Nepal U16 Vs Myanmar U16
Live Score +
Home - नेपाल रास्ट्रिय क्रिकेट टिम ( पुरुष ) - जोराको कीर्तिमानी अर्धशतकका बाबजुत पहिलो टि-२० मा नेपाल पराजित

नेपाल रास्ट्रिय क्रिकेट टिम ( पुरुष )

जोराको कीर्तिमानी अर्धशतकका बाबजुत पहिलो टि-२० मा नेपाल पराजित

Wicketnepal Staff
Editor
  • 5.2K
  •  
  •  
  •  
  •  
  •  
    5.2K
    Shares

  • विकेटनेपाल –  १७ माघ, बिहिबार 

आज सुरु भएको टि-२० सिरिज अन्तर्गत पहिलो खेलमा युएईसंग नेपाली क्रिकेट टिम २१ रनले पराजित भएको छ।

योसंगै ३ टि-२० को सिरिजमा युएईले १-० को अग्रता लिएको छ। यस अघि एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पनि नेपाल १-० ले पछि पर्दै लगातार २ खेल जित्दै २-१ ले सिरिज जित्न सफल भएको थियो। हालसम्म नेपालले टि-२० अन्तर्राष्ट्रिय सिरिज जित्न सकेको छैन।

युएईले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभर ब्याटिंग गरे पनि ७ विकेट गुमाएर १३२ रन मात्रै बनाउन सक्यो। सिरिज अन्तर्गत दोश्रो खेल भोलि शुक्रबार नेपाली समय २:४५ बजे सुरु हुनेछ।

लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात राम्रो हुन सकेन। ओपनिङ्ग ब्याटिंगमा आएका प्रदिप ऐरि इनिंगको पहिलो बलमै मोहम्मद नबिदको बलमा एलबिडब्लु आउट भए।

पहिलो पटक ओपनिङ्ग ब्याटिंग गर्न आएका पारस खड्काले त्यसपछि ज्ञानेन्द्र मल्लसंग दोश्रो विकेटको लागि ३१ रनको साझेदारी गरे। मल्ल ७ रन बनाएर सुल्तान एहमदको बलमा क्याच आउट भए। त्यसपछि दिपेन्द्र ऐरि पनि ४ रन बनाएर अमिर हयातको बलमा क्याच आउट हुन पुगे।

४ चौका मदतले २५ रन बनाएका पारस खड्का पनि जहुर खानको बलमा आउट हुँदा समस्यामा परेको नेपालको इनिंग त्यस लगत्तै रोहित पौडेलको विकेटले झनै मुस्किलमा पुग्यो। ४ रन बनाएका पौडेललाई पनि जहुरले क्याच आउट गराउदा नेपाल १० ओभरमा ५६/५ को अवस्थामा पुग्यो।

छैठौं विकेटको लागि टि-२० अन्तर्राष्ट्रियमा डेब्यु गरिरहेका सन्दिप जोराले करन केसीसंग ३३ रनको साझेदारी गरे। ४ रन बनाएका केसी सुल्तान एहमदको बलमा कट एण्ड बोल्ड भए।

Sandeep Jora
Sandeep Jora

त्यसपछि ब्याटिंग गर्न आएका सोमपाल कामिसंग जोराले ३९ रनको साझेदारी गर्दै नेपाललाई जितको नजिक पुर्याउने प्रयास गरे। १९ बलमा १ चौका र १ छक्का प्रहार गरे सोमपाल २० औं ओभरमा नबिदको बलमा कट एण्ड बोल्ड भए। सोमपाल र जोराको साझेदारीको बाबजुत नेपाल लक्ष्य भन्दा अझ परनै रह्यो। फलस्वरूप पुरै २० ओभर ब्याटिंग गरे पनि नेपालले ७ विकेट गुमाएर १३२ रन मात्रै बनाउन सक्यो र २१ रनको हार बेहोर्न पुग्यो।

टि-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका सन्दिप जोराले अविजित ५३ रन बनाए जुन क्रममा ४६ बलमा ३ चौका र १ छक्का प्रहार गरे। सन्दिप लामिछाने २ रनमा अविजित रहे।

नेपालको लागि टि-२० अन्तर्राष्ट्रियमा अर्धशतक पुरा गर्ने जोरा पारस खड्का र सुबास खकुरेल पछि तेश्रो खेलाडी हुन् भने डेब्युमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी पनि बनेका छन्। टि-२० डेब्यु गर्ने क्रममा ज्ञानेन्द्र मल्लले २०१४ को टि-२० बिश्व कपमा हंगकंगसंग ४८ रन बनाएका थिए तर अर्धशतक बनाउनबाट चुकेका थिए।

