अमेरिकामा क्रिकेट चिनाउँदै नेपाली मानव-अधिकारकर्मी

अमेरिकाको शिकागो सहरमा बसोबास गर्ने नेपाली युवा निकेश थपलियाले विगत सात बर्ष देखि त्यहाँ विश्वका थुप्रै मुलुकहरूका किशोर किशोरीहरूलाई क्रिकेट खेलका बारेमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान दिँदै आएका छन्।

उनले सुरुका दुई बर्षमा आफुले अध्यापन गराउने एक निजी विद्यालयमा अमेरिका लगायत अन्य आधा दर्जन जति राष्ट्रहरूका “कल्चरल एक्सचेंज” कार्यक्रम अन्तर्गतका चार देखि एघार कक्षाका बालबालिकाहरूलाई क्रिकेटका बारेमा शिक्षा दिन सुरु गरेका थिए। त्यसपश्चात दुई बर्षसम्म उनले गर्मी मौसममा हुने समर क्याम्पमा किशोरावस्थाका सहभागीहरूलाई क्रिकेटकाबारेमा कक्षा संचालन गरे। अहिले थपलिया पेशाले मानव-अधिकारकर्मी हुन्।

संसारभरिबाट गैर-कानूनी बाटोबाट अमेरिका आउने बालबालिका तथा किशोरावस्थाका आप्रवासीहरूको कल्याणका क्षेत्रमा निकेश कार्यरत छन्। उनले आफ्नो हालको कार्यक्षेत्रमा पनि “फोकस ग्रुप” मार्फ़त एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका विभिन्न देशहरूका किशोर-किशोरीहरूलाई क्रिकेटका बारेमा प्रचार गरेका छन्।

अमेरिकाका ठूलो जनमासमा “क्रिकेट” भन्ने शब्द एक फोन सेवाप्रदायकको नाम र किरामा मात्रै सीमित भएकोले निकेश आफ्नो महाद्वीपको चर्चित खेलबारे सिकाउनमा हौसिएको बताउछन्-

“यहाँका बच्चाहरूलाई क्रिकेटका बारेमा आधारभूत जानकारी र नियमहरूको प्रस्तुति दिएर सानोतिनो खेल खेलाउँदा सार्है रमाइलो लाग्छ।भारतविरुद्ध यूक्रेन, चीनविरुद्ध ग्वाटेमाला, अमेरिकाविरुद्ध कंगो हामीले ठूला प्रतिस्पर्धाहरूमा देख्न असंभव जस्तै होला तर यहाँ थुप्रै देशका केटाकेटीहरूले जानी-नजानी खेलेको दृश्यअत्यन्तै मनोरन्जनात्मक हुन्छ।”

निकेशले २०११ सालमा भौगोलिक ज्ञान र स्मरणशक्तिको विषयमा विश्वरेकर्ड बनाएका थिए। उनले सोही बर्ष नेपाल टुरिज्म बोर्डमा बहिरा क्रिकेटर्स संघका लागि आयोजित च्यारिटी कार्यक्रममा आफ्ना प्रतिभाहरू देखाएर सहभागी भएको दिनदेखि आफूलाई क्रिकेट खेलप्रति आकर्षण बढेको बताए-

“यहाँको व्यस्तता र अन्य प्राथमिकताले गर्दा खेल्न र हेर्न समय मिल्दैन तर विश्वकप लगायतका महत्त्वपूर्ण खेलहरूको नतिजाबारे चाहिँ जानकारी लिन्छु।”

अबका योजनाका बारेमा सोध्दा निकेशले बताए “अहिले कोरोनाका कारणले धेरै अगाडिको सोच्न सकिएको छैन, प्रवासीहरूको हक-हित र मानव तस्करी विरुद्धका कार्यलगायतका सामाजिक अभियान र कामहरूमै समय व्यतित गर्नेछु।”उनले हाल आप्रवासीहरूको आगमन नभएको तर भविष्यमा सुचारू भएपछि नेपालको प्रिय खेल कबडडीलागायतको शिक्षा दिने इच्छा व्यक्त गरे।