CLICK HERE FOR PLAYER REGISTRATION
जिम्बाबेले टि-२० विश्वकप छनौट खेल्न नपाउने, सट्टामा यो रास्ट्रले पायो ठुलो मौका – WicketNepal

जिम्बाबेले टि-२० विश्वकप छनौट खेल्न नपाउने, सट्टामा यो रास्ट्रले पायो ठुलो मौका

सरकारी हस्तक्षेपका कारण आईसीसीको प्रतिबन्ध भोगेको जिम्बाबे क्रिकेट टिमलाई अर्को ठुलो झट्का लागेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषदले मंगलबार जिम्बाबेको पुरुष र महिला दुवै टिमलाई टि-२० विश्वकप छनौटमा समेत सहभागी हुन नदिने भएको हो।

जिम्बाबेको सट्टा नाइजेरियाले टि-२० विश्वकप छनौट २०१९ मा सहभागिता जनाउने आईसीसीले बताएको छ। नाइजेरिया २०२० अन्डर-१९ विश्वकपमा समेत छनौट भइसकेको छ।  आगामी महिना स्कटल्याण्डमा आयोजना हुने महिला टि-२० विश्वकप छनौटमा जिम्बाबेको सट्टा नामिबियालाई मौका दिईएको छ।

११ अक्टोबर देखि युएईमा आयोजना हुने टि-२० विश्वकप छनौट प्रतियोगितामा आयोजक युएई, हंगकंग, आयरल्याण्ड, जर्सी, केन्या, नामिबिया, नेदरल्याण्ड, ओमान, पपुवा न्यु गिनी, स्कटल्याण्ड, सिंगापुर, नाइजेरिया र यो महिना अन्त्यमा अमेरिकाज फाइनलबाट आउने अन्य २ गरि १४ टोलि सहभागी हुनेछन्। यस्तै महिला टि-२० विश्वकप छनौटमा स्कटल्याण्ड, बंगलादेश, आयरल्याण्ड, नेदरल्याण्ड, पपुवा न्यु गिनी, थाईल्याण्ड र अमेरिका र नामिबियाले प्रतिस्पर्धा गर्ने भएका छन्।

नेपाल गत हफ्ता सिंगापुरमा सम्पन्न टि-२० विश्वकप छनौट  ( एसिया फाइनल ) प्रतियोगितामा तेश्रो स्थानमा रहेपछि टि-२० विश्वकप छनौटमा पुग्न असफल भएको थियो। सिंगापुर प्रतियोगिताको विजेताको रुपमा र युएई प्रतियोगिता आयोजकको रुपमा छनौट भइसकेको छ।

नाइजेरिया टि-२० विश्वकप छनौट ( अफ्रीका फाइनल ) प्रतियोगितामा तेश्रो भएको थियो। नामिबिया पहिलो र केन्या दोश्रो हुँदै छनौट भएको थियो। अफ्रिकाको टिम भएको हुँदा उक्त अफ्रीका छनौटमा तेश्रो स्थान हाँसिल गरेता पनि जिम्बाबेको ठाउँमा नाइजेरीयाले ठुलो अवसर पाएको हो। आईसीसीले पनि जिम्बाबेको सट्टा सोहि क्षेत्रको टिमलाई मौका दिएको बिज्ञप्तिमा लेखेको छ।


आईसीसीले जिम्बाबेको सट्टा अफ्रीकाकै अर्को टिमलाई मौका दिएपछि नेपाली क्रिकेट टिम वरियतामा ११ औं स्थानमा रहेको कारण आईसीसीले मौका दिन सक्ने झिनो आशाको पनि अन्त्य भएको छ।

टि-२० विश्वकप छनौटमा सहभागी हुने १४ टिमबाट २०२० मा अस्ट्रेलियामा आयोजना हुने टि-२० विश्वकपको लागि उत्कृस्ट ६ टिम सहभागी हुनेछन्।

नेपाल क्रिकेट संघलाई पनि आईसीसीले निलम्बन गरेको छ तर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन र क्रिकेटरलाई तलब भने दिईरहेको छ। जिम्बाबेलाई लामो समय देखि आईसीसीले चेतावनी दिईरहेको कारण कडा सजाय दिएको हो। आईसीसीले दिने बजेट र सहभागिता समेत जिम्बाबेको रोक्का भएको छ।