टि-२० अन्तर्राष्ट्रियको डेब्युमा अर्धशतक पुरा गर्ने जोरा २० औं ब्याट्सम्यान हुन्।

युएईलाई जित दिलाउन मोहम्मद नबिद ( ४-०-१९-२ ) , सुल्ताम एहमद ( ४-०-२६-२ ) र जहुर खान ( ४-०-१७-२ ) ले २/२ विकेट लिए भने अमिर हयातले १ विकेट लिए।

युएईको ब्याटिंग 

टस जितेर बलिङ्ग रोजेको नेपालको सुरुवात राम्रो रह्यो । दोस्रो ओभरको पहिलो बलमा नै सन्दिप लामिछानेले युएईका अस्फाक अहमद ( २ ) लाई पभेलियनको बाटो देखाएपछि घरेलु टोलीले मात्र ३ रन जोड्दा पहिलो विकेट गुमाएको थियो । अहमद सन्दिपको टि-२० अन्तर्राष्ट्रिय करियरको पहिलो विकेट समेत बने ।

टोलिले खातामा थप १६ रन जोड्दा घुलाम शब्बेर ( ८ ) सोमपाल कामीको बलमा ठूलो सट हिर्काउने चक्करमा डेब्यु गरेका खेलाडी सन्दिप जोराको हातमा क्याच आउट हुन पुगे। शब्बेरको विकेट गुमाउँदा युएईले १९ रन जोड्न दुई विकेट गुमाईसकेको थियो ।

शब्बेरको विकेट पश्चात तेस्रो विकेटका लागि २४ रनको साझेदारी गर्दै सिपि रिज्वान पभेलियन फर्किए । बसन्त रेग्मीको बलमा ठूलो सट खेल्न खोज्दा रिज्वान विकेटकिपर प्रदिप ऐरीको हातमा क्याच आउट भएका थिए। आउट हुन अघि उनले १९ बलमा ४ चौका सहित २२ रन जोडेका थिए।

४३/३ को अवस्थामा रहेको युएईको इनिंगलाई त्यसपश्चात मोहम्मद उस्मान र शैमन अनवरले उकास्ने प्रयास गरे। अनवर र उस्मानले चौथो विकेटका लागि ६१ रनको साझेदारी गर्दा युएई खेलमा फर्किएको थियो। तर सन्दिप लामिछानेले गरेको १४ औं ओभरको ५ औं बलमा उस्मान ठुलो सट खेल्न खोज्दा बाउन्ड्री नजिकै समातिन पुगे ।

मात्र २४ बल खेल्दै ३० रन जोडेका उस्मान सन्दिपको बलमा कप्तान पारस खड्काको हातबाट समातिंदै पभेलियन फर्किंदा युएईले १०४ रन जोड्न ४ विकेट गुमाएको थियो ।

नेपाली बलरहरुले लागातर विकेट लिएपनि एक छेउमा राम्रो ब्याटिंग गरेका शैमान अनवरले टोलीको इनिंग अघि बढाए । त्यसक्रममा उनले मोहम्मद बुतासंग पाँचौ विकेटका लागि ३० रनको साझेदारी गरे । व्यक्तिगत ५९ रन ( ३८ बल, ५ चौका, २ छक्का ) बनाएर खेलिरहेका अनवरलाई डेब्यु गरेका अविनाश बोहोराले क्लिन बोल्ड गर्दा युएईले १३४ रनमा पाँचौं विकेट गुमाएको थियो ।

अनवरको विकेट लगत्तै युएईले कप्तान मोहम्मद नबिद ( १ ) लाई समेत गुमाउन पुग्यो। १८ औं ओभरको तेस्रो बलमा नाबिद बसन्त रेग्मीको बलमा प्रदिप ऐरीबाट स्टम्पिङ्ग भएका थिए ।

त्यसपश्चातभने युएईले कुनै विकेट गुमाएन र निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५३ रन जोड्न सफल रह्यो । उसका मोहम्मद बुता २० रन ( १५ बल, १ चौका , १ छक्का ) र सुल्तान अहमद ६ रन ( ६ बल ) मा अविजित रहे ।

नेपालको बलिङ्गतर्फ सन्दिप लामिछाने र बसन्त रेग्मीले समान २-२ विकेट लिए । यस्तै सोमपाल कामी र अविनाश बोहोराको नाममा समान १-१ विकेट रह्यो । आफ्नो ४ ओभरमा स्पेलमा सन्दिपले २५ रन, बसन्तले २३ रन, अविनाशले ३६ रन तथा सोमपालले ३ ओभरमा १६ रन खर्चिए।


  • 5.2K
  •  
  •  
  •  
  •  
  •  
    5.2K
    Shares