला वर्षाले खेल रोकिन पुग्यो र पुनः सुचारु हुन सकेन।

खेल पुनः सुचारु नहुँदा डीएलएस मेथडमा युएई १ रनले अघि हुँदा नेपाल १ रनले पराजित भएको हो। डिएलएस पार स्कोरमा युएईले ३ विकेट गुमेको अवस्थामा ३० ओभरमा १२१ रन बनाउनु पर्ने थियो।

डी/एल पार स्कोर तालिका 

 

लक्ष्य पछ्याउने क्रममा युएईले  पहिलो २ विकेट २१ रनको योगफलमा गुमाएको थियो। ओपनर सायद हैदरलाई कमल ऐरिले इनिंगको पहिलो ओभरमा आउट गरेका थिए भने अर्का ओपनर आर्यन लकरा ४ रनमा रन आउट भएका थिए।

तेश्रो विकेटको लागि भी अर्भिन्द र अंश टण्डनले १०१ रनको साझेदारी गरेका थिए। नेपालको लागि खतरा बन्दै गएको साझेदारीलाई देब्रे हाते स्पिनर सागर ढकालले ३० औं ओभरमा तोडेका थिए। सोहि विकेट लगत्तै खेल पनि वर्षाले रोकियो।

टण्डन ५४ रन बनाएर आउट भए भने अरभिन्द ४७ रनमा अविजित थिए।

नेपालको लागि बलिङ्गमा कमल ऐरि ( ५-०-२६-१ ) र सागर ढकाल ( ५-०-१५-१ ) ले १/१ विकेट लिए।

Hari Chauhan

नेपालको ब्याटिंग , हरि चौहान र भिमको उत्कृस्ट साझेदारी 

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा नेपालको लागि हरि बहादुर चौहानले अविजित ६७ ( ७४ बलमा ७ चौका ) , भिम शार्कीले ५३ ( ५४ बलमा ४ चौका र २ छक्का ) र रित गौतमले ४४ रन ( ७३ बलमा ३ चौका ) बनाएका थिए।

पहिलो ५ विकेट गुम्दा ११५ रन बनाएको नेपालको इनिंगलाई भिम र हरिले ९२ रनको साझेदारी गर्दै उकासेका थिए।

आसिफ शेखले २७, रोहित पौडेलले १८ तथा पवन सर्राफले १२ रन योगदान दिए। युएईले १६ रन अतिरिक्त खर्चियो